Tuesday, December 20, 2016

स्याबास, हजुरआमाका सुसारेहरु !


अन्तत: हजुरआमा विलिन  हुनुभयो ,कहिल्यै नदेखिने गरी, नभेटिनेगरी । हजुरआमा भौतिक रुपमा हामी सामु हुनुहुन्न । अबउपरान्त उहाँ सम्झनामा मात्र सिमित रहनेहुनुभयो ।
मेरो कुरो, कि बुढाबुढीसंग मिल्छ कि त भुराभुरी । आफ्नै उमेरका ठेट्नाहरुसंग उत्तिसार्‍हो 'ताल' मिल्दैन । बुढापाकाहरुको कुराकानी  र भुराभुरीको चुरीफुरीमा जस्तो रस मेरा उमेरका भुसतिघ्रेहरुमा भेट्दिन । केश पाकेकाहरुको मुखबाट  उहिलेका कुरा सुन्नुमा जुन मजा छ, अहिलेका कुरामा छैन । तोतेबोलिका स्वार्थविहिन निस्कपट कुरा सुन्नुमा जुन मिठास छ, छलकपटको बुट्टा भरिएको बनावटी 'युवा'वाक्यहरुमा त्यो मिठास पाउँदिन । त्यसैले बाजेबज्यै र भुराभुरीहरुको जमातमा घेरिएर भलाकुसारी गर्न सार्‍है आनन्द लाग्छ ।
हजुरबुवा जिउँदो छँदा उहाँकै वरीपरी घुमिन्थ्यो, पुराना कुरा सुनिन्थ्यो र नदेखेको र नभोगेको युगको कल्पनामा रमाइन्थ्यो । हजुरबुवाको देहान्त पछी एउटा अध्यायको अन्त भयो । हजुरमुमा रहुन्जेलसम्म पनि त्यो अध्यायको अर्को पाना पल्टिरह्ह्यो । तर यस्पालीदेखुन्,एउटा कथाको अन्त्य भयो । सदासदाको लागि ।

हजुरआमाको सामिप्यता सार्‍है न्यानो । हजुरआमाको कोमल हृदयबाट प्रस्फुटनहुने मात्रुवात्स्यल्यताको कायल म , म मात्रै होइन हामी सबै नातिनातिना अनी पनातिपनातिनाहरु ।

हजुरआमा ब्लड क्यान्सरले थलिएर बिछ्यौनामा ढलेदेखुन "बिरक्तता"ले गाँजिएको महौलको श्रीजना भयो । उदासिनताको कुहिरो मडारिएर घरलाई घेरेको जस्तो उकुसमुकुसको "मौसम" ।

असोजदेखी बिस्तरामा पल्टनु भएकी मेरी  हजुरआमा गत मंशिर २२ गतेका दिन संधैकालागी चिता माथि सुत्नु भयो । सानोतिनो घाऊमा पनि ठुलो पिँडाको महसुस गर्ने मेरी हजुरआमालाई आगोको लप्काले पोलिरहँदासम्म "आथ्था" समेत भन्नु भएन, निर्जिव बनेर चुपचाप जलिरहनु भयो । हामी पनि मौन हेरिरह्यौ , बगलीमा हात राखेर, बिचरा हामी !

हजुरआमाको अशक्त अवस्था, आँफै खान नसक्ने अनी आँफै  चर्पी जान नसक्ने । नाकको टुप्पोमा झिँगा बस्दा समेत आफ्नै हातले धपाउन नसक्ने ।

त्यो अशक्तताको अवस्थामा हजुरआमाको स्याहार गर्ने स्याहारेहरुको मेहनत ल लगावको प्रशंशामा म यि शब्दहरु मार्फत  ब्यक्त गर्न असमर्थ छु । तै पनि गर्नेहरुको कदर गर्नै पर्छ म यि शब्दहरु हजुरआमाका स्याहारे र सुसारेहरु प्रती समर्पित गर्न चाहन्छु ।

मरेपछीको श्राद्द भन्दा जिउदो छँदाको 'सेवा'नै महान हुन्छ । त्यो महानकार्यमा सरीक हुने मेरा कान्छा काका र  कान्छी काकी जस्ले दाजुभाइ बिचको  अंशबण्डा पस्चात पनि  "हजुरआमा"लाई प्रमुख अंशको रुपमा ग्रहण गर्दै स्याहार सुसार गर्नुभयो, उहाँहरुलाई हार्दिक नमन गर्न चाहन्छु । काकाकाकी ले हजुरआमा र हजुरबुवालाई बांचुन्जेल कुनै कुराको कमी हुन दिनुभएन, उहांहरुको आवश्यकताको परिपुर्तीका लागी सक्दो मेहनत गरिनै रहनुभयो ।

तत्पस्चात, हजुरआमाको अस्वस्थताका कारण   काठमाडौ बसाइका क्रममा उहाँको हेरबिचारका लागि खटिने भाईबुहारी (जानुका)ले गरेको अथक मेहनतको बखान गरेर साध्य छैन । ओखती खुवाउने 'नर्स', खाना पकाएर खुवाउने  'भान्से' र लुगा धुइदिने 'धोबिनी'को भूमिका निर्वाह गरेकी बुहारी जानुकाप्रती हार्दिक आभार ।

सकुन्तला भाउजु, जस्ले हजुरआमाको अश्वस्थतामा "सुसारे"को भूमिका निर्वाह गर्नु भयो, उहाँको त्यो भूमिकाको मुक्तकण्ठले प्रशंशा गर्न चाहन्छु । मैले देखेको छु,  हजुरआमा प्रती उहाँले पोखेको "माया " । शब्दमा सिमित रहने माया भन्दा सकुन्तला भाउजुले दिशा,पिसाव सोरेर ब्यक्त गरेको ब्यवहारिक "माया" पो असली माया । हार्दिक नमन भाउजु तपाईंलाई ।

खाना खानेक्रममा कहिलेकाही जिस्किएर 'खकार" र 'सिँगान'को सन्दर्भ निकालीदिंदा रिसाएर  खाइरहेको खाना छोडेर हिंड्ने मेरी अर्धाङ्गिनीले हजुरआमाको मुखबाट बगेको र्‍याल र नाकबाट बगेको सिंगान पुछिदिन्छिन् भन्ने सोचेको थीईँन ।  तर मैले नसोचेको कुरा उनले गरिन् । छोरीलाई फकाएर जसरी खाना खुवाउथिन, उसरीनै हजुरआमालाई खुवाइन र पिलाइन् । धन्य मेरी अर्धाङ्गिनी ।

   आफ्नै रोगलाई ठुलो ठान्ने  साइली काकीले समेत यस्पाली हजुरआमाको ब्यथा र पिडालाई आफ्नो भन्दा ठुलो 'पिडा"को रुपमा ग्रहण गरेको देखे । खुब खुशी लाग्यो । मेरी आमाले पनि हजुरआमाको रेखदेखमा कुनै कसर बाँकी राख्नु भएन ।   

मलाई हजुरआमाको दिशा धुइदिने आँट आएन, गन्हायो । तर मेरो बुवा र साईँला काकालाई हजुरमुमाको दिशा गन्हाएन । सांच्चै, छोराहरुले गरेको 'स्याहार'लाई मैले नजिकबाट चिहाउने अवसर प्राप्त गरे अनी यो अवसर मेरा काका र बुवाहरुले जुराइदिनु भयो ।

मरनच्यासे मेरो बुवा र क्यान्सरले  ग्रसित साइला काकाले हजुरआमाको वरीपरी 'झिगा"भन्किन दिनु भएन अनी  पानीको प्यासमा  घाँटी सुक्खा रहन दिनु भएन । धेरैभन्दा धेरै समय हजुरआमाकै नजिक रहनु भयो, हेरबिचार र स्याहार सुसार गरिरहनु भयो । धन्य, हजुरआमाका असल सपुतहरु ।    

 जागिरको शिलशिलामा उपत्यका बाहिर रहेका हामी जागिरे "नातीहरु"को उपस्थिती भने पातलो रह्ह्यो । जती गरे नातिनीहरु र नातिनी बुहारीहरुले गरे ।
हाम्री हजुरआमा निक्कै भाग्यमानी । आफन्तहरुले घेरिएकै अवस्थामा बिदा हुनुभयो । सबैको सम्मान र माया पाउन सफल हुनु भयो । हजुरआमा आफ्नै ब्यवहारले सुद्द,सफा र कन्चन । उहाँकै ब्यहारले सबैलाई तान्यो र सबै सन्तानबाट माया पाउन सफल हुनु भयो । सासु हुन त मेरी हजुरआमा जस्तो - आमा हुन त ,मेरीहजुर आमा जस्तो- हजुरआमा हुन त ,मेरी हजुरआमा जस्तो ।

आमाबाउले आफ्नो  सन्तानबाट कत्तिको  'स्याहार' र सुसार पाउने भन्ने कुराको निर्क्योल  आमा बाउले आफ्ना सन्तानप्रती दर्शाएको ब्यवहार र प्रबित्तीले पनि भूमिका खेल्दो रहेछ भन्ने पाठ सिकियो । 

अन्तमा: हजुरआमाको रेखदेखमा ध्यानदिने सम्पूर्ण मेरा दिदीबहिनी,दाजुभाइ र आफन्तजन प्रती हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । साथै मेरीहजुरआमै प्रती "सम्मान" को भाव पोखिदिनुहुने "मलामी"का ति लस्करहरुलाई समेत कोटी कोटी नमन ।
१३ दिने "कोर्रा"को बेला मेरा काका बुवाहरुको साथ दिने काकाहरु - शिव, हरी, नारायण, मधुराम र गोपी लगाएत अहोरात्र खटिने भाईहरु- निर्मल,राजकुमार,राजेन्द्र, इश्वर, रबी र दाईहरु- बिनोद, रामचन्द्र, रामशरण र श्रवणकुमारमा हार्दिक नमन ।
यहाँ नाम लिन भुलेकाहरुको अनुहार कालो नहोस्, मनमा हिनता र आक्रोशको फुल  नफुलोस् । सबैजनाले हजुरआमाको निमित्त सके जती गरेका छौ । अत: सबैजना  धन्यवादको भन्दापनि "स्यावासी"का हकदर छौ । जो जस्ले चाहना हुँदाहुँदै पनि  दिलखोलेर हजुर आमा र हजुरबुवाको सुसार गर्ने अवसर प्राप्त गरेनौँ, ति सबैले आफ्नो नजिक रहेका जेष्ठ नागरिकहरुको अनुहारमा आफ्नै हजुरआमा-बुवाको प्रतिबिम्बको कल्पना गर्दै उनिहरुको सेवामा तन,मन र धन लगाऔं । यसो गरे हाम्रा स्वर्गियहजुरआमा र हजुरबुवाले स्वर्गबाट "आशिर्वाद" बर्षाइ रहनुहुनेछ । 
   

  




Monday, December 5, 2016

"ए हजुरआमा ! भनेको मानिदेउ"

 आज , हजुरआमैसंग बिदा लिएर चौताराको यात्रा तय गर्दा मन गर्‍हुङ्गो भएको छ । पहिलेको भन्दा  आजको यो यात्रा अलिक कठिन भएको महसुस गरेको छु । बाटोभरी -अनेकन् कुरा खेलीरहे । ........

बिदाको बेला, घर पुग्दा- मिठो मुस्कानकासाथ 'हार्दिक' स्वागत गर्ने हजुरआमाले यसपटक मेरो आगमन प्रती कुनै प्रतिकृया जनाउनु भएन। मन खिन्न भयो । ३ दिनसम्मसँगै बस्दा एकशब्द पनि  बोल्नु भएन, मुटु कुँडियो । अनी आज बिदाइको बेला "जान्छु है,मुमा " भनेर मुन्टो निहुँर्‍याउँदा  समेत   शिरमा हात राखेर 'आशिर्वाद'
पनि  दिनु भएन, आँखा रसाएर आयो । बाटोभरी बिगतकी हजुरआमाको याद आयो । हजुरआमासंगका ति बालापनहरु, सजिव चित्रबनेर मेरा आँखा अगाडि झल्झल्ती नाचिरहे , सिनेमाको द्रुश्य झै ....... ।*************************************************************************************************
कात्तिके चौउर  बाख्रा गोठालो हुँदा हजुरआमैलाई साथ दिने -म भुण्टे गोठालो । बेशी खेतमा रोपाईको बेला खेतालाहरुलाई खाजा पुर्‍याउन जाँदा हजुरआमाको पुच्छर  बनेर हिंड्ने -म सिँगाने भुरो । पाखरखोलाको खोँचमा 'जलुखो' टिप्न जाँदा हजुरआमाको फरिया समातेर पाखा चढ्ने -म फुच्चो बबुरो । हजुरआमाले चपाएर दिएको मकैमा भिन्नै स्वाद पाउने- म लुखुरे बचेरो । आमाको भान्सामा टन्न भात लतारेर हजुरआमाको थालमा जुठो भात चाख्न पुग्ने म लुब्ध छुचुन्द्रो  ।
**************************************************************************************
सबै नातिनातिनालाई बराबर माया बाँढ्ने ,मायाकी खानी- मेरी हजुरआमा । कसैको दु:ख देख्ननसक्ने- अरुको दु:खमा आँशु चुहाउने,दयाकीखानी- मेरी अती  । फलेको फसल र पाकेको भोजनलाई  सबैको हातमा पुर्‍याउन भ्याउने- अती दानी- मेरी हजुरआमा  । सानै उमेरमा आमाबाउ गुमाएर टुहुरी बनेकी अनी  सानै उमेरमा बिहेवारी गरी - पराइघर धान्दै आएकी -झुपडीकी रानी मेरी हजुरआमै ।

६ जना छोराछोरीकी आमा ,२३ जना नातिनातिनीकी हजुरआमै अनी ,२९ जना पनातीपनातीकी जिजुहजुरआमै । चौथो पुस्तासम्मको माया र सम्मान पाउन सफल यि हजुरआमै आजकाल अलीक  निस् ठुरी   भएकी छिन् । न राम्ररी बोल्छिन् न त सोधेको कुराको जवाफनै फर्काउछिन् । जब्बर भएकीछिन् बुढी ।
******************************************************************************************************

केही महिना अघीसम्म, एकाबिहानै- खोपामा राखेका  देवीदेउतासामु उभिएर प्रार्थनाका सुमधुर शब्दहरुसंग घण्टीको संगित छरेरपुरै घरलाई जगाउने मान्छे, आजकल सबै जागा भइसक्दा पनि ओछ्यानमै लडेको देखिन्छिन्, अल्छे भएकीछिन- हजुरआमै । बुहारी र नातिनिबुहारीहरुलाई भान्सामा तरकारी टुक्राउँदै ,लडेपडेका भाँडाकुँडा मिलाउन जांगर देखाउने नमान्छे ,आजकल थपक्क सिरक ओडेर बिछ्यौनामा लुटुपुटु गरिरहेकी भेटिन्छिन्, लोसे भएकीछिन् हजुरआमै । पहिले अरु कसैले 'एेया' , आथ्था " भन्यो कि "के भयो ?" र ''कसो भयो ?'' भनेर चिन्ता लिने मान्छे अहिले आँफै " मरेँ आमा !'' भन्दै आफ्नै ब्यथाबाट मात्र चिन्तित भएकी सुनिन्छिन् , बिल्कुलै स्वार्थी भएकी छिन् हजुरआमै । पहिले तितोमिठो, सार्‍हो-गिलो, गुलियो-नुनिलो, जे पायो त्यही खाने मान्छे अहिले मुखैमा चम्चा लगेर गिलो,मिठो र नुनिलो खुवाउँदा पनि खान नमान्ने भएकी देखिन्छिन्, अटेर भएकी छिन् हजुरआमै ।
अचानक, हजुरआमै घमण्डी भएकी छिन्, स्वार्थी र अटेरी भएकी छिन् । त्यसैले त आज मैले " हजुरमुमा, म जान्छु है'' भनेर टाउको निहुराएर बिदा माग्दा पनि आफ्नो दाहिने हात टाउकोमा राखिदिएर  " राम्ररी जाउ" भन्ने शब्द पोख्न पनि लोभ गरिन्, निर्दयी हजुआमै ।
***************************************************************************************************
३ महिना अगाडिसम्म हजुरआमा टाठी थिन् । खुट्टाहरु मजबुद थिए, यताउती डुल्न सक्थिन् । दाँतहरु बलिया थिए, भुटेको मकै समेत  टोक्न सक्थिन् । तर यो  दशैताका हल्का ज्वरोले गालेको हजुरआमालाई साधारण चेक अपको लागि सिविल हस्पिटल पुर्‍यायौ ।  ब्लड, दिशा  , र पिसाव  जचाउँन  दियौ । साधारण रोग  भनेर सिविल पुगेकी हजुरआमाको ब्लड रिपोर्ट आयो । हजुरआमाको रिपोर्ट हेरेर हामी छाँगाबाट खसेसरी भयौ ।    सिविल हस्पिटलका डा बिशेष पौडेलले 'ब्लड क्यान्सर' भएको ठहराइदिए । हस्पिटल जाँदा खाली हात हिंडेकी मेरी ९१ बर्सिय हजुरआमै फर्किंदा भने 'ब्लड क्यान्सर'को डाक्टरी  प्रमाण पत्र र  प्लास्टिकको झोलाभरी औषधीका ट्याब्लेटहरु बोकेर फर्किएकी थिईन् । ब्लड क्यान्सरबाट ग्रसित भएको सुचनाबाट अन्जान मेरी  हजुरआमालाई डाक्टरले प्रमाणित गरिदिएको 'रोग' पढ्न आउँदैनथ्यो न त म केको औषधी खाँदै छु भन्ने कुरा को भेउ नै थियो । हामीले भनेका थियौ ' यो रुगाखोकी र ज्वरोको औषधी हो , चाँडै निको हुन्छ'' । 
साधारण औषधीको रुपमा कडा औषधी खाईरहेकी मेरी हजुरआमालाई बिस्तार बिस्तार गाल्दै लाग्यो ।  हजुरआमा सुस्तरी सुस्तरी झोक्राउन थालिन्, सुस्ताउन थालिन्, ओइलाउन थालिन् । हेर्दाहेर्दै  हजुरआमाको  हँसिलो अनुहारमा मुजा पर्‍यो, थैली मुजा परे जस्तै ।  फुलेका केशहरु धमाधम झर्न थाले-ओइलाएको बोटबाट पातहरु झरेझै । मोतीझै चम्कने दाँतहरुले समेत  गिँजा छोड्न थाले । हँसिली अनुहारकी "सुन्दर" मेरी हजुरआमालाई कुरुपताले गांज्दै लग्यो ।



हजुरआमा थाकिन्,पाकिन् अनी एकाएक गर्ल्याम्म ढलिन्   हिंड्नै छोडिन्- अरुले बोकेर डुलाइदिनु पर्ने भयो ।  खान छोडिन-अरुले खुवाइदिनु पर्ने भयो ।  पिउन छोडिन, पिलाइदिन पर्ने भयो । यत्तीसम्म पनि ठिकै थियो तर अब त बोल्नै  मात्र होइन अरुले  बोलेको पनि सुन्न छोडिन् । हजुरआमा लाटी भइन् अनी बैरी भईन् ।
आँफैले जन्माएको छोरा छोरीलाई पनि चिन्न छोडिन्, आफन्तहरुकै भिडमा  मेरी हजुरआमा अन्जान भईन ।अपरिचित भईन् ।

*******************************************************************************************।
हजुरआमैमा आएको यो परिवर्तनले हामी दुखी भएकाछौं । धेरैदिन भयो, बुवा र काकाहरुको ओंठबाट हाँसो हराएको छ, बुहारी  र नातिनीबुहारीहरुको उत्साह र उमँग सेलाएको छ । कुलमान घिसिङले मुक्त गराएको लोडसेडिङ्गले घर त उज्यालो बनायो तर हजुरआमाले  सुरुवात गरेको " मुस्कान हड्ताल"का कारण  हाम्रो मनमा २४ घन्टे लोडसेडिङ्गको थालनी  भएको छ । शायद  हजुरआमाको  खुम्चिएको अनुहारमा मुस्कानको झिनो ज्योति नदेखुन्जेल हाम्रो यो मन "लोडसेडिङ्ग" मुक्त हुनेछैन । हजुरआमा, लौन , मुसुक्क हाँसिदेउ अनी हाम्रो मनको लोडसेडिङ्ग हटाउन मद्दत गरिदेउ ।

***********************************************************************************************
हजुरआमैलाई अनुरोध,

हजुरआमै, अल्छिपन छोडेर बिहानै उठिदेउ र देउताथानमा प्रार्थनाका शब्दहरुसंगै घण्टीको सुमधुर संगित छरिदेउ । रायोको साग पखालिदेउ, फर्सिको मुण्टा केलाइदेउ, आलुको दाना काटीदेउ अनी भान्सामा लडेर बसेका भाँडाकुँडा थन्क्याएर  नातिनीबुहारीहरुलाई भान्सामा सहयोग गरिदेउ ।  पानातीपनातिनिहरुलाई ओरिपरी राखेर उहिलेका पुराना कुराहरु सुनाइदेउ  ।.ज्ञान, अर्ती र उपदेशका वाणीहरु बोलिदेउ । लौन हजुरआमा ! जुरुक्क उठ, खुरुक्क उभिउ अनी भटाभट हिंड्न थाल । तिमीले  हाँसेको, बोलेको, हिंडेको अनी दुई हात शिरमा राखेर आशिर्वादको शब्द पोखेको हेर्न र सुन्न आँतुर छौ । बिन्ती, अटेरीपन छोडिदेउ । भनेको कुरा मानिदेउ ।

बिडम्बना ,

बिरामी भएर बिछ्यौनमा ढलेकी हजुरआमैलाई यो लेख मार्फत आफ्नो भावना अभिब्यक्त गरेको महिना दिन नबित्दै मेरीहजुरआमा  , यो संसारबाट बिलिन हुन पुगिन् । उनको बिलिनतासंगै आफ्नो जीवनको एउटा महत्वपूर्ण 'चिज'गुमाएको महसुश भएको छ । घरको भित्तामा झुण्डीएको हजुरआमाको तश्विरले  घरी घरी मलाईनै हेरिरहेको जस्तो लाग्छ र ' बाबु तलाई कस्तो छ ? '  भनेर सोधिरहेको जस्तो लाग्छ । 





Monday, November 28, 2016

'चाउरे' बुढाहरुको युवा जोश

सिन्धुपाल्चोकको ठुलोसिरुवारी गाविसलाई कार्यक्षेत्र बनाएको ७ महिना भयो । दिनहुँ  चौतराबाट  ठुलोसिरुवारी ओहोर दोहोर गर्छु, म ।

 यो ओहोर दोहोरको क्रममा ठुलोसिरुवारीको कोटडाँडामा एउटा बिश्रामस्थल छ, जहाँ बिहान बेलुका बुढापाकाको राम्रै जमघट देख्थे  ।  कच्ची बाटोको आडैमा रहेको  फलामे ट्रस्ट सहितको त्यो  खुल्ला चौतारीमा ट्रक, मोटर साइकल र बसले उडाएको धुलोलाई वास्ता नगरि भलाकुसारी गरिरहेका बुढापाकाहरुको झुण्ड

देखेर रमाइलो लाग्थ्यो । 'आगो ताप्नु मुढाको- कुरा सुन्नु बुढाको' भन्ने उक्ती अनुसार मलाई पनि पुराना कुरा सुन्न खुब चाख लाग्छ । तर खोइ, के कारणले हो ,बुढापाखाहरुको त्यो झुण्डमा घुसेर बुढा वक्ताहरुको  ठिटो श्रोता बन्ने अवसर जुटेको  थिएन । हुइँकीरहेको मोटर साइकलको गतिलाई बुढापाका जम्मा हुने त्यही बिश्राम स्थलनेर पुगेपछी अलिक सुस्त गराउँथे, म । यसो कड्के नजरले चिहाउँथे र पुन: आफ्नो गती पक्रन्थेँ । सेताम्य केश र दार्‍ही फुलेका, गालाका छाला लत्रिएका  अनी  आफ्नो आडैमा टेक्ने लठ्ठी र दुधको किट्ली ठड्याएर गफको सुरमा मग्न हुँदै हाँसिरहेका 'थोते' बुढाहरु देख्दा म मेरो स्वर्गिय हजुरबुवालाई सम्झन्थें अनी ब्लड क्यान्सरले थलिएर ओछ्यानमा पल्टिएकी ९१ बर्सिय मेरी हजुर आमालाई सम्झन्थें । मलाई मेरा हजुर'बा सरहका ति  बुढापाकाहरुको  झुण्डले मौन आमन्त्रण गरेको धेरै भएको थियो तर 'थोत्रे' बुढाहरुको हुलमा  सामेल हुन भने पाएको थीईन ।


एकदिन, झ्याँडीमा   बस्ने मेरो ८६ बर्शिय फुपाजु'बाजे कोटडाँडामा टुप्लुक्क टप्किनु भयो । ओरालो हिँड्दा हजुरबाको घरसम्म पुग्न १ घण्टा लाग्नेकुरो थाहा पाएर म भुसतिघ्रे 'अल्छे'मा उहाँलाई भेट्न जाने  जाँगर पलाएको थिएन । तर २ घण्टा उकालो चढेर मलाई भेट्न आएका ति हजुरबा देखी  म अचम्मित भएँ, सरम लाग्यो । " बा' मलाई माफ गर्नुस् है, हजुरलाई त्यत्रो दु:ख दिएँ, धेरै हिँड्न पर्ने बनाएँ । " लाज पचाउँदै हजुरबालाई  चिप्लो घसें  ।

" के को दु:ख, हिँडी'राको बाटो न हो, पुराना साथीहरु भेट हुने यही डाँडो हो, यसो बेलाबेलामा गफ चुट्न आइन्छ । " हजुरबा ले सजिलै भनीदिनु भयो । हजुरबाको यो वाक्यले मेरो दिमाखमा चेतनाको झिनो ज्योति झुल्क्यायो । गफाडी बुढाहरुको त्यो झुण्डलाई सम्झायो । त्यो झुण्ड, मेरा यि हजुरबाहरु जस्ता पुराना मित्रहरुको झुण्ड रहेछन् , जो एकाबिहानै गाई भैंसीको दुध बोकेर कोटडाँडाको दुध संकलन केन्द्रमा बेच्न आउँदा रहेछन र चियाको चुस्कीसंगै पुराना साथीसंगतिसंग भलाकुसारी गर्दा रहेछन । म देख्छु, ति बुढापाखाहरु मध्ये कोही चुरोटका अम्मली छन, फुर्र् चुरोटको धुवाँ उडाउँदै गफ्फिएका हुन्छन् / कोही खैनीका अंमली छन्न, खैनी थुक्दै हाँसिरहेका हुन्छन्, अनी कोही चियाको अंमली छन्, चियाको गिलास हातमा समाउदै असल स्रोता बनेर गफ सुनिरहेका हुन्छन्, कोही कोही भने चियासंगै मुखभरी दुनोट र पपको बुझो  लगाउँदै गरेको पनि देख्छु, यो बिहानको द्रुश्य हो ।

मैले सोचें, यो माहोललाई बिग्रन दिनु हुन्न, यस्लाई जोगाउनु पर्छ । यो 'थोते ' बुढाहरु झुम्मिने ठाउँँको उचित

ब्यवस्थापन गरिदिन पाए यो रमाइलो द्रुश्य देखिरहन पाइन्थ्यो । त्यसैले त्यो  फलामे ट्रस्टको  खुल्ला चौतारीमा आँखा दौडाएँ । १ बर्ष अगाडि गाविसबाट प्राप्त केही रकमले बुढापाकालाइनै लक्षित गरी जस्ताको  छानो हालेर बस्ने ठाउँ बनाइएको र  रकम अपर्याप्त भएकोले उसै, अँधुरो अवस्थामै छोडिएको कुरा स्थानिय शिव केसी बुवाबाट थाहा पाइयो ।"यस्लाई पुरा गरौ न त, धुलो नछिर्ने गरी एउटा सुन्दर  आराम स्थल बनाऔ"   मैले अनुरोध गरे । उहाँले समस्या उही दर्शाउनु भयो, नगदनारायणको ।


आफु जागिरे, जागिरको भरमा पालिनु र परिवारलाई पनि पाल्नु पर्ने । सम्पन्न परिवारको पनि होइन । तै पनि यसो-आफ्नो कमाइको केही हिस्सा समाजिक काममा खर्चिन मन लाग्छ र खर्चिदै आएको पनि छु । " लौन त म केही सहयोग गर्छु " मैले भने । मेरो अलिकती सहयोगले केही नहुने देखेर होला, उहाँबाट कुनै प्रतिकृया पाइनँ ।


मलाई यो कार्यमा सघाउनेहरुको खाँचो थियो । यो खाँचो टारिदिए स्थानिय युवामित्र होमनाथ चौलागाईं र बहिनी रेनुका खड्काले । उनिहरुले पनि आफ्नो ब्यक्तिगत आर्थिक सहयोग प्रदान गर्ने र यो अभियानमा सकेको श्रम गर्ने प्रतिवद्द्ता जनाए पस्चात म हौसिएँ । मलाई थाहा छ, यो धर्तीमा दामका प्यासीहरुको मात्र बाहुल्यता छैन भनेर, यहाँ नाम र कामका प्यासीहरु पनि छन जस्ले आफ्नो श्रम पोखेर समाज बिकासको पाटोमा केही गर्न चाहन्छन । यस्तै सामाजिक सोच भएकाहरुको सहयोगमा मैले केही अभियान गर्न सक्षम भएको मिठा अनुभवहरु छन्, ममा ।


हामीले बुढापाकालाई जुटायौ र हाम्रो सोच पस्कियौ, हाम्रो सोच उनिहरुको कानमा पस्न नपाउदै बुढापाकाका मुहारमा खुशी झल्कियो । उनिहरुको मनमा दबिएको सोचलाई हामीले ओकली दिएछौ क्यार ! चाउरेबुढाहरु  खुशीले गदगद भए ।  " सतकर्मको सुरुवात आँफैबाट" भन्ने उक्तीलाई आत्मसाथ गर्दै हामी तीनजनाले १० हजार दिने भयौ । हाम्रो आश्वासन पस्चात बुढाहरुले  सुरुवालको  इजार तान्दै भित्री खल्ती छाम्न थाले । मैलो पुरानो सुरुवालको भित्री खल्तीबाट  कोहीले   हात्ती निकाले, कोहिले बाघ  निकाले अनी कोहिले गैंडा । जस्ले जे सक्छ  त्यस्ले त्यही निकाले । खल्तिबाट निक्लिएका ति शक्तीशाली  जनावरहरुको चित्रले हामीलाई अझ हौसायो । बुढाहरुले समिती बनाए, मासिक बचतको योजना ल्याए । अन्य मनकारीहरु समक्ष हात फैलाउने निधो पनि गरे । जसरी पनि " जेष्ठ नागरिक बिश्राम स्थल"लाई पुरा गराएरै छोड्ने युवा जोश देखाए ।


थोपा थोपा मिलेरा सागर बन्छ भने झै सबै बाट उठेको चन्दाबाट अहिले बुढाबुढिहरुको लागि भलाकुसारी गर्ने एउटा सुन्दर थलोको निर्माण भएको छ । सामुहिक कार्यको एउटा उदाहरणणिय नमुना हो हो । अहिले
अहिले बनेको आराम स्थल
गाबिसले पनि जेष्ठ नागरिकहरुको काल्याणको रुपमा  वार्षिक ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । म लगाएत मेरा केही मित्रहरुले पनि यस्मा मासिक १ हजार सहयोग गर्ने भएका छौ । मन भएका मित्रहरुले हात्तेमालो गर्नेकी ?

९८२३६२०४७०   

Thursday, March 10, 2016

सलाम ! अमेरिकन 'बिरबहादुर'


यो मान्छेलाई नयाँ लुगा लाउन कहिल्यै मन पर्दैन, मिठो खाना चाहिन्न-केवल पिरो मन पराउँदैन । फेसबुक छैन- सार्वजनिक हुन चाहन्न भन्छ । मोबाइल पनि बोक्दैन । अमेरिकाको न्युजर्सीबाट जनवरी पहिलो दिन नेपाल छिरेको यो २१ बर्शिय बबुरो -मेरै पछी लागेर दोलखाको ग्रामीण भेगहरु चाहर्न आइपुग्यो । यस्लाई पनि भुकम्प पीडितहरुको लागि केही गर्ने मन छ ।' पैसा' दिन सक्दिन 'पसिना'दिन सक्छु भन्ने यो खैरेकान्छो मनको चोखो र निस्चल छ । अङ्ग्रेजी नाम' अल्बर्टो गिमिनेज डि लस गालानेस काभालो' । यस्को नाम आम-गाउँलेहरुलाई उच्चारण गर्न अती कठिन हुने, लेख्दा एउटा सानो पुस्तक बन्ने र उचारण गर्दा घण्टौ बित्ने भएकोले म छेत्रीको छोरोले यस्को न्वारन गरिदिदै  मौलिक नेपाली नाम राखीदिएँ  'वीरबहादुर' ।  यस्ले आफ्नो  परिचय यही नामबाट दिन थाल्यो  । सबैले 'बिरबहादुर' पछी के हो ?' भन्दै जात' सोध्न थालेछन् । यस्को देशमा 'जात' हुन्न अरे , यस्लाई आपत परेछ । बेजाती यो बजियाले मेरो जात सापटी माग्यो-मैले मेरा बा'आमाको स्विक्रिती बिना आफ्नो जात दिएँ । तहाँ उपरान्त यस्को नाम  बिरबहादुर कार्की रह्यो, मेरो जात पाएर मख्ख भएको यो  'मरनच्याँसे'ले मलाई ठुलो दाई भन्छ । यो 'लम्फु'पनी मलाई आफ्नै भाई जस्तो लाग्छ ।  यस्लाई पसिना पोख्ने काम बाहेक अरु सजिलो काम केही मन पर्दैन । स्पेनिस,इटाली,फ्रेन्च र अङ्रेजी भाषाको जानकार यो 'डुकुलण्ठक'ले नेपाली भाषा समेत लगभग जानी सकेको अवस्था छ ।  अमेरिकामा ईतिहास बिषय लिएर पढिरहेको यो 'कुइरे' यहाँ भरिया बनेर हाम्रो माटो माथि पसिनाका थोपा छर्कदै छ - अहिले यो भाई दोलखा जिल्लाको काभ्रेमा 'अस्थाई शिक्षण केन्द्र' निर्माण गर्ने काममा ब्यस्त छ ।
गत जनवरीको दोश्रो शाता यस्लाई समुदाय भ्रमणको लागि लामाबगरको गँगोरखोला लगेको थिएँ । त्यहाँका  स्थानियले औपचारिक कार्यक्रमका बिच हाम्रो टोलीलाई स्वागत गरे । 'बिरे'लाई मन्चमा राखेर खादा ओडाईदिए  । मोरो 'बिरे'ले ममाथी आक्रोश पोख्यो । मलाई किन खादा ओडाएको? मलाई किन सम्मान ? किन स्वागत ? लगाएतका अनेकथरी प्रश्न गर्दै कुटुँलाझैं  पो गर्‍यो ।
भर्खरै,उस्को फोटो प्रयोग गरेर फेसबुक खोलीदिएको थिएँ, निरन्तर संचार गर्न मिलोस् भनेर । त्यो बेला त झन् रिसले आगो बन्यो । मैले उस्लाई फकाएँ, हामी देश बिदेशमा रहेर पनि आफ्नो गतिबिधीबारे जानकार रहन सक्ने कुरा बताएँ  । निक्कै गार्‍हो मानेर,सहमती जनायो । एक्काइसौ सताब्दीको यो गोबर गणेशलाई पूजा गरौ कि गाली ?
बिदेसबाट उस्का परिवार र मित्रजनले मलाईनै सोध्छन  ' बिरे कहाँ छ- कस्तो छ ? भनेर । त्यो मोबाइल नबोक्ने  'मुडे' गाउँतिर भारी बोकीरहेको हुन्छ । म पनि बेखबर । वाक्कै भएर आफ्नो 'सिम कार्ड' जबर्जस्ती भिडाएर पठाएँँ । अहिले भने संचार हुन्छ तर जो पायो त्यस्ले फोन गरेको मन पराउदैन त्यसैले त्यो ' ल्वाँदे'ले  प्रायजसो स्विच अफ गर्छ ।    
जे होस्- यो भुरोले मलाई' कर्म गर- फलको आश नराख' भन्ने  एउटा पाठ सिकाएको छ । अरबमा पुगेर आफ्नो पसिना सस्तोमा बेच्न आतुर युवा जमातको लागि यो खैरे नराम्रो 'गाली' हो । पैसा,मान सम्मान र प्रतिस्ठाको प्यासमा भौतारिने हामी 'काकाकुल'हरुले यो फुच्चेबाट केही सिक्ने कि ?

सलाम बिरबहादुर ! 
(यदी तपाईंहरु यो मान्छेको कामलाई प्रोत्साहित गर्न चाहनुहुन्छ भने यो नम्बरमा उत्प्रेरणा र प्रोत्साहनका सन्देश प्रेसित गर्न सक्नुहुनेछ । तर फोन गर्ने कार्य नगर्नु होला यस्को काममा डिस्टर्ब हुन्छ नि । बिरेको संपर्क नं ९८४५१८९६७७  ) 

Thursday, January 21, 2016

ओराङ्गवासीको क्रन्दन " हामीलाई सौतेनी ठानियो"

गत माघ २४ गते मित्र अल्बर्टो गिमिनेज र म दोलखाको ओराङ्ग गाविस पुग्यौ । चरिकोटबाट सिगटीहुँदै बुलुङगसम्म बस पाइयो त्यहाँबाट भने जुत्ताको ताउ खियाउँदै ३ घण्ट पैदल यात्रा गरेर ओराङ्गको देवलिङेस्वर नि वा वि पुग्यौ। भुकम्पले ध्वस्त भएको ओराङ्गका घरहरुमा चर्पी,खानेपानी र सरसफाइको कार्यक्रम संचालन गर्ने हेतुले त्यहाँका स्थानियवासीसंग भलाकुसारी गर्न पुगेका हामी शहरीया भनौदाहरुले ओराङगको बाटोमा चाउचाउ किन्ने पसल र चिया पिउने होटलसम्म भेटेनौ । हिड्दा हिड्दै बाटोमा भेटिएका ७४ बर्सिय गमबहादुर तमाङलाई ‘नमस्कार’ गर्दै सोध्यौ ' कता जाँदै बाजे ?' उनले मुसुक्क मुस्कुराउदै भने 'बाटो खनेको चामल लिन''
मैले पुन सोधें "कहाँ पुग्नु पर्ने?"
उनले भने "बुलुङ्ग"
"कती समयमा पुग्नु हुन्छ ?"अर्को प्रश्न मेरो ।
"२ घण्टा" उनले जवाफ फर्काए ।
"कती चामल थाप्नु हुन्छ?" मैले सोध्न छोडिनँ ।
"१० किलो" उनले जवाफ रोकेनन् ।
---------------------------------------------------
छिमेकी गाउँमा सरर्र गाडी गूड्दा हाम्रो मन खिन्न हुन्छ, हाम्रो गाउँमा गाडी गुडेको हेर्ने सपना पुरा हुन नपाउदै मरिन्छ पो के हो ! स्थानियसंगको बैठकका क्रममा दोलखा जिल्ला वार्ड न ९ का कैलाश खड्काले आफ्नो इक्ष्या सुनाए ।
छिमेकी गाउँ बुलुङमा कच्चीबाटोको धुलो उडाउदै साना ठुला सवारी साधनहरु दौडिन्छन् । चरिकोट देखी सिंगटी हुँदै बुलुङगको अन्तिम नाकासम्म पुगेर गाडीहरु फरक्क फर्किन्छन्, जोडीएको ओराङग गाउँ भने खिस्स पर्छ ।
"हामी २ किलो दाल र दस केजी चामल बोक्न ४ घण्टाको बाटो हिंडेर बुलुङ्ग पुग्छौ ।" हिरा बिक ले पोखिन् ब्यथा ।
बाबुराम भट्टराइको पालामा बुढो डोजरले थर्थराउँदै कोपरेका ओराङ्गका कहालीलाग्दा भिरहरुमा बाटोको आकारमात्र कोरिएको छ, गाडी कुद्न लाएक भने छैन । ''हामीले धेरै पटक थुप्रै संघसंस्था र सरकारी निकाय धायौ तर आश्वासन वाहेक केही पाएनौ'' स्थानिय हेम तमाङग बोले '' हाम्रो गाविसलाई सौतेनी ब्यवहार भएको छ ''

ओराङगका बारीमा फलेका बन्दा,मुला र डल्लेखुर्सानीहरु यातायातको अभावका कारण बजारसम्म पुग्न नपाएर बारीमानै सुकेका छन् । खुद्रा पसलहरु नगन्य छन्, चिया पिउने होटलसम्म छैनन् । एउटा अनकन्टार ठाउँमा पुगे जस्तो विरक्त लाग्दो छ, ओराङ्ग ।
''हामीले ४० घण्टा फेरी डोजर चलाऊन पायौ भने बुलुङसम्म आउने गाडी हाम्रो आँगनसम्म ल्याउन सफल हुने थियौ । "स्थानिय दिपक ठकुरीले भने ' ४ लाखजती लाग्छ, २ लाख जतिको जोहो गर्न सकिए हामी पनि केही रकम जुटाएर गाडी कुदाउने बाटो खन्न तयार हुने थियौ ।" दिपक ठकुरीको यो वाक्य म प्रती लक्षित थियो । शायद हाम्रो कार्यक्रमले केही सहयोग गर्लाको भन्ने आशा हुँदो हो तर हाम्रो निती तथा कार्यक्रमले उनको आशालाई सम्बोधन गर्न सक्दैनथ्यो तर मैले उनलाई निरास पारीन र सार्वजनिक रुपमा आफ्नो तलवबाट केही रकम बाटो निर्माणको लागि सयोगगर्ने उद्घोस् गरे । समुदायवासीले पनि मेरो बोलिमा लोली मिलाए र प्रती ब्यक्ती २०० दिने घोषणा गरे । अब ओराङगवासीलाई १ लाखको खाँचो छ । लौन तपाईंले पनि केही गर्न सक्नुहुन्छ कि ?

तपाईको सानो सहयोगले ओराङ्गमा पनि गाडी कुद्ने छन अनी :
-७४ बर्शिय गमबहादुरहरुले बुढो हड्डी खियाउदै बुलुङ्गको उकालो हिंड्नु पर्ने छैन
-ओराङगका बन्दा,काउली र खुर्सानीहरु बजारसम्म पुग्ने छन
-बिरामी र सुत्केरिहरुले उचित मौकामा स्वास्थ्य सुविधा पाउने छन, अकाल मृत्‍युवरण गर्नु पर्ने छैन ।
-६८० घरका ३००० स्थानियवासीको मुहारमा खुशी छाउने छ ।
मनकारी मित्रहरुले संपर्क गर्नुहोला ९८४५१८९६७७ ९८४३६८८६४०

Sunday, November 22, 2015

याद: ११ बर्ष अगाडिको

११ बर्ष अगाडि बाकेको कोहलपुरमा काम गर्दाको त्यो पल : नेपाल बसोबास बस्ती संरक्षण समाजको अगुवाइमा कोहलपुरका सुकुम्बासी बस्तीका बालबालिकाहरुको लागी बिद्यालय निर्माणको जिम्मेवारी वहन गर्न पाउदाको त्यो ८ महिने कार्यकालनै मेरो सामाजिक कार्यको पहिलो खुट्किलो थियो । त्यो अवधीमा थारु समुदायसंग नजिक भएर काम गर्ने अवसर जुर्नुले उनिहरुको मेहनतिलो र मिलनसार प्रब्बित्तीलाई बुझ्न सहयोग पुर्‍यायो  । 






Sunday, March 8, 2015

कथा: पागल आईमाई

                                                                                                                                                                                               -  यज्ञराज कार्की 
हिजो अस्ती झै,आज पनि त्यो पागल आईमाई हाम्रो घरको गेटमा आएर कराउन थाली । म झ्यालको पर्दा खोलेर उस्ले फतफताई रहेको शब्दलाई कान थापेर बुझ्ने कोशीस गर्दै छु तर अहंँ एउटै शब्द बुझिने होइन । जिङ्ग्रिङ्ग कपाल,ठाउँठाउँमा च्यात्तिएको मैलो चोलो, एकसरो बेरिएको मैलो निलो फरिया अनी हड्डी कड्डीमात्र देखिने दुब्लो पातलो शरीर । त्यो आईमाईको उमेर कती होला ? म अन्दाज लगाउने कोशीस गर्छु, ४५ या ५० ।
=========================================================================

म अस्ट्रेलियाबाट नेपाल फर्किएको आज ५ दिन भयो । ३ बर्षको बसाईँपस्चात् कलेज बिदा मनाउन नेपाल फर्किएकी छु म । एयरपोर्टमा मम्मी लिन पुग्नु भएको थियो- स्कुटर लिएर  । घरको गेटमा आइपुग्दा त्यो पागल आईमाईलाई पहिलो पटक देखेकी थिएँ । घरनेरै रहेको  किराना पसल अगाडि ठुलो ठुलो स्वरमा कराउँदै, पाउरोटी चपाउदै गरेकी थीई । मम्मी र मलाई देख्नासाथ धारे हात लगाउदै  'मरी जा'  भन्ने शब्द ओकलेकी थीई ।

 'त्यो को आईमाई हो मम्मी ? ' मैले सोधेकी थिएँ ।

" त्यो बौला आईमाई हो,बाटोमा हिंडने सबैलाई सराप्छे । " मम्मीले भन्नु भएको थियो ।
त्यो पागल हाम्रै छरछिमेकमा बढी देखिन्छे । बाटोमा हिंड्ने मान्छेहरु प्रती बेलाबेलामा आक्रामक देखिन्छे ऊ।अझ केटामान्छेहरु प्रती उस्को आक्रोस बढ्दो छ ।  बेलाबेलामा केटामान्छेहरु देख्यो कि 'थु थु' गर्दै भुईँतिर थुक्छे,ऊ । म यि द्रुश्य आफ्नो घरको झ्यालबाट नियालीरहेको छु । विगत ५ दिनदेखी । 
म प्रयास:मम्मिलाई सोध्ने गर्छु  "त्यो आईमाईलाई के भएको होला  कहाँकी होली , यसका सन्तान कहाँ होलान ?"आमा भने मेरो प्रश्न प्रती उती  चासो दिनुहुन्न'थ्यो र छोटो उत्तर दिनु हुन्थ्यो " के थाहा, त्यस्लाईनै सोध्"

==================================================================

एकाबिहानै,कोठाभित्रको झ्यालबाट बाहिरी  द्रुश्य निल्याली रहेकी थिएँ ,म । मरिच ,अदुवा र नुन हालेर  मम्मिले बनाउनु भएको कालो चियाको चुस्कीसंगै घरको करेसाबारीमा फुलेका फुलहरु, बाहिर रोडमा हिडिरहेका मानिसहरु अनी रोडको फुटपाथमा सामान बेचिरहेका ब्यापारीहरु, यि सबैलाई नियालीरहेकी थिएँ म । एक्कासी मेरो आँखा अगाडि त्यही बौलाई देखीई, हाम्रो घरको गेटनेर ।
रिसाउँदै, कराउँदै, हाम्रो घरको गेटमा मुड्की हान्न थाली । वरीपरिका छिमेकीहरु झ्यालबाट चिहाउन थाले । बटुवाहरु रमिते बनेर झुम्मन थाले । 
मैले देखेँ - मम्मी गेटमा पुग्नु भयो, हातमा खानाको थाली बोकेर । गेट खोलेर पागल आईमाईको हातमा थाली थमाइदिनु भयो । रमितेहरु तर्फ हेरेर खै के भन्नु भयो, उनिहरु तितरवितर भए । 
मम्मी  फर्कनु भयो खानाको थाली सुम्पेर । उ कपाकप खान थाली ।  गेट बाहिर, फुट्पाथमै बसेर । 
"मम्मी, त्यो को हो, भन्नुस् न ? "मैले कर गरें । "तपाईंलाई केही त थाहा होला , प्लिज मम्मी भन्नुस् न । " मैले आफ्नो जिद छोडिन । मेरो जिद्दीपनाले मम्मिलाई बोल्न करै लाग्यो । मम्मी बोल्नु भयो ।
========================================================================================
उस्ले आफ्नो धनी परिवारसँग विद्रोह गरेर एउटा गरिव केटासग प्रेम विवाह गरी । धन नभए पनि मनको धनी थियो केटो । उस्लाई असाध्यै माया गर्थ्यो । आफ्नी श्रीमतीलाई सुनचाँदी,महङ्गा लत्ताकपडा दिन सक्दैनथ्यो तर आफ्नो गक्ष र दक्षले भ्याए सम्मका सानातिना आवश्यकताहरु पुर्ती गर्नमा कहिल्यै चुक्दैनथ्यो । श्रीमतीका पिडा,दुख र थकानहरु सुन्ने र बुझ्ने कोशीस गरी रहन्थ्यो । आफुसंग भएका हाँसो , खुशी र सुखहरु साट्थ्यो। यसरीनै खुशीकासाथ उनिहरुको दाम्पत्य जीवन वितिरहेको थियो । उनिहरुको यो सुखी र खुशी परिवारमा विवाहको २ बर्ष पस्चात अर्को खुशी थपियो । त्यो खुशी थियो ,नवआगन्तुक छोरी ।
प्राइवेट कम्पनीमा सानो पदमा काम गर्ने श्रीमानको तलव तेत्ती राम्रो थिएन , अत्ती नराम्रो पनि थिएन । काठ्माडौको महँङ्गाईमा डेरा भाडा तिरेर  दुई छाक टार्न र सानातिना अन्य आवश्यकता पुरा गर्नमा ठीक्क हुन्थ्यो ,बचत भने सुन्य । समय बित्त्दै गयो । छोरीको आगमनसंगै आवश्यकता बढ्दै गयो । आम्दामी भने उही । 
एक पटक उनिहरुबिच छलफल भयो- आफु  र छोरीको भविस्यको बिषयमा ।

' दिनानुदिन छोरी ठुलि हुँदै छे,आवस्यकता बढ्दै छन्, कमाइ बढेको छैन , के गर्ने ? दुबैले एक आर्कालाई सोधे '

'के गर्ने ? के गर्ने ? के गर्ने ?'  कुनै उत्तर आएन- निरुत्तरित दुई प्राणीले एकआर्काको अनुहार हेरे । केहीवेर सम्म कुनै उपाए सुझेन अन्तमा श्रीमान बोल्यो " म बिदेश जान्छु- केही बर्षको लागि  । "

श्रीमान् को  यो वाक्य सुनेर उ अवाक् भई । "हामीलाई छोडेर ?" उस्ले प्रश्न गरी 

''हो, केही बर्षको लागि"  झिनो आवाजमा बोल्यो उ । 

"'सक्छौ ?" अचम्मको भावमा सोधी उस्ले

''................!' निरुत्तरित रह्यो उ ।  । 
उत्तर देओस् पनि कसरी, छोरी भने पछी हुरुक्कै हुन्छ उ । श्रीमतीबाट कुनै दिन टाढा भएको पनि छैन । उ आफ्नो सानो परिवारलाई आफ्नो सम्पूर्ण ठान्छ । उनिहरुको सामिप्यतामा आफ्नो खुशी देख्छ । तर आफ्नो खुशी भित्र परिवारको सुखद भविश्य देखेको छैन उस्ले । त्यसैले उ दर्हो हुँदै बोल्छ 

" म मात्र केही बर्षका लागि विदेसिन चाहन्छु, केही पुँजी जम्मा गरेर फर्किन्छु ताकी भोली आफ्नै पुँजिले सानो तिनो ब्यापार ब्यवसाय सुरु गर्न सकिओस्......... ।"   सुस्केरा हाल्दै बोल्यो उ "........ हामीले अब छोरीको भविस्य पनि हेर्नु पर्छ, सँधैं साथ रहेर मात्र पनि हुँदैन, केही बर्षको वियोग सहनुनै पर्छ " बोल्दा बोल्दै उस्ले  २ बर्सिय छोरीको गालामा च्वाप्प म्वाइ खाएको थियो । श्रीमतीको आँखाबाट आसुका धारा बगिरहेका थिए ।

=========================================================================  

उ गर्‍हौ  मन लिएर बिदेशियो, आफ्नी प्राणभन्दा प्यारी छोरी र श्रीमतीसंग बिछोडिंदाका बखत   श्रीमानको  आँखाबाट बहेका आँशुहरुले  जमिनभित्र फेवा ताल बनाए । आफुलाई खुशी राख्नकोलागी सँधै  तल्लिन रहने आफ्नो सुखदु:खको साथीलाई विदाइ गर्नु पर्दा उस्को मनमा पनि  बन्चरोले हानेको झै ठुलो चोट लागेको थियो । तर वाध्यताको अगाडि कस्को के नै लाग्छ र ! यो बिछोड उनिहरुको वाध्यता र आवश्यकता दुबै थियो -रहर थिएन । 
दिन बित्दै गयो । हप्ता बिते । महिना बिते । समयको वहावसँगै आफ्नो श्रीमानको अभाव झन झन महसुस हुँदै गयो उस्लाई । त्यो  अवोध नावालिकासंग उ मनका पिडाहरु साट्न सक्दैनथी न त थकानका सुस्केराहरु सुनाउननै सक्थी । आफ्ना भन्नेहरुसँग नाता तोडेर आएकी उस्लाई यो शहरीया भिडमा साथ दिने कोही थिएन ।  उ दिन प्रतीदिन आफुलाई एक्लो- बिल्कुल एक्लो महसुस गर्न थाली । बेलाबेलामा हात पर्ने चिट्ठीहरुको उत्तर लेख्दा उ भक्कानिएर रुन्थी । उस्का आँशुले अक्षरहरु भिजेर  पानीमा डुबेर ढाडिएको झिङ्गा जस्तै ढाडिन्थ्यो ।उस्ले धेरै पत्रलेखी - उत्तर भने पाईन ।  बर्ष बित्यो ।अब भने उस्ले एउटा अन्तिम पत्र लेखी श्रीमानको नाममा । त्यो पत्रमा जीवन जिउनका लागी सुख दु:ख अनी हाँसो - खुशी साट्ने अटुटसाथको अभाव खट्किएको अनेकन ब्यहोरा उल्लेख गर्दै पत्रको अन्त्यमा एउटा हरफ लेखेर पत्र टुङ्ग्याएकी थिई " मैले यो एक्लोपनमा एउटा साथ पाएँ,  त्यो साथ पाउनको लागि तिम्रो र मेरो सम्बन्धको अन्त्य गर्नु सिवाय मसंग अन्य विकल्प रहेन- मलाई माफ गर,तिम्री  छोरी भने  तिमीलाई पर्खि रहेको हुने छे,चाँडो घर फर्क ।"

=============================================
बौलाई  जीवन कथा भन्दा भन्दै मम्मीको आँखाबाट बलिद्र आँशुका धारा बहेको देखें  । उहाँ केहीवेरको लागी स्तब्ध हुनु भयो । मेरो मनको तिर्सना अझै मेटिएको छैन किनकी कथा अझै अँपुरो छ । 'यो आईमाई पागल कसरी भई, यस्को  श्रीमान आयो कि आएन ? अनी उस्की छोरीलाई के भयो ?  भन्ने ब्यहोरा थाहा भएको छैन ।  

"अनी के भयो मम्मी ?" मैले थप जिज्ञासु हुँदै सोधें  ।  

आँखाका आँशु पुछ्दै आमा बोल्न थाल्नुभयो "' श्रीमान फर्कियो,छोरीलाई अङगाल्यो अनी देखावटी हाँसो  छर्दै श्रीमतीको खुशीलाई पनि  आत्मसाथ गर्‍यो ।'' यो वाक्य बोलेपछी भने मेरो मम्मिले मलाई एकपटक मायालु नजरले हेर्नु भयो- केहीबेरसम्म  ।

  "जस्को सुखको खातिर विदेसिएको थियो -उसैबाट धोका पाए पछी श्रीमानले पनि आर्को बिहे गर्‍यो , आफ्नी छोरीको रेखदेखको लागि ।" मम्मीले खाली चियाको कप उठाउँदै, जुरुक्क उठ्नु भयो । लाग्यो, मम्मी यो कथालाई अपुरो छोड्दै हुनुहुन्छ ।   मेरो मन मानेन र थप प्रश्न जोडें "अनी यो आईमाई कसरी यस्ती भई ?"

हातमा खाली कप लिएर उभिएकी मेरी मम्मिले गेट बाहिर भातको गाँस निलिरहेकी बौलाईतर्फ हेर्दै कथालाई अगाडि बढाउनु भयो  " केही महिनासम्म यसको शरिरसँग खेलेर, त्यो केटोले  यो आईमाईको साथ छोडेछ । " आमाले मतिर हेर्नु भयो र घटनाको सारलाई जोड्दै बोल्नुभयो "यो आइमाई पुर्व पतिसँग माफि माग्न पुगीछ तर श्रीमान पुन: विदेश फर्कीसकेको थियो,जसै उस्ले आफ्नो पुर्वपतिले पनि   आर्को बिहे गरिसकेको कुरा थाहा पाई त्यस दिन देखी उ पागल भई । "  मम्मीले लामो सुस्केर हाल्नु भयो  । 

 मैले गेट तिर आँखा दौडाएँ । त्यो पागल महिला कुनै पुरुषलाई लुछ्दै थिई । क्रमस रमितेहरुको भिड बढ्दै थियो । मम्मीले पनि मसगै केहीबेर त्यो द्रुश्य हेर्नु भयो अनी सुस्तरी बोल्नु भयो '..............सोचे जस्तो पुँजी कमाएर श्रीमानचाहीं केही बर्ष पछी  पुन:देश फर्कियो र ब्यापार गर्न थाल्यो । धोका र अबिश्वासको चोटले घाइते उस्को मनलाई उसको दोश्रो बिहेले पनि निको गर्न सकेको थिएन । त्यही चोटलाई कम गर्न उस्ले रक्सीलाई अँगालेको थियो । दिनप्रतीदिन  रक्सीको मात्रा बढ्दै गयो ।  १३ बर्ष अगाडि   उसले आफ्नो प्राण छोड्यो र जाँदा जाँदै आफ्नो दोश्री श्रीमती र छोरीको लागि एथेस्ट सम्पत्ती छोडेर गयो..................."

 बाहिर रमितेहरुको भिडले त्यो पागल महिलालाई छेकेको छ  ।  हामी मम्मी-छोरीको आँखा त्यही भिडतिरै छरिएको छ , मम्मीले कथाको बिट मार्नु भएको छैन ' .............अहिले उस्की छोरी १९ बर्षकी भएकी छे, सौतेनी आमाले सक्दो माया दिएकी छ ताकि उस्को आफ्नी आमाको कमी महसुस नहोस् ..........."

 मम्मीले एउटा हातले मेरो कुममा स्पर्श गर्नु भयो । मैले मम्मिको अनुहारमा हेरें । उहाँका आँखाबाट पहिलेको भन्दा अहिले आँशुका वहाव झन बढेको देखें  । उहाँले पनि पुलुक्क मेरो अनुहारमा हेर्नु भयो र काँपेको आवाजमा बोल्नु भयो  " .............भनत, तिमीलाई कहिल्यै मैले तिम्री आमाको कमी महसुश हुन दिएकी छु ? " मम्मीको मुखबाट अनायस  यो प्रश्नात्मक वाक्य सुने । एकाएक मेरो शिरमा पहाड खसेझैं भान भयो ।  मैले टेकेको जमिन भास्सिएझै भयो । म निशब्द भएँ । 
"हो तिम्री आमा त्यही पागल महिला हो । जो हरेक दिन आफ्नी छोरीको खोजिमा हाम्रो टोल छिमेक चाहर्दै हिँड्दैछे तर आफ्नै अगाडि आफ्नी छोरीलाई  देखेर पनि चिन्न सकेकी छैन । त्यो तिम्रै आमा हो , तिम्रै"

म थचक्क भुईमा बसें 

-----------------------------Thank you-------------------------------
         




     
        

Tuesday, December 16, 2014

'एकादेशको कथा - सानीनानीको कथा '

(मेरी सानी छोरीमा समर्पित यो बाल कथा )

एकादेशमा- एउटी 7 बर्सिय सानी नानी रहिछन- बाबा आमाकी कान्छी छोरी । उनको एउटा दाजु र दिदी पनि रहिछन । दाजु दिदी र आमाबुवाले अतिनै माया गर्थे । जमिन मा खुट्टा पर्न दिदैनथे - भुइको चिसो लागेर बिरामी हुन्छिन भन्ने डर, काँडा बिज्ला भन्ने डर, लडेर चोट लाग्लाकी भन्ने डर त्यसैले त आलो पालो काँधमा बुइ गरिरहेन्थे । ति सानी नानीलाई भने जमिनमा दौडन मल लाग्थ्यो- बेफिक्री धुलोमा खेल्न मन लाग्थ्यो- बगैचाका फुलहरु चुम्दै हरिया दुबो र झारहरुमा लडीबुडी गर्न मन लाग्थ्यो । उनलाई बोकेको मन पर्दैनथ्यो ।

नानी पातलि थिन्- त्यसैले उनका बाबु आमा र दाजुदिदी उनी मोटाएको हेर्न चाहन्थे । बिहान उठे देखुन नसुतुन्जेल मिठा मिठा खानेकुराहरु पकाउने-ल्याउने र खुवाउने गर्थे । उनकी दिदी बाहिर कतै गयो कि त रित्तो हात कहिल्यै फर्कन्नथिन - बहिनी को लागि केही न केही मिठाइ लिएर आउथिन र फकाइ फकाइ खुवाउथिन । दाजुले पनि त्यस्तै गर्ने । मम्मी र बाबाले पनि केही न केही खानेकुरा कोसेली स्वरुप ल्याइदिने । तर ति सानी नानी भने केही खान रुचाउन्नथिन । एक दिन त केही खान नपाए हुन्थ्यो भन्ने उनको चाहना हुन्थ्यो । नर्सरीमा पढ्ने ति नानीको कोठा भरी अनेकन ज्ञानगुनका चित्र पुस्तकहरुले भरिएको थियो । ति सबै उनका परिवारले उनकै लागि ल्याइदिएका थिए । फुर्सदको समयमा उनका दाई दिदी र आमाबाबाहरु उनलाई कहिले बालकथाका पुस्तकहरु पढेर सुनाउथे त कहिले चित्र कथाहरु देखाउँथे । तर सानी नानीलाई भने ति पुस्तकहरु देखी वाक्क दिक्क लाग्ने गर्थ्यो । उनी त आकाशका ताराहरु गन्न रुचाउथिन, चराका चिरबिर अनी हावाको सरसर आवाज सुन्न रुचाउथिन । साँच्चै भन्नेहो भने उनलाई बाबुआमा र दिदीदाइ रे बोकेको मन पर्दैनथ्यो, घरीघरी अनेकन परिकार खुवाएको अनी कितावका कथाहरु सुनाएको मनै पर्दैनथ्यो । उनी घरभित्र दिक्दार मानिरहेकी थिन । पिजडामा बन्द भएको सुगा जस्तै ।
एक साँझ- बार्दलीमा बसेर सानीनानी आकाशमा आँखा दौडाइ रहेकी थिन । चम्किला ताराहरुको माझमा अर्धाकार चन्द्रमा खिसिका दांँत देखाएर मुस्कुराइ रहेकी । सिरसिरे हावा रुखका पातहरुमा ठोक्कीदै बहँदा एउटा भिन्नै संगितको उत्पत्ती भइरहेको थियो । सानीनानी आनन्दको अनुभुती गरिरहिकी थिन । आकाशतिर हेरेर मस्त टोलाई रहेकी थिन । त्यत्तिकैमा चम्किला तराहरु मध्ये एउटा ताराबाट एउटी सुन्दर केटी प्रकट भइन । 'हे सानी साथी के गरेर बसिरहेकी ?' सानीनानीलाई त्यो ताराले प्रश्न गरिन ।
बुवाआमाले कहिले काही आकाशकी परीको कथा भनेको सुनेकी थिन उनले । त्यही परिको चित्र देखिन उनले ति तारामा अनी खुशी हुँदै बोलिन् ' ए परी ! म त तिमीहरुलाईनै हेरिरहेको थिए नि , तिमीहरुलाई कत्ती मज्जा छ है आकाशमा !'
ताराले मुस्कुराउदै भनिन' हो नि मज्जा छ, अनी तिमीलाई पनि त यहाँ मज्जा छ नि होइन र ?'
सानीनानीले निरासमुद्रा मा भनिन ' अह यहाँ त मज्जा छैन'
किन नि अचम्म हुँदै ताराले सोधिन ''तिम्रो मम्मी-बाबा अनी दाजु र दिदीले तिमीलाई धेरै माया गर्नु हुन्छ, भुइको धुलो लाग्न दिनुहुन्न संधै कांधमा बोक्नु हुन्छ मिठामिठा खानेकुरा ल्याउनु हुन्छ र लोभलाग्द कथाहरु सुनौनु हुन्छ । तिमीलाई सब्बैले धेरै माया गर्नु हुन्छ , हैन र ?'
सानीनानी ले उही निरास मुद्रामा भनिन ' मलाई त यो सब मन पर्दैन, मलाई आकाशमा उड्न मन पर्छ तिमीहरु जस्तै । '
के उसो भए तिमी यहाँ खुशी छैनौ ? ताराले सोधिन । सानीनानी उदास मुद्रामा बेजवाफ बसीरहिन ।
लौ उसो भए तिमी आकाशमा आउने त ? सोधिन ताराले । ताराको प्रश्न सुन्ने बित्तिकै सानीनानी फुरुङ्ग भईन् ' साँच्चै हो र ? म आकाशमा आउन मिल्छ ।
'हो मिल्छ तर मैले भनेको एउटा कुरा मान्नु पर्छ ' ताराले भनिन ।
'के कुरा ?' झट्पट सोधिन सानीनानीले ' म मान्छु '
'म तिम्रो घरमा तिमी बनेर बस्छु अनी तिमी म बनेर आकाशमा बस । हुन्छ ? 'ताराले सानीको अनुहारमा घोत्लिदै शर्त राखिन
ताराको यो शर्तमाथी केहीबेर बिचार गरेजस्तो गर्दै झटपट स्विकारको शब्द ओकलिन सानीनानीले 'हुन्छ '
------अब सानीनानी तारा बनिन अनी तारा सानीनानी ------
---------तारा घरभित्र छिरिन- सानीनानी आकाशमाथी उडिन -------------------
-----तारा परिवारको माझमा पुगिन, सानीनानी ताराहरुको बिचमा -----
----सेतो वादलले घेरेको सेफद संसार, अनेकन ताराहरुले छरेको उज्वल प्रकाश,कुनै चिच्याहट थिएन -चारैतिर सुनसान । सानीनानीलाई मज्जाले नाच्न मन लाग्यो । नाचिन । घरी बादलको घेरामा भित्र हराउथिन त कहिले ताराहरुको मधुर प्रकाशहरुमा रमाउथिन । बेग्लै आनन्दको अनुभुती भएको थियो उनलाई । यसरी केही घण्टा सम्म नाच्दै गाउदै रमाउदै -आफैमा हराइरहिन उनी । केही बेर पछी केही भोक लागे जस्तो भान भयो । नाच्दा नाच्दै टक्क अडिन र धर्तीतिर चिहाइन् । घरमा आँखा पर्‍यो - अनगिन्ती खेलौनाहरुम्याथएे लडीबुडी गर्दै तारानानी उफ्रीरहेकीथिन । आमाबुवा उनको पछाडि मिठामिठा चकलेट लिएर घुमिरहेका थिए । दाजु र दिदी गीत गुनगुनाउदै तारानानीसंगै झुमीरहेको द्रुश्य सानी नानीले देखिन । उनलाई यो द्रुश्यली हाँस उठायो ।' कठै विचरा तारानानी ' भने झै घरको त्यो द्रुश्यलाई बेवास्ता गर्दै उनी पुन नाच्न थालिन, उफ्रन र दौडन थालिन । धेरैबेर सम्म उनी मस्त झुमी रहिन आफ्नै तालमा । यसरी झुम्दा झुम्दै अचानक उनको खुटा रोक्कियो- यताउती हेरिन । पेट छामिन । भोक लागेछ । खुटाहरु लुला भएछन । टाउको दुख्न थालेछ । उनले फेरी आफ्नो घरतिर चिहाइन । तारानानी आमाको काखमा ढल्केकी थिइन, दिदी र दाजु खुटा हात मोसार्दिदै थिए अनी बाबा भाखा हालेर गीत गुनगुनाउदै हुनुहुन्थ्यो 'सानीसानी नानी तिमी चुलबुले परी- तिम्रो छाया आँखाभित्र मायाँ मुटुभरी ' । बाबाको मुखबाट निस्किएका यि शब्द अनी सुमधुर अवाजले सानीनानीलाई बिझाएझै भयो । मम्मी उनको मुख बाट अनयास निस्कियो । ताराको गालामा च्वाप्प म्वाइखाँदै बाबा गीत गुनगुनाइरहनु भएको, आमाले कपाल सुम्सुम्याइ रहनु भएको अनी दाजु र दिदीले हात-पाउ मालिस गरिरहेको द्रुश्यलाई नियाली रहँदा सानीनानीको आँखाबाट तुरुक्क आशु चुहियो । बाबा उनको मुखबाट अनायास अर्को पुकार निस्कियो । त्यहा उनको पुकार गुन्जीरह्ह्यो -धेरैबेर सम्म । तर कुनै प्रतिकृया आएन । 'दादा, दिज्यु ! ' उनी कराइरहिन । तर कसैले केही जवाफ दिएन । उही मधुर प्रकाश अनी वादलको श्वेत घेरा । कुनै आवाज छैन । कुनै चाहल्पहल छैन । उनलाई एकप्रकारको डर लाग्यो । 'मम्मी ! मम्मी !' उनी रुन थालिन --ओ तारारानी तिमी आकाशमा आउ- मलाई मेरै घरमा जान देउ -- हे मम्मी,बाबा मलाई यहाँबाट निकाल्नुहोस्'' उनी कराइरहिन .
'छोरी के भयो ?' आमाले उनको कपाल मुसार्दै सोध्नु भयो, सानीले आँखा खोलिन । आँखा अगाडि देखिन ,आतिरहेकी मम्मीको अनुहार-हतास बुवा अनी मायालु नजरले हेरिरहेका दाजु र दिदी । उनले सपना पो देखेकी रहिछन । जे भए पनि यसरी आफ्नो अगाडि सबै परिवारलाई देख्दा सानीनानीको आँखाबाट बलिद्र आशुका धारा बगीरहे ' मम्मी म घरमै बस्छु- आकासमा जान्न' उनी घुक्क घुक्क रुदै आमालाई अङ्गालो हालिन । बाबाले कपाल मुसारी दिनु भयो - दाजु र दिदीले हातखुट्टा । उनी केही बेर आमाको अङ्गालोमा बाँधीरहिन । गीत गुनज थाल्यो :
'सानीसानी नानी तिमी चुलबुले परी- तिम्रो छाया आँखाभित्र मायाँ मुटुभरी '
-------सुत्नेबेलामा कथा सुन्नै पर्ने मेरी छोरीलाई बनावटी कथा बनाउने क्रममा बनेको यो कथा - (सुन्नेलाई सुनको माला - पढ्नेलाई फुलको माला --छोराछोरिलाई सुनाउने बेलामा मुखैमा आइजाला । )