Thursday, March 10, 2016

सलाम ! अमेरिकन 'बिरबहादुर'


यो मान्छेलाई नयाँ लुगा लाउन कहिल्यै मन पर्दैन, मिठो खाना चाहिन्न-केवल पिरो मन पराउँदैन । फेसबुक छैन- सार्वजनिक हुन चाहन्न भन्छ । मोबाइल पनि बोक्दैन । अमेरिकाको न्युजर्सीबाट जनवरी पहिलो दिन नेपाल छिरेको यो २१ बर्शिय बबुरो -मेरै पछी लागेर दोलखाको ग्रामीण भेगहरु चाहर्न आइपुग्यो । यस्लाई पनि भुकम्प पीडितहरुको लागि केही गर्ने मन छ ।' पैसा' दिन सक्दिन 'पसिना'दिन सक्छु भन्ने यो खैरेकान्छो मनको चोखो र निस्चल छ । अङ्ग्रेजी नाम' अल्बर्टो गिमिनेज डि लस गालानेस काभालो' । यस्को नाम आम-गाउँलेहरुलाई उच्चारण गर्न अती कठिन हुने, लेख्दा एउटा सानो पुस्तक बन्ने र उचारण गर्दा घण्टौ बित्ने भएकोले म छेत्रीको छोरोले यस्को न्वारन गरिदिदै  मौलिक नेपाली नाम राखीदिएँ  'वीरबहादुर' ।  यस्ले आफ्नो  परिचय यही नामबाट दिन थाल्यो  । सबैले 'बिरबहादुर' पछी के हो ?' भन्दै जात' सोध्न थालेछन् । यस्को देशमा 'जात' हुन्न अरे , यस्लाई आपत परेछ । बेजाती यो बजियाले मेरो जात सापटी माग्यो-मैले मेरा बा'आमाको स्विक्रिती बिना आफ्नो जात दिएँ । तहाँ उपरान्त यस्को नाम  बिरबहादुर कार्की रह्यो, मेरो जात पाएर मख्ख भएको यो  'मरनच्याँसे'ले मलाई ठुलो दाई भन्छ । यो 'लम्फु'पनी मलाई आफ्नै भाई जस्तो लाग्छ ।  यस्लाई पसिना पोख्ने काम बाहेक अरु सजिलो काम केही मन पर्दैन । स्पेनिस,इटाली,फ्रेन्च र अङ्रेजी भाषाको जानकार यो 'डुकुलण्ठक'ले नेपाली भाषा समेत लगभग जानी सकेको अवस्था छ ।  अमेरिकामा ईतिहास बिषय लिएर पढिरहेको यो 'कुइरे' यहाँ भरिया बनेर हाम्रो माटो माथि पसिनाका थोपा छर्कदै छ - अहिले यो भाई दोलखा जिल्लाको काभ्रेमा 'अस्थाई शिक्षण केन्द्र' निर्माण गर्ने काममा ब्यस्त छ ।
गत जनवरीको दोश्रो शाता यस्लाई समुदाय भ्रमणको लागि लामाबगरको गँगोरखोला लगेको थिएँ । त्यहाँका  स्थानियले औपचारिक कार्यक्रमका बिच हाम्रो टोलीलाई स्वागत गरे । 'बिरे'लाई मन्चमा राखेर खादा ओडाईदिए  । मोरो 'बिरे'ले ममाथी आक्रोश पोख्यो । मलाई किन खादा ओडाएको? मलाई किन सम्मान ? किन स्वागत ? लगाएतका अनेकथरी प्रश्न गर्दै कुटुँलाझैं  पो गर्‍यो ।
भर्खरै,उस्को फोटो प्रयोग गरेर फेसबुक खोलीदिएको थिएँ, निरन्तर संचार गर्न मिलोस् भनेर । त्यो बेला त झन् रिसले आगो बन्यो । मैले उस्लाई फकाएँ, हामी देश बिदेशमा रहेर पनि आफ्नो गतिबिधीबारे जानकार रहन सक्ने कुरा बताएँ  । निक्कै गार्‍हो मानेर,सहमती जनायो । एक्काइसौ सताब्दीको यो गोबर गणेशलाई पूजा गरौ कि गाली ?
बिदेसबाट उस्का परिवार र मित्रजनले मलाईनै सोध्छन  ' बिरे कहाँ छ- कस्तो छ ? भनेर । त्यो मोबाइल नबोक्ने  'मुडे' गाउँतिर भारी बोकीरहेको हुन्छ । म पनि बेखबर । वाक्कै भएर आफ्नो 'सिम कार्ड' जबर्जस्ती भिडाएर पठाएँँ । अहिले भने संचार हुन्छ तर जो पायो त्यस्ले फोन गरेको मन पराउदैन त्यसैले त्यो ' ल्वाँदे'ले  प्रायजसो स्विच अफ गर्छ ।    
जे होस्- यो भुरोले मलाई' कर्म गर- फलको आश नराख' भन्ने  एउटा पाठ सिकाएको छ । अरबमा पुगेर आफ्नो पसिना सस्तोमा बेच्न आतुर युवा जमातको लागि यो खैरे नराम्रो 'गाली' हो । पैसा,मान सम्मान र प्रतिस्ठाको प्यासमा भौतारिने हामी 'काकाकुल'हरुले यो फुच्चेबाट केही सिक्ने कि ?

सलाम बिरबहादुर ! 
(यदी तपाईंहरु यो मान्छेको कामलाई प्रोत्साहित गर्न चाहनुहुन्छ भने यो नम्बरमा उत्प्रेरणा र प्रोत्साहनका सन्देश प्रेसित गर्न सक्नुहुनेछ । तर फोन गर्ने कार्य नगर्नु होला यस्को काममा डिस्टर्ब हुन्छ नि । बिरेको संपर्क नं ९८४५१८९६७७  ) 

No comments:

Post a Comment