ड्युटी सकेर घर छिर्दा रातको १० बजेको थियो । मिठो मुस्कान सहित जीवनसंगीनीले स्वागत गरिन् । यो उनको दैनिकी हो । त्यसो त उनिपनि १२ घण्टे कठिन परिश्रम गरेर आएकी हुन्छिन् । म भन्दा १५ मिनेट अघि मात्रै घर छिरेकी हुन्छिन्-उनि । दिनभरीको तनाव र थकानका वाबजुद पनि उनको ओंठमा सुस्केरा देखिन्न वा देखाउन्नन् । हँलिलो अनुहार सहित मेरो स्वागतका निमित्त बसेकी हुन्छिन् । यिनलाई देख्ने बित्तिकै मेरो आधा थकान् उत्तिकै मेटिन्छ । बॉंकी रहेको आधा थकान भने छोरीको बोलीले मेट्टिने गर्छ । तर आज छोरी छैन , ५ दिनको क्याम्पमा गएकी छ ,रिडिङ्ग तिर ।
********************************
आज, मन गऱ्हुङ्गो छ । मनभित्र-एकतमासको खिन्नता अनि बेग्लै किसिमको सन्नाटा छ। सात समुन्द्रपारी छोडिएको मातृभूमीमा शोकको माहौल छ । सामाजिक संजालहरुमा लासका खातहरु छन् । टेलिभिजनका च्यानलहरुमा आँशुका बाढीहरु छन् । यहॉंका पत्रपत्रिकामा समेत मेरै देशको पिंडाले प्राथमिकता पाएको छ । यी सबै दृश्यहरुले उसै-उसै मनमा बेचैनी बढाएको छ । उकुसमुकुस र निसास्सिएको जस्तो भएको छु ।
*************
जब म आफैंलाई अशान्त भएको महशुस गर्छु तब म समुन्द्रको किनारमा पुग्छु । समुन्द्र मलाई मेरै साथी जस्तै लाग्छ । समुन्द्रसंग संवाद गर्न मलाई खुबै मन पर्छ किनकी यस्ले मनको आवाज सुन्छ ।
*********************************
“ घुम्न जाने? “संगीनीलाई सोधें ।
“लौ, यति राती ?” उनको यो प्रति प्रश्नमा अनिच्छा थियो । हिंड्न भनेपछि ज्यादै अल्छि गर्छिन् यिनी - आफ्नो बाबाजस्तै । मैले पनि कर गरिनँ ।
“म एकछिन् समुन्द्रको किनारतिर टहलिएर आउँछु है ।” मैले मनसाय सुनाएँ । उनले एकछिन् मेरो अनुहारमा नियालिन् र “ हुन्छ”भनिन् । मेरो भाव पढ्न सक्छिन् उनी , समुन्द्रले जस्तै ।
उसो त मैले मेरो छट्पटी र बेचैनी उनैलाई पोखेको भएपनि हुने तर म उनको मन पनि गऱ्हुङ्गो बनाउन चाहन्न- आफ्नो जस्तै । त्यसैपनि उनी आफैं दिनभरीको परिश्रमले थाकेर आएकी हुन्छिन् । बरु, २४ घण्टा चुपचाप बस्ने बेरोजगारी त्यो समुन्द्रको निलो पानी भित्र मनको बहलाई डुबाईदिनु बेश । किनकी उस्लाई कुनै भार पर्दैन ॥
*********************************
आकासमा कालो बादल मडारिएको छ । पानी पर्ला र ? मोबाईलको स्क्रिनमा रहेको ‘वेदर फर्कास्ट’ को एप खोल्छु । बर्षातको सम्भावना रहेनछ । गाढी निकाल्छु अनि हुईंकिन्छु ५ माईल टाढा समुन्द्रि किनारतिर ।
बेजोडको हावासंगै पैंठे जोरी खेलीरहेको छ- समुन्द्र । पानीका छालहरु किनारका पत्थरहरुसंग कुस्ती खेल्दै छन् । हिजो अस्ती जस्तो शान्त छैन आजको समुन्द्र ।
म पानीको छालले नछुनेगरी एउटा ठूलो पत्थरमाथी टुसुक्क बस्छु ।
हावाको बेग बढ्दै गयो, छालको गति र आवाज पनि बढ्दै गयो । मलाई यो अवाज आज रत्ति मन परेको छैन । म त शान्ती खोज्न आएको , झन् पो मन अशान्त भयो ।
किनारमा रहेको रंगीचंगी एकै आकार र एकै प्रकारका घरहरु अनि ति घरका बिजुली बत्तिहरुको उज्यालो प्रकाशले समुन्द्रको किनारसम्मै प्रकाश छरेको छ । कोरिडोरको रोड मा एउटा पनि गाडीहरु गुडेका छैनन् । आँखाले भ्याएसम्मको दुरीमा कुनै मानव आकृती छैन ।
यो चकमन्नतामा जे खोज्न आएको थिएँ त्यो भेट्टाईरहेको छुईन। समुन्द्रको एउटा किनारामा बसेर त्यस्को अर्को किनारा खोज्ने असफल प्रयास गर्दै छु - म । तर दुर दुरसम्म कालो अन्धकार मात्रै देखिन्छ । त्यतिकैमा समुन्द्रका छालहरुले रंग फेर्न थाल्छन् । केहीबेर अगाडीसम्म सेतो देखिने त्यो छाल अब विस्तारै मैलो र कालो देखिन थाल्छ। अचानक छालसंगै कालो लेदोहरु बहन थाल्छन् अनि त्यो लेदो संगै अनेकन् मानव शरिरहरु तैरीरहेका देखिन्छन् । समुन्द्रको प्रत्येक छालसंगै अनगिन्ति निर्जिव मानव शरिररहरु पाखा लागिरहेका हुन्छन् । यसरी केही सेकेण्डमै समुन्द्रको किनारभरी अनगिन्ति निस्वास मानव शरिरहरु थुप्रो लाग्न थाल्छ । मेरो मनमा चिसो पस्छ। डर र त्रासले मुटु कॉंप्न थाल्छ। मैले त्यो ठाउँबाट चॉंडो भाग्नुपर्छ भन्ने सोच्छु अनि आफू बसिरहेको ढुङ्गाबाट हाम फाल्छु । तर मेरो पैताला, किनारको बालुवामा होईन मानव लासहरुमाथी हुन्छ । पुरै जमिनभरी लमतन्न लासहरु मात्रै देख्छु । म लासको चाङ्माथी उभ्भिरहेको छु । छरपष्ट लासहरु तर्फ आफ्नो नजर डुलाउँछु , ति सबै लासहरु त मेरा चिरपरिचित अनुहारहरुका हुन्छन् ।
मेरो मुटुले ठाउँ छोड्यो । डर र पिंडाको मिश्रित स्थितिमा मैले प्रत्येक लासको अनुहार चिहाउँदै गएँ , ति सबै अनुहारमा कोही बिरानो थिएनन् । मेरो मुटु फुट्ला जस्तो भयो । आँखाबाट आँशु बग्न थाल्यो । म , डाँको छोडेर रुँदै हिलाम्य लासहरुलाई कोट्याउॅदै तिनिहरुको अनुहार चिहाउँन थाल्छु । यत्तिकैमा एउटालासको अनुहार माथी मेरो आँखा टक्क अड्डिन्छ । यो अनुहार त झनै नजिकको जस्तो लाग्यो । मैले समुन्द्रबाट एक अन्जुली पानी निकालेर त्यो लासको अनुहारमा रहेको हिलो सफा गरें । अब अनुहार प्रष्टै देखियो । त्यो अनुहारलाई हेर्दा यस्तो लाग्यो की म ऐना हेरिरहेकोछु र त्यसमा मैले आफ्नै प्रतिविम्ब देखिरहेको छु । मैले अझै घोत्लिएर हेरें । अब कन्फर्म भयो की यो त मेरै अनुहार हो । यो लासै लास विचमा हिलाम्य भएर ढलिरहेको लास त मेरै पो हो ।
मलाई जमिन हल्लिएको झै भान हुन्छ । रिङ्गटा लाग्ला जस्तो, पैताला कतै हिलोको दलदलमा भास्सिदै गए झैं हुन्छ। म थरथरी काँप्न थाल्छु । यत्तिकैमा झल्याँस्स आँखा खोलिन्छ । सिरानीमा रहेको मेरो मोबाईल भाईब्रेट गरिरहेको रहेछ । मोबाईल चिहाउँछु । छोरीको फोन आई रहेको रहेछ ।
फोन उठाउँछु ।
“हेलो पापा ! गुड मर्निङ् ।”छोरीको मिठो शब्द कानमा ठोक्किन्छ।
‘ गुड- मर्निङग’ म प्रतिक्रिया दिन्छु ।
‘सन्चै होईसिन्छ? ‘उस्ले सोध्छे ।
यस्को उत्तर दिनुपूर्व मैले एकपटक आफैलाई छाम्छु । ठिक रहेछु-जिउँदै रहेछु । म ढुकक् हुव्छु अनि जवाफ फर्काउँछु “सन्चै छु ।”
***********************************
सॉंच्चै, लासै लासको बिचमा उभिएर आफूलाई जिउँदो पाउनु जत्तिको खुशी अरु केही नहुने रहेछ । 🥲
*************************
रसुवाको विपद् पनि यस्तै एउटा दुस्वप्न जस्तै भईदिए अनि सम्पर्क विच्छेदभएकाहरु पनि बॉंचेर फर्किदिए कत्ति आनन्द हुन्थ्यो नी , है !










