Tuesday, September 15, 2026

लासहरुको खातमाथी

ड्युटी सकेर घर छिर्दा रातको १० बजेको थियो । मिठो मुस्कान सहित जीवनसंगीनीले स्वागत गरिन् । यो उनको दैनिकी हो । त्यसो त उनिपनि १२ घण्टे कठिन परिश्रम गरेर आएकी हुन्छिन् । म भन्दा १५ मिनेट अघि मात्रै घर छिरेकी हुन्छिन्-उनि । दिनभरीको तनाव र थकानका वाबजुद पनि उनको ओंठमा सुस्केरा  देखिन्न वा देखाउन्नन् । हँलिलो अनुहार सहित मेरो स्वागतका निमित्त बसेकी हुन्छिन् । यिनलाई देख्ने बित्तिकै मेरो आधा थकान् उत्तिकै मेटिन्छ । बॉंकी रहेको आधा थकान भने छोरीको बोलीले मेट्टिने गर्छ । तर आज छोरी छैन , ५ दिनको क्याम्पमा गएकी छ ,रिडिङ्ग तिर ।

********************************

  आज, मन गऱ्हुङ्गो छ । मनभित्र-एकतमासको खिन्नता अनि बेग्लै किसिमको  सन्नाटा छ। सात समुन्द्रपारी छोडिएको मातृभूमीमा शोकको माहौल छ । सामाजिक संजालहरुमा लासका खातहरु छन् । टेलिभिजनका च्यानलहरुमा आँशुका बाढीहरु छन् । यहॉंका पत्रपत्रिकामा समेत मेरै देशको पिंडाले प्राथमिकता  पाएको छ । यी सबै दृश्यहरुले उसै-उसै मनमा बेचैनी  बढाएको छ  । उकुसमुकुस र निसास्सिएको जस्तो भएको छु ।

*************

जब म आफैंलाई अशान्त भएको महशुस गर्छु तब म समुन्द्रको किनारमा पुग्छु । समुन्द्र मलाई मेरै साथी जस्तै लाग्छ । समुन्द्रसंग संवाद गर्न मलाई खुबै मन पर्छ किनकी यस्ले मनको आवाज सुन्छ ।

*********************************

“ घुम्न जाने? “संगीनीलाई सोधें । 

“लौ, यति राती ?”  उनको यो प्रति प्रश्नमा अनिच्छा थियो । हिंड्न भनेपछि ज्यादै अल्छि गर्छिन् यिनी - आफ्नो बाबाजस्तै  । मैले पनि कर गरिनँ । 


“म एकछिन् समुन्द्रको किनारतिर टहलिएर आउँछु है ।” मैले मनसाय सुनाएँ । उनले एकछिन् मेरो अनुहारमा नियालिन् र “ हुन्छ”भनिन् । मेरो  भाव पढ्न सक्छिन् उनी , समुन्द्रले जस्तै । 


उसो त मैले मेरो छट्पटी र बेचैनी उनैलाई पोखेको भएपनि हुने तर  म उनको मन पनि गऱ्हुङ्गो बनाउन  चाहन्न- आफ्नो जस्तै । त्यसैपनि उनी आफैं दिनभरीको परिश्रमले थाकेर आएकी हुन्छिन् । बरु, २४ घण्टा चुपचाप बस्ने बेरोजगारी त्यो समुन्द्रको निलो पानी  भित्र मनको बहलाई डुबाईदिनु बेश । किनकी उस्लाई कुनै भार पर्दैन ॥

*********************************

आकासमा कालो बादल मडारिएको छ । पानी पर्ला र ?  मोबाईलको स्क्रिनमा रहेको ‘वेदर फर्कास्ट’ को एप खोल्छु । बर्षातको सम्भावना रहेनछ । गाढी निकाल्छु अनि हुईंकिन्छु  ५ माईल टाढा समुन्द्रि किनारतिर ।


बेजोडको हावासंगै पैंठे जोरी खेलीरहेको छ- समुन्द्र । पानीका छालहरु किनारका पत्थरहरुसंग कुस्ती खेल्दै छन् । हिजो अस्ती जस्तो शान्त छैन आजको समुन्द्र । 


म पानीको छालले नछुनेगरी एउटा ठूलो पत्थरमाथी टुसुक्क बस्छु । 


हावाको बेग बढ्दै गयो, छालको गति र आवाज पनि बढ्दै गयो । मलाई यो अवाज आज रत्ति मन परेको छैन । म त शान्ती खोज्न आएको ,  झन् पो मन अशान्त भयो । 


किनारमा रहेको रंगीचंगी एकै आकार र एकै प्रकारका घरहरु अनि ति घरका बिजुली बत्तिहरुको उज्यालो प्रकाशले समुन्द्रको किनारसम्मै प्रकाश छरेको छ  । कोरिडोरको रोड मा एउटा पनि गाडीहरु गुडेका छैनन् ।  आँखाले भ्याएसम्मको दुरीमा कुनै मानव आकृती छैन । 

यो चकमन्नतामा जे खोज्न आएको थिएँ त्यो भेट्टाईरहेको छुईन। समुन्द्रको एउटा किनारामा बसेर त्यस्को अर्को किनारा खोज्ने असफल प्रयास गर्दै छु - म । तर दुर दुरसम्म कालो अन्धकार मात्रै देखिन्छ । त्यतिकैमा समुन्द्रका छालहरुले रंग फेर्न थाल्छन् ।  केहीबेर अगाडीसम्म सेतो देखिने त्यो छाल अब विस्तारै  मैलो र कालो  देखिन थाल्छ। अचानक छालसंगै कालो लेदोहरु बहन थाल्छन् अनि त्यो लेदो संगै अनेकन् मानव शरिरहरु  तैरीरहेका देखिन्छन् । समुन्द्रको प्रत्येक छालसंगै अनगिन्ति निर्जिव मानव शरिररहरु  पाखा लागिरहेका हुन्छन्  । यसरी केही सेकेण्डमै समुन्द्रको किनारभरी अनगिन्ति निस्वास मानव शरिरहरु थुप्रो लाग्न थाल्छ । मेरो मनमा चिसो पस्छ। डर र त्रासले मुटु कॉंप्न थाल्छ। मैले त्यो ठाउँबाट चॉंडो भाग्नुपर्छ भन्ने सोच्छु अनि आफू बसिरहेको ढुङ्गाबाट हाम फाल्छु । तर मेरो पैताला, किनारको बालुवामा होईन मानव लासहरुमाथी हुन्छ । पुरै जमिनभरी लमतन्न लासहरु मात्रै देख्छु । म लासको चाङ्माथी उभ्भिरहेको छु ।  छरपष्ट लासहरु तर्फ आफ्नो नजर डुलाउँछु , ति सबै लासहरु त मेरा चिरपरिचित अनुहारहरुका हुन्छन् । 


मेरो मुटुले ठाउँ छोड्यो । डर र पिंडाको मिश्रित स्थितिमा मैले प्रत्येक लासको अनुहार चिहाउँदै गएँ , ति सबै अनुहारमा कोही बिरानो थिएनन् । मेरो मुटु फुट्ला जस्तो भयो । आँखाबाट आँशु बग्न थाल्यो । म , डाँको छोडेर रुँदै हिलाम्य लासहरुलाई कोट्याउॅदै तिनिहरुको अनुहार चिहाउँन  थाल्छु । यत्तिकैमा एउटालासको अनुहार माथी मेरो आँखा टक्क अड्डिन्छ । यो अनुहार त झनै नजिकको जस्तो लाग्यो । मैले समुन्द्रबाट एक अन्जुली पानी निकालेर त्यो लासको अनुहारमा रहेको हिलो सफा गरें । अब अनुहार प्रष्टै देखियो । त्यो अनुहारलाई हेर्दा यस्तो लाग्यो की म ऐना हेरिरहेकोछु र त्यसमा मैले आफ्नै प्रतिविम्ब  देखिरहेको छु । मैले अझै घोत्लिएर हेरें ।  अब कन्फर्म भयो की यो त मेरै अनुहार हो । यो लासै लास विचमा हिलाम्य भएर ढलिरहेको  लास त मेरै पो हो । 


मलाई जमिन हल्लिएको झै भान हुन्छ । रिङ्गटा लाग्ला जस्तो, पैताला कतै हिलोको दलदलमा भास्सिदै गए झैं हुन्छ। म थरथरी काँप्न थाल्छु । यत्तिकैमा झल्याँस्स आँखा खोलिन्छ । सिरानीमा रहेको मेरो मोबाईल भाईब्रेट गरिरहेको रहेछ । मोबाईल चिहाउँछु । छोरीको फोन आई रहेको रहेछ । 

फोन उठाउँछु । 

“हेलो पापा ! गुड मर्निङ् ।”छोरीको मिठो शब्द  कानमा ठोक्किन्छ।  

‘ गुड- मर्निङग’ म प्रतिक्रिया दिन्छु । 

‘सन्चै होईसिन्छ? ‘उस्ले सोध्छे । 

यस्को उत्तर दिनुपूर्व मैले एकपटक आफैलाई छाम्छु । ठिक रहेछु-जिउँदै रहेछु । म ढुकक् हुव्छु  अनि जवाफ फर्काउँछु “सन्चै छु ।”

***********************************

सॉंच्चै, लासै लासको बिचमा उभिएर आफूलाई जिउँदो पाउनु जत्तिको खुशी अरु केही नहुने रहेछ । 🥲

*************************

रसुवाको विपद् पनि यस्तै एउटा दुस्वप्न जस्तै भईदिए अनि सम्पर्क विच्छेदभएकाहरु पनि बॉंचेर फर्किदिए कत्ति आनन्द हुन्थ्यो नी , है !  

Friday, June 12, 2020

बालुवाटार आन्दोलनमा जे देखें .....

म पत्रकारिता अध्ययन गरेको बिध्यार्थी, त्यसैले यो बिषयमा रुची राख्दछु । यही रुची अनुसार संचार क्षेत्रमा आवद्द धेरै ब्यक्तिहरुको संगतमा छु । मलाई खोज पत्रकारिता खुब मन पर्छ । वास्तविक घटनाको प्रतिबिम्बनै पत्रकारिताहो भन्ने मेरो बुझाईछ ।



हिजो, संचारकर्मी मित्र सागर श्रेष्ठ जी संग म बिहान ठीक ११:४५ बजे बालुवाटार पुगेको थिएँ । koviD-19 Nepal: Enough is Enough नामक फेसबुक पेज मार्फत जानकारीमा आए अनुरुप ११ बजे देखी बालुवाटारमा हुने भनिएको शान्तिपूर्ण आन्दोलनको प्रत्यक्ष्य अवलोकन गर्ने तिब्र इक्ष्याले मलाई तानेको थियो ।



हामी त्यहाँ पुग्दा करिव  २ सयको हाराहारिमा प्रदर्शनकारीहरु आफ्नो हातमा बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहित भौतिक दुरी कायम गरी सडकका दाँयाबाया उभिएका थिए । मुखमा मास्क लगाएका ति लामबद्द प्रदर्शनकारीहरुको आँखाहरुलाई नियाल्दै जाँदा मैले ति आँखाहरुमा युवा जोश पाएँ अनी जवान जाँगर । त्यहाँ ५० बर्ष कटेका ब्यक्तिहरुको उपस्थिती बिरलै थियो । पढेलेखेका जस्ता देखिने खाइलाग्दा ति प्रदर्शनकारीको हातममा देखिएका प्लेकार्डहरुमा भ्रस्टाचार बिरुद्दको आक्रोश, कोरोनाको कहरका बिच सरकारले गरेको कम्जोरीहरु प्रती बिरोध, राष्ट्रिय ढुकुटी मार्फत खर्च भएको रकमको पारदर्शी हिसाब किताबको माग अनी अनावश्यक सरकारी खर्च कटौतीको लागि सुझावहरु,  रङ्गीचङ्गी अक्षरमा लेखिएका थिए ।





काँधमा रेडियो बोकेर "यो मन त मेरो नेपाली हो बो" लको गीत घन्काउँदै आएका युवाहरुको जमात अनी  पर्खालको भित्तामा आडलागेर " गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ" बोलको गीत गुनगुनाउँदै बसेका युवाहरुको समुहहरुले बालुवाटारको रोडलाई राष्ट्रभक्तीको गीत सँगीतले सुमधुर बनाई दिएको थियो । त्यहाँ  उपस्थित कोही-कसैको हातमा नेकपा, काँग्रेश, रा.प्र.पा या जसपा मध्ये कुनै पनि  राजनैतीक दलको झन्डा थिएन, जस्को हातमा झण्डा थियो त्यो झण्डामा केवल चन्द्र र सुर्य अंकित थियो ।



प्रदर्शनकारीहरुको संख्या द्रुत गतीमा बढ्दै गयो , २०० सय बाट ५०० अनी त्यस पछी हजार हुँदै हजारौं । केश नफुलेका अनी अनुहार चाउरी नपरेका खाइलाग्दा युवायुवतीहरुको लाम बढ्दै गयो । पानीको फोहरा फाल्न तम्तयार दुईवटा बढेमानका सवारी साधनले प्रदर्शनकारीलाई स्वंयमता अपनाउन सावधानी गरिरहेझै लाग्दथ्यो । करीब १ सयको संख्यामा उपस्थित शसस्त्र प्रहरी बल र जनपथको दस्ताले प्रदर्शनकारीहरुलाई अनुशासित रहन साँकेतिक आग्रह गरिरहेझै प्रतित हुन्थ्यो  ।



केही युवाहरु सुरक्षाकर्मीहरुतिर  हेरेर " प्रहरी हाम्रो मामा हो हामी भान्जाभान्जी हौं " भन्दै "के भन्लिन हाम्री आमाले, कुट्यो रे भन्दा मामाले " भन्ने नारा लगाउँदै सुरक्षाकर्मीहरुलाई फकाउँदै र फुर्क्याउँदै थिए ।



त्यत्तिकैमा जनपथका एक जना डिएसपीले माइकिङ्ग गर्दै प्रदर्शनकारीहरुले आग्रह गरेअनुसारको समय सक्किएको र लकडाउनको नियम पालना नगरेको हुनाले अब सबैलाई घर फर्कन आग्रह गरे । त्यो आग्रहलाई नकार्दै केही प्रदर्शनकारीले सहभागीहरुको संख्या झन झन बड्दै गएको हुँदा  सुरक्षाकर्मीको घेरा केही खुकुलो पारी भौतिक दुरिलाई कायम गर्न प्रदर्शन स्थलको समय र स्थल बढाईदिन  अनुरोध गर्दै थिए तर ति डिएस पि ले 'अब अटेर गरे बल प्रयोग गर्ने' धम्कीपूर्ण वाक्य बोले । उनको यो धम्कीपूर्ण वाक्य पस्चात् केही युवाहरु उत्तेजित हुँदै 'प्रहरी दमन मुर्दावाद'को नारा लगाउन थाले । स्थिती तनावपूर्ण हुने अवस्था देखियो । त्यत्तिकैमा प्रदर्शनकारीहरुको भिडबाट एक जना युवा अगाडि बढेर सुरक्षाकर्मीको कमाण्ड सम्हालीरहेका डिएसपीलाई बल प्रयोग नगर्न आग्रह गर्दै बरु आफुले प्रदर्शनकारीहरुलाई स्वंयमित रहन आग्रह गर्ने भन्दै प्रहरीको माइक पक्रेर उनले सबैलाई शान्तिपुर्वक प्रदर्शन गर्न अनुरोध गरे । उनको आग्रहसंगै सहभागीहरु बीस्तारै पछाडि हट्दै थिए तर एक्कासी पानीको फोहोरा हान्ने सवारी अगाडि बढ्यो । पछाडि हट्दै गएको प्रदर्शनकारीहरुलाई तर्शाउँदै अगाडी बढेको त्यो सवारीसाधनले भाटभटेनी  पुगेको भिडमाथी पानीको बेग प्रहार गर्‍यो । केही प्रदर्शनकारी भुईमा लडे, कोही बेतोडले दौडन थाले अनी केही झन उग्ररुपमा सरकार र सुरक्षाकर्मी बिरुद्द नारावाजी गर्न थाले । एकैछिनमा स्थिती तनावपूर्ण बन्यो । सरक्षाकर्मिहरुले लखेट्दै गरेको त्यो भिडबाट मिनिरल वाटरको बोतल र ढुङ्गाका टुक्राहरु प्रहार हुन थाल्यो  । लखेटालखेट र भागाभागको बिच गैरीधारा जानेबाटोमा पुग्दा  प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले  अश्रुग्याँस प्रहार गर्‍यो ।

प्रहरीको लाममा मिसियर फोटो खिज्दै गरेको म बबुरोको आँखामा डल्ले खुर्सानीको धुलो छ्यापे जस्ताइ महसुस भयो । करीब ३  मिनेट मैले आँखा खोल्नै सकिनँ । मेरो आँखा अगाडि अन्धकार छायो । जसो तसो आँखा पुछ्दै समुन्नेको द्रुश्य नियाल्ने चेस्टा गरें । मेरा सामुन्य सुरक्षाकर्मिहरु पनि आँखाभरी आँशु पारेर नाडीले आँशु पुछ्दै गरेको द्रुश्य देखें ।


स्थिती केही शान्त बन्यो । प्रदर्शनकारीहरु तितरबितर भए । गल्ली र कुना काप्चामा पुगेका प्रदर्शनकारीहरुले  टाढैबाट नारा जुलुस गरिरहे । नाराजवाजीका क्रममा केही उत्तेजित र उग्र शब्दहरु पनि सुनिन थाल्यो ।

मैले त्यो प्रदर्शनको अगुवाई गरिरहने जस्ता देखिने केही युवाहरुसंग संवाद गरें । आगामी सनिवार माइतीघरमण्डलामा जम्मा हुन आग्रह गरिरहेका ति अगुवा युवाहरुलाई  " आजको प्रदर्शनको आयोजना र ब्यवस्थापन तपाईंहरुले गरेको हो ? " भन्ने प्रश्न गरें । उनिहरुले " यस्को आयोजक हामी सबै नेपालीले गरेको र कुनै एक ब्यक्ती वा संस्थाको संलग्नता नरहेको बताए । मलाई यो उत्तरले चित्त बुझेन मैले अझ प्रश्न गरे " आजको कार्यक्रमकोलागी कोही त होला आव्हानकर्ता ?" मेरो यो प्रश्न पस्चात् एकजना प्रदर्शनकारीले म प्रती आक्रोशित हुँदै प्रती प्रश्न गरे " तपाईं कुन पार्टीको हो, कस्ले पठाएको ? " मलाई यो प्रश्नले दिमाखको पारो ततायो । म चाहन्थें, आगामी दिनमा हुने प्रदर्शन झनै ब्यवस्थित, अनुशासित, मर्यादित र स्वंयमित होस् । म यही बिषयमा आयोजक वा आव्हानकर्ताको बिचार  बुझ्न चाहन्थें र आज देखिएका त्रुटीहरुलाई संच्याउनका निमित्त के के योजना गर्न सकिन्छ त्यो बारे भलाकुसारी गर्न चाहन्थें । तर त्यसो हुन सकेन । एक्कासी म माथिनै आरोप मिश्रित प्रतिप्रश्न तेर्सियो । तर म आक्रोसीत भईँन ।


तातो घामको पर्वाह नगरी स्वत:स्फुर्त रुपमा आएका सहभागीहरुको बिचमा कसैले घुसपैठ नगरोस् । प्रगतीशिल नाराहरुको बिचमा उच्छिङ्कल शब्दहरु नजोडीयोस् ।   ब्यक्तिगत वा राजनैतीक स्वार्थ बोकेर आएका दुइचार जना स्वार्थीहरुले देश बिकासको स्वच्छ सोच लिएर आएकाहरुको भावनामाथी खेल्ने मौका नपाउन् भन्ने हो । यस्का लागि ब्यवस्थापकिय पक्ष चुस्त र दुरुस्त हुनु जरुरी छ । कोरोनाको कहरका बेला आयोजित यस्ता कार्यक्रममा उपस्थित प्रदर्शनकारीहरुको स्वास्थ्य प्रती  अझ बढी सचेत हुँदै सोही अनुसारको ब्यवस्थापन हुनु अतीआवश्यक देखेको छु । स्वच्छ सोच बोकेका समुहभित्र खराब मानसिकताहरुको प्रबेशमा रोक लगाउनका निमित्त चनाखो भईएन भने शान्तीपूर्ण भनिएको आन्दोलनले हिंश्रक रुप लिन बेर लाग्दैन । जस्का कारण मानविय क्षती पुग्न सक्छ । दुरद्रुस्टी, साझा सोच र सामुहिक कदम बिनाको कुनै पनि आन्दोलन कहिल्यै सफल हुँदैन । यसर्थ : मेरो एउटै सुझाव , कृपया ब्यवस्थापक खोज्नु भन्दा आफ्नो ब्यवस्थापनका निमित्त आँफै तम्तयार भई मर्यादित, अनुशासित र स्वयंमित बन्दै वर्तमान बिसंगतीको बिरुद्द खबरदारी गर्न अग्रसर रहौं । अबको आन्दोलन कुनै राजनैतीक दलको झन्डामुनी बसेर होइन, नेपालको झन्डाको ओत लागेर गर्नु पर्दछ । सबै राजनितिक दलमा भएका भ्रस्ट, दलाल र दृृृष्टहरुको मुटुमा डरको बास गराउनको निमित्त युवाशक्ती जुर्मुराउनै पर्छ ।



जय देश ।     

Tuesday, February 25, 2020

शिवरात्रीमा महादेब मन्दिरको भब्य उद्घाटन


सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका वडा नं ६ थुम्पाखरमा नवनिर्मित महादेब मन्दिरको भब्य उद्घाटन गरिएको छ । गत सुक्रवार महाशिवरात्रीको अवसर पारेर  गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसीको प्रमुख आतिथ्यता तथा वडा प्रमुख रामकुमार थापाको बिशेष आतिथ्यतामा नवनिर्मित टंकेश्वर महादेब मन्दिरको उद्घाटन गरिएको हो । १३ बर्ष अगाडि निर्मित सो मन्दिर २०७२ सालको भुकम्पले ध्वस्त बनाएपछी गाउँपालिकाको आर्थिक सहयोगमा पुनर्निमाण गरिएको हो  ।


मन्दिरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख श्रवण 
जिसीले आफ्नो गाउँपालिकाका सबै जसो धार्मिक सम्पदाहरुको निर्माण सकिसकेको बताउनु भयो । सिन्धुपाल्चोक जिल्लाभित्रका गाउँपालिका मध्ये सुनकोशी गाउँपालिकालाई उत्कृष्ट गाउँपालिकाको रुपमा स्थापित गर्न बिभिन्न नयाँ योजनाहरुलाई आत्मसाथ गरेको बताउँदै स्थानिय धार्मिक क्षेत्रहरुको संरक्षणमा समेत बिशेष योजना रहेको बताउनु भयो । वडा नं ६ का अध्यक्ष राम कुमार थापाले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो वडा भित्र ७ वटा मन्दिर निर्माण भईसकेको जानकारी दिनु भएको थियो । बिकासका बिरोधिहरुले बिभिन्न बाधा उत्पन्न गराएर बिकासको कार्यक्रमहरुलाई लागु गर्न समस्या उत्पन्न गराइरहेको बताउँदै अध्यक्ष थापाले त्यस्ता बिकास बिरोधी तत्वहरुलाई पाखा लगाएर समग्र वडाको बिकास, प्रगती र उन्नतिको निमित्त ज्यान दिएर काम गरिरहेको बताउनु भयो ।


कार्यक्रममा निर्माण समितीले गुणस्तरीय कार्य गर्दै समयमामै मन्दिर निर्माण सम्पन्न गरे अनुरुप निर्माण समितिका अध्यक्ष राम शरण कार्कीलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । टंकेश्वर महादेब मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष लाल बहादुर कार्कीले आफ्नो गाउँपालिकाले बिकास प्रेमी युवा  जनप्रतिनिधीहरु पाएकोमा खुशी ब्यक्त गर्दै बिगतका दिनमा भन्दा अहिले बिकासको कार्यले तिब्रता पाएको बताउनु भयो । कार्यक्रमका अवसरमा मन्दिर ब्यवस्थापनको लागि सहयोग ग्रदान गर्ने बिभिन्न दाताहरुलाई कदर पत्रद्वारा सम्मान समेत गरिएको थियो ।

Monday, February 3, 2020

"एकाउण्ट क्लोज"

मेरा केही मित्रहरु ' पैसा 'लाई प्राथमिकता दिन्छन् र मलाई पनि पैसा कमाउने उपाएहरु ' नि:शुल्क' रुपमा प्रदान गर्छन् ।
 "संधै सुकुम्बासी भएर जीवन चल्दैन यार , स्ट्याण्डर्ड बढाउनु पर्‍यो ।"
मलाई मुद्रालुप्त  मनुवाहरुको यस्ता निच सोच सुनेरै वाक्क लाग्छ । कसैको अगाडि भिख माग्न नपरोस अनी कोही कसैलाई आवश्यक परेको बेलामा धेर थोर सहयोग गर्न सकियोस , बस यत्ती भए सन्तुस्ट हुन्छु म । अकुत पैसा कमाउन इमान्दारिता बेच्नै पर्छ । इमान्दारिता बेचेर कमाएको पैसाले कस्तो स्ट्याण्डर्ड तयार होला ? इमान धितो राखेर कमाएको पैसाले निन्द्रा देला कि नदेला ? सुख चैन अनी आत्म सन्तुष्टी मिल्ला कि नमिल्ला ?

मलाई पनि कहिले काहीँ अभावले घेर्छ । अभावको बेलामा स्वाभाविक रुपमा  म अलिक अत्तालिन्छु । त्यो बेला मस्तिस्कले भन्छ, पैसा त कमाउनै पर्ने रहेछ । तर कसरी ? पैसा कमाउने बाटोहरु प्रसस्तै छन् तर ति बाटोहरुमा धोका, स्वार्थ, बेईमानी, धुर्त्याई र चतुर्‍याई जस्ता अनगिन्ती स्वभावहरु छरिएर बसेका छन् अनी यि स्वभावहरुलाई ग्रहण गर्न सके मात्रा धन-सम्पत्ती बटुल्न सकिन्छ नत्र हात लाग्यो सुन्य ! मस्तिस्कले पैसा कमाउनको लागि घचघच्याई रहँदा मेरो मनले भने मान्दै मान्दैन । अन्तत: मस्तिस्कको हार हुन्छ अनी मनकै जित हुन्छ ।


जिन्दगीमा आई पर्ने सबै समस्याहरु "सम्पत्ती"लेमात्र समाधान हुँदैनन् । हाम्रो सत्कर्म र सुबिचारले पनि हाम्रा समस्याहरुलाई स्वत: पाखा लगाइ दिन्छन् । नपत्याए यो नैतीक कथा सुन्नुस् है त,

कुनै एक ठाउँमा एक जना बरिष्ठ  बैद्य थिए । जो निक्कै कम दाममा बिरामीको औषधोपचार गरीदिन्थे । श्रीमती र जवान छोरी सहित ३ जनाको परिवारमा धेरै ठुलो आवश्यकता थिएन । उच्च  लोभ , लालच र चाहना थिएन  । त्यसैले पनि बैद्यको परिवार खुशी थियो । सस्तो मुल्यमै बिरामीको सेवाबाट परिवार धान्ने कमाइ हुन्थ्यो । उनिहरु यसैमा खुशी थिए ।

हरेक दिन बैद्यकी पत्नीले बैद्यलाई आवश्यक घरायसी  सामाग्री र तिनको लागि आवश्यक रकम को लिखित बिवरण तयार गरिदिन्थिन् । त्यो बिवरण हेरेर बैद्य आफ्नो बैद्यखानामा जान्थे र सोही अनुसार बिरामीबाट थोरै शुल्क लिंदै बिरामीको उपचार गर्थे । जब पत्निले दिएको सामाग्री र त्यसको लागि आवश्यक रकम अनुसारको रकम जम्मा हुन्थ्यो तब उनी "एकाउण्ट क्लोज " भन्दै बाँकी बिरामीलाई निशुल्क उपचार गरिदिन्थें । आवश्यकता भन्दा बढी कमाउनु पर्छ र भोलिको लागि जम्मा गर्नु पर्छ भन्ने उनको सोच थिएन । उनी भन्थे" नदेखेको भोलीलाई सोचेर आजै चिन्ताको भारी किन बोक्ने ?"

दिन यसरीनै बित्दै थियो । बैद्यको काम र नाम चारैतिर फैंलदै गयो ।

एक दिन सदाझै बैद्यकी पत्नीले उनलाई आवश्यक सामाग्रीको बिवरण दिईन् । बिगत र आजको लिस्टमा धेरै फरक बिवरण थियो । घरायसी  सामाग्री बाहेक आजको लिस्टमा केही तोला सुन, लत्ता कपडा र अन्य बैवाहिक सामाग्रीहरुको बिवरण थिए । उनले आफ्नी श्रीमतिलाई यस्को बारेमा सोधे । श्रीमतीले छोरी जवान भएकी र यथासिघ्र छोरीको कन्यादान गर्न यो सामाग्रीको ब्यवस्थापनका निमित्त आजै देखी लाग्नु पर्ने बताईन । भविश्यलाई भगवानको भरोशामा छोडिदिने बैद्यले श्रीमतीले माग गरेको विवाह सामाग्रीमा रातो कलमले घेरा लगाए अनी  "यो सामानको ब्यवस्थापन भगवानले गरीदेलान् " भनी लेखेर छोडिदिए ।

त्यो दिन पनि बैधले संधैझै थोरै रकम लिएर  बिरामीको औषधोपचारमा खटिरहेका थिए । बिरामीहरुको भिड ठुलो थियो, त्यही भिडबाट एक जना सज्जन ब्यक्ती उनको सामु उभिए ।
"तपाईंलाई के समस्या छ ? "बैद्यले सोधे ।
"मलाई केही समस्या छैन, म तपाईंलाई एउटा बिन्ती बिसाउन आएको " ति सज्जनले भने ।
"कस्तो बिन्ती " बैद्यले सोधे
"शायद तपाईंले मलाई चिन्नु भएन, करिव १८ बर्ष अगाडि म मेरो ७ बर्शिय बिरामी छोरोलाई लिएर तपाईंकोमा उपचार गर्न आएको थिएँ । त्यसबेला म  आर्थिक रुपले बिपन्न थिएँ, डाक्टर देखाउने पैसा थिएन । त्यसैले तपाईंकोमा आएको थिएँ । तपाईंले म भन्दा अगाडिको बिरामीलाई केही रकम लिएर उपचार गरे पछी  'एकाउण्ट क्लोज 'भन्दै मेरो छोरालाई नि:शुल्क उपचार गरिदिनु भएको थियो । तपाईंको उपचार पस्चात् मेरो छोरा निको भयो । अहिले उ अमेरिकामा इन्जिनियर भएको छ, आफ्नै घर जग्गा जोड्नुका साथै राम्रो नाम कमाएको छ।"  बोल्दा बोल्दै ति सज्जनको बोली रोक्कियो ।

" अनी के भयो " बैद्यले सोधे ।

"अहिले मेरो छोरो नेपाल आएको छ, विवाह को लागि । नेपाली केटीसंगै बिहे गर्छु भन्छ ।" उनी बोल्दै गए " म छोरोको उपचारको लागि आउँदा तपाईंको छोरी चकलेटको लागि झगडा गरिरहेको देखेथें । अहिले त उनी बिहेको लायक भईन होली भनेर मेरो छोराको लागि उनको हात माग्ने शाहस बोकेर आएको छु , हजुरको आज्ञा भए आभारी हुने थिएँ । "

ति सज्जन ब्यक्तिको कुरा सुनेर बैधलाई श्रीमतीले आज बिहान दिएको सामाग्रीको बिवरण याद आयो । उनले मलिन हुंदै भने " छोरीको बिहे गर्ने सोचमा त म पनि हो तर बिहेको लागि आवश्यक गरगहना र सामाग्रीको जोहो मसंग छैन"

बैधको यो कुरा सुनेर ति सज्जनले भने " ए हजुर, मलाई तपाईंको छोरी भए पुग्छ, एक सर्को लुगामा तपाईंको छोरी बिदाइ गरिदिए हुन्छ अन्य सामाग्रीको ब्यवस्थापन हामीहरुलेनै गरिसकेका छौ, तपाईं जस्ता महान ब्यक्तिको छोरी हाम्रो घरमा भित्रिनुनै हाम्रो लागि अनमोल रत्न भित्रिए झै भयो, चिन्ता नलिनुस्"

सज्जनको मुखबाट यो वाक्य सुन्नासाथ बैद्यको आँखाबाट आँशु रसायो । रसाएका आँखाले बिरामीहरुको भिड तिर नजर लगाए । त्यहाँ अझै धेरै बिरामीहरु लाम बद्द थिए ।  उनले केही बोल्न खोजे तर गला अवरुद्द भयो । अबरुद्द गलाबाट केवल एउटा वाक्य निकाले " एकाउण्ट क्लोज"

मित्रहरु, इन्टरनेटको माध्यमबाट प्राप्त गरेको यो कथाले सत्कर्म गर्नको निमित्त मलाई पनि केही उर्जा र हौसला मिलेकोछ । सत्कर्म को प्रभावले जिन्दगीको भावी दिनलाई पनि सहज बनाइदिन्छ । तर भोलीलाई सहज बनाउने बहानामा आजै दुस्कर्म गर्न थालियो भने त्यही दुश्कर्मले भोलिको दिनलाई धमिल्याइदिन सक्छ । यसर्थ : बिचार  गरौं । उच्चमहत्वकाँक्षा अनी लोभ लालचले कोही कसैलाई फाईदा गर्दैन ।

धन्यवाद ।     



          

Sunday, January 12, 2020

"म जागिर खाँदिन "

लामो अन्तराल पस्चात भेट भएका आफन्त तथा मित्रजनको प्रश्न हुन्छ " जागिर कहाँ छ ?"
मेरो उत्तर हुन्छ " म जागिर गर्दिनँ, काम गर्छु । "
मेरो उत्तर धेरै कम ब्यक्तिले मात्र बुझ्छन् ।

१३ बर्षअगाडी, अहिलेका अख्तियार प्रमुख नबिन घिमिरे ज्यु बिरगन्जको सिडीयो हुनुहुन्थ्यो । म लुमन्ती नामक संस्थामा कार्यरत थिएँ । नबिन सरसंग भेट हुँदा उहाँको मुखबाट प्राय म एउटा वाक्य सुन्थें " म जागिर खान होइन, काम गर्न आएको हुँ । " उबेला मलाई यो वाक्यको शाब्दिक अर्थ उत्ती थाहा थिएन । म त जागिरकै शिलशिलामा बिरगन्ज पुगेको थिएँ । म जागिरे ठिटो , जागिर खान्थें अनी मासिक रुपमा तलब  बुझ्थें । तर नबिन सरसंगको छोटो संगतमा मैले जागिर र काम बिचको फरक थाहा पाएँ ।

मैले जबदेखी  जागिर र काम को महत्व बुझें तबदेखी जागिर छोडेर काम गर्न थालें । काम गर्नुमा जती मजा छ, जागिर खानुमा त्यो मजा छैन । यो मजा लिनको लागि जागिर र कामको महत्व बुझ्न् सक्नुपर्दछ । 

प्रयास: जागिरेहरुको  एउटै अनुरोध हुन्छ  "कृपया अफिस टाईम पछी कल (फोन) नगरिदिनु होला है ।" यो अनुरोध भित्र  जागिरेपन को महसुस गर्न सकिन्छ । किनकी जागिर गर्नेले TIME लाई महत्व दिन्छन तर काम गर्नेले समयलाई होइन TASK लाई बढी महत्व दिन्छन । जागिरेहरु Time management  मा बढी ध्यान दिने गर्छन् तर कामगर्नेहरु Task Management मा  ध्यान दिन्छन ।

१०- ५  को जागिर गर्न पल्केकाहरु क्यालेण्डर पल्टाउँदै रातो अक्षर अंकित  मितिहरु खोजिरहेका हुन्छन भने  काम गर्नेहरु, टार्गेट पुरा गर्ने मितीमा आफ्नै हातले रातो घेरा लगाई रहेका हुन्छन् । जागिर गर्नेहरु तलबको प्रतिक्षामा ब्यग्र भएर  महिनाको अन्तिम दिन कुरेर बसेका हुन्छन् तर काम गर्नेहरु महिना नमरीदिए हुन्थ्यो भन्ने कामना गरिरहेका हुन्छन ।

जब मान्छेलाई काम गर्ने लत बस्छ तब उस्ले केही काम पाएन भने बौलाउँछ तर जस्ले जागिर  गर्छ उस्लाई जिम्मेवारीनै  बोझ  लाग्न थाल्छ। काम गर्नेले कर्मलाईनै धर्म ठान्छ र आफ्नो जिम्मेवारी वहन गर्नमै मन लगाउँछ तर  जागिर गर्नेले आफ्नो हाकिमलाइनै देउता सम्झेर आफ्नो देउता रिझाउनमा बढी समय खर्चिन्छ । म देउता रिझाउनेहरुमा परिनँ । देउता बन्न चाहनेहरु मसंग रिसाउनुको कारण यो पनि एउटा हो ।

मलाई अन्तर्कृयात्मक  (Interactive) शैली मन पर्छ  न कि एकाङ्की ( Talkative) शैली । म मा,  सुन्न सक्ने धैर्यता छ अनी बोल्ने सक्ने कला पनि । म सुन्छु र त अर्काको  दु:ख, पिंडा र मर्म बुझ्छु । मलाई अरुको दु:ख , पिंडा र समस्यामा सल्लाह (Suggestion) दिनु भन्दा पनि साथ (Company)  दिन मन पर्छ

   काम गर्ने मान्छेहरुले आफ्नै कर्मलाई हाकिम मान्छन र पुज्ने गर्छन् , त्यसैले म आफ्नो कामलाईनै आफ्नो हाकिम मान्छु ।  यदी म,  मानवरुपी अनुहारलाई हाकिम मान्दिन भने मलाई कसैको 'जी हजुरी ' गर्दै  पाउ मोल्न पर्ने आवश्यकता पर्दैन । मलाई कसैको चम्चागिरी गरिरहनु पर्ने हुँदैन । जस्लाई कर्म प्रतिको मोह छ उस्लाई जागिर पाउने र गुमाउने डर हुँदैन । अनी जब डर हुँदैन त्यहा जालझेल अनी स्वार्थको खेल पनि हुँदैन । जस्लाई जागिर जाने डर हुन्छ, उस्लेनै चकडीको साहरा लिन्छ ।

जागिरेहरु रिटायर्ड हुन्छन् तर काम गर्नेहरु जीवनको अन्तिम पलसम्म कामनै गरिरहेका हुन्छन् - कहिल्यै रिटायर्ड हुँदैनन्   ।  म जब  सरकारी सेवाबाट अवकास लिएका ब्यक्तिहरुलाई  कुनैनै कुनै काममा ब्यस्त भएको  देख्छु तब ति ब्यक्तिहरुलाई श्रद्दा र सम्मानकासाथ 'नमन ' गर्न मन लाग्छ किनकी उनिहरु जागिरे होइनन -कामदार हुन् । काम गर्नेको 'पद' ले मात्र अवकास पाउँछ- मन र मस्तिस्कले होइन ।

मलाई जतिखेर जागिर गरेको महसुस गराउन खोजिन्छ त्यतिखेर मलाई त्यो जागिर छोड्नमा एक सेकेण्ड पनि लाग्दैन । मैले जागिरबाट राजिनामा दिनलाई रत्तिपनी समय नलगाएको उदाहरण मसंग प्रसस्त छन ।

काम गर्ने मान्छेले दिन र रात हेर्दैन  , बिदा भन्दैन,  चाड पर्वको महत्व राख्दैन । म ,मेरा सहकर्मीहरुलाई भन्ने गर्छु, सनिवारको दिन छुट्टीमा बस्नै पर्छ भन्ने छैन अनी आईतवार या सोमबार अफिस आउनै  पर्छ भन्ने पनि छैन । किनकी आफ्नो काँधको जिम्मेवारीलाई आफुले महसुस गर्ने कुरा हो । १०- ५ भित्र पुरा गर्नु पर्ने जिम्मेवारी २ घण्टामै पुरा हुन्छ भने बाँकी समय आफ्नो लागि प्रयोग गर्दामा केही फरक पर्दैन । किनकी , म HARD WORK होइन HEART  WORK मन पराउँछु । 


मलाई माथिको आदेश वा  निर्देशन मात्र पर्खने र आफ्नो कला कौसलता प्रयोग नगर्ने 'लद्दुहरु'देखी दिक्क लाग्छ । हाकिमले  भनेकै मान्नु पर्छ र उस्ले अर्‍हाएकै जस्तो गर्नु पर्छ भन्ने मानसिकता बोकेका जागिरेहरु देख्दा उदेक लागेर आउँछ । आफ्नो सृजना, कला र कौसलताको सम्म्रिश्रण गरेर उही कामलाई पनि फरक बनाउन सकिन्छ भन्ने सोच जागिरेहरुमा नहुने रहेछ । किनकी रिमोटको ईशारामा चल्ने रोबोटको मन हुँदैन न त मस्तिस्कनै हुन्छ । 'Winners don't do different things. They do things differently,' भन्ने प्रसिद्द भारतीय लेखक शिब खेडाको भनाइ मलाई खुब मन पर्छ । जुन जागिरेहरुलाई मन पर्दैन ।


मलाई चिप्लो घस्ने-चिप्ले, कुरा लगाउने कुरौटे, खुशी बनाउन खोज्ने-धुपौरे अनी जुताको तलुवा चाट्ने 'चटौते'हरु रत्ती पनि मन पर्दैनन । पद र पदवी पाउने लालसा बोकेकेका जागिरेहरुले हात मोल्न, कुरा लाउन, कुरा काट्न, कुराकै ओसार पसार गर्न र कुराकै ब्यापार गर्न बाहेक केही जानेका हुँदैनन् । अत : कुरौटे, धुपौरे, चटौते, दहीचिउरे र चम्चेपनाको गुण भएकाहरुलाई जागिरे भनिंदो रहेछ ।  त्यसैले म भन्छु, म जागिर गर्ने जागिरे होइन, म त  काम गर्ने कामदार हुँ । म जागिर गरेर तलब बुझ्दिनँ, परिश्रम गरेर पारिश्रमिक बुझ्छु । त्यसैले  पद र पारिश्रमिकको लोभी 'जागीरे ' भनौदाहरुसंगको संगत मलाई असहज लाग्छ । काम गर्ने कमिलाहरुको ताँती मन पर्ने म बबुरोलाई, जागिर गर्ने ब्वाँसाहरुको भिडमा उभिँदा आफुमा पनि ब्वाँसोको गुण सर्नेहो कि भन्ने डरले गाँजीरहन्छ । त्यसैले म त्यस्ता ब्वाँसाहरुको संगतबाट टाढै रहन मन पराउँछु ।

अन्तमा: म सबै पेशा र कार्यमा संलग्न 'जागिरे'हरुलाई 'कामदार'को रुपमा काम गर्नको लागि आव्हान गर्दछु । जुन दिन 'जागिरे' चस्मा फुकालेर आफुलाई कामदारको रुपमा हेर्न थालिन्छ, काम गर्नुको मज्जा त्यहीबाट सुरु हुन्छ ।
अन्तमा:: जागिर गर्नेहरु समयको बहावसंगै बिलिन भएर जान्छन् तर कर्म गर्ने 'कर्मबिर' हरु युग युगान्तर बाँचिरहन्छन ।

अत: काम गरौ, जागिर होइन ।

********************
यज्ञराज कार्की
काठमाडौ



 

  

Friday, June 7, 2019

जस्ले मृत्युलाई छल्न चाह्न्थ्यो

माइकल ज्याक्सन १५० बर्ष सम्म बाँच्न चाहन्थे । उनी कसैसंग हात मिलाउँदा पनि पन्जाको प्रयोग गर्थे, भिडमा जाँदा माक्स को प्रयोग गर्थे । आफ्नो स्वास्थ्य को रेखदेखको लागी १२ जना डाक्टर घरमै राखेका थिए जस्ले शिरको कपाल देखी पाउको नङ्ग सम्म दैनिक चेकजाँच गर्थे । उनको हरेक खानाको ल्याब परिक्षण हुन्थ्यो अनि मात्र उनलाई खान दिइन्थ्यो । दैनिक ब्यायम
गराउनको निमित्त १५ जना प्रसिक्षक पालेका थिए ।  उनी कालो बर्गका हप्सी मुलका थिए त्यसैले सन १९८७ मा आफु गोर्‍हो देखिन प्लास्टिक सर्जरी गरे । आफ्नो काला बर्णका आमा बुवा त्यागेर गोरो बर्णका आमाबुवा भाडामा लिए । आफ्ना काला बर्णका साथी संगती पनि त्यागी दिए । गोरो बर्णकै केटी  बिवाह गरे । जस्ले १९९७ मा प्रीन्स जुनियर माइकल र सन १९९८ मा पेरीस माइकल क्याथरिनलाई जन्म दिइन । आफुलाई १५० बर्षसम्म जिवित राख्ने लक्ष लिएका माइकल ज्याक्सनले आफुलाई आवस्यक पर्दा आँखा , मुटु , मृगौला देखी अन्य अंग दान दिने ब्यक्तिहरु पनि तयार गरेर राखेका थिए । जस्लाई खानपान देखी राम्रो पैसाको ब्यवस्था समेत गरिएको थियो । तर , ज्याक्सन ५० बर्ष नजिक पुग्दानै उनको शरिरमा नजानिदो पिंडा बढ्न थाल्यो । सर्जरीका कारण अनेक रोगहरुले ग्रस्त बनाउँदै लाग्यो । २५ जुन २००९ का दिनमा शहरका सबै डाक्टर उनको घरमा जम्मा हुँदा पनि उनलाई बचाउन सकेक्नन र अन्तमा उनले सदा सदाको लागी संसारबाट बिदा लिए । जस्ले आफ्नो उमेरको २५ बर्षसम्म  डाक्टरको सल्लाह बिना केहि कार्य गरेनन अनि २० बर्षसम्म शारिरिक ब्यायमलाई निरन्तरता दिए ति ब्यक्तिले पालेका अङ्गदान गर्ने दाताहरुको कुनै अङ्ग पनी उनलाई काम लाग्ने अवस्थामा भएनन । उनको मृत्युलाई कसैले रोक्न सकेन ।
 माइकल ज्याक्सनको सव यात्रालाई २ अर्व भन्दा बढी ब्यक्तिले प्रत्यक्ष्य प्रसारण मार्फत हेरेका थिए । त्यही दिन ८  लाख बढिले गुगल मार्फत एकै पटक माइकल ज्याक्सनलाई सर्च गर्दा गुगलमा साँढे दुई घण्टा ट्राफिक जाम भएको थियो । बिस्व इतिहाँसमा हाल सम्म यस्तो कहिल्यै पनि भएको थिएन । अत : जस्ले मृत्युलाई पैसाको बलमा छल्ने कोसिस गरिरह्यो अन्तत : उस्लाई मृत्युलेनै छल गर्‍यो । उस्ले कमाएको अरबौ सम्पत्तिले उस्लाई बचाउन सकेन । उ संसारमा रित्तो हात आएको थियो , नाङ्गै भएर विलिन भयो , माटो मुनी । त्यसैले माइकल ज्याक्सनबाट पाठ सिक्नुहोस , आज लाख र करोड कमाएको छु भन्दैमा मृत्युलाई जित्न सक्ने अहम नपाल्नुहोस । मान्छेले पैसा कमाउने हो , पैसाले मान्छे कमाउने होईन । जस्ले पैसाले मान्छे कमाउँछु भन्ने सोच लिएको छ त्यो ब्यक्तिले कमाएको मान्छे, उसँग पैसा छउन्जेल सम्मको लागी मात्र हो । कुरा बुझियो त ! 

Thursday, June 6, 2019

"द्वारिका ! तिमी पागल हौ "


भ्रस्टहरुको नजरमा इमान्दार ब्यक्तीहरु संधै घमण्डी , टेढो र रुखो स्वभावको देखिन्छन । इमान्दार मान्छेहरु हक्की स्वभावका हुन्छन । चिप्लो घस्न नजान्ने ब्यक्ती 'रुखो' हुनु , पैसामा नबिक्ने मान्छे 'घमण्डी' हुनु अनि कसैको अगाडी शिर नझुकाउने मान्छे 'टेढो'देखिनु कुनै नौलो कुरा होईन । जस्लाई पद र पैसाको लोभ हुन्छ त्यस्लाई मात्र डर हुन्छ , त्यस्तालेनै चाप्लुसी घस्छन र त्यस्तै ब्यक्ती मिलनसार जस्ता देखिन्छन । इटहरीका मेयर द्वारिकालाल चौधरी एक इमान्दार छविका ब्यक्ती हुन भन्ने कुरा उनका विगतबाट पुस्टी हुन्छ । नेकपाका सकृय र इमान्दार कार्यकर्ताको रुपमा परिचय बनाएका चौधरीले मेयरको जिम्मेवारी निर्वाह गरेपस्चात इटहरीवासीको मन जित्न सफल जनप्रतीनिधिको रुपमा आफुलाई चिनाईसकेका छन । जनताको घर घरमा पुगेर पिरमर्का बुझ्ने मात्र होईन जनताको चाहना अनुसारको कार्यक्रमहरुलाई लागु गर्न उनि आफै मरिमेटेर लाग्ने गर्छन । 'सुन्य सहनशीलता' को सिद्दान्त अनुसार कार्य गर्न आफु मतहातका कर्मचारीहरुलाई चनाखो बनाएका मेयर भ्रस्टहरु प्रती निक्कै आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन ।


"न खान्छु, न त खानै दिन्छु " भन्ने उनको कठोर सिद्दान्तलाई मन नपराउने धेरै छन । भ्रस्टाचारको मह काट्दै अनि चाट्दै गरेका 'चाटुकारहरु' को आँखाका कसिंगर बनेका चौधरीलाई जसरी भए पनि बदनाम गराउने पक्षमा एउटा झुन्ड बढो मेहनतका साथ लागी परेका छन । नगरपालीका भित्रकै केहि 'अल्छे' अनि 'कामचोर' प्रवित्तिका पात्रहरुको टाउको दुखाई भनेकै चौधरी हुन ।
मैले यसरी द्वारिकालाल चौधरीका बिसयमा लेखिरहँदा एउटा झुण्डले  मलाई नेकपा को 'भरौटे'को बात लगाउन बेर छैन । जन्मजातै पण्डितले न्वारणमा नामांकरण गरिदिंदा नाम मात्रै होईन कुनै एक राजनैतिक दलको नाम समेत जोडी दिएझै कुनै एक पार्टिको टिका लगाएका राजनैतिक अतिवादीहरुको आँखामा 'म' कुनै एक पार्टिको भरौटे, धुपौरे र आसेपासे देखिनु के नै नया भयो र ?
मैले अहिलेका भाइरल मेयरको बारेमा लेख्नुपुर्व इटहरी निवासी केहि पत्रकार मित्रहरुसंग मात्र होईन त्यहाँका स्थानिय वासिहरुसंग पनि सामाजिक संजालको माध्यमबाट कुरा गरेको थिएँ । मैले मेयरको बारेमा सोधिरहँदा उहाहरुको एउटै उत्तर पाएँ "मेयर निक्कै आक्रामक छन तर भ्रस्टहरु प्रती"
        सि.एफ.एल. खरिद प्रकरणमा करोडौ रकम हिनामिना गर्ने कर्मचारी र तीनको पक्षमा बोल्ने पत्रकारलाई 'नाकको डाँडी फुटाउने' मेयर चौधरीको धम्की प्रती अपत्ती जनाउने पटमुर्खहरुको जमातलाई पनि त्यही लाईनमा राखेर उडि उडि , घुमी घुमी , नाकको नाथ्री फुट्ने गरी 'किक' हान्ने मन त मलाई पनि लागेको छ । मौका को पर्खाइमा छु ।
    भ्रस्ट , दलाल , सामन्ती र शोसकीहरुको अगाडी जव प्रशासन निरिह देखिन्छ त्यत्तिबेला जनता नजागे को जाग्ने ? 'लातोंका भुत बातो से नही मानता " भने झै जस्ले जे भाशा बुझ्छ त्यही भाशा प्रयोग गरेर सम्झाउनु त पर्छ नै । मेयर चौधरीले पनि मान्छे अनुसारको ब्यवहार र भाशा प्रयोग गरेर बुझाउने कोशीस गरेका रहेछन । तर एउटा झुण्ड भन्दैछ :
"मेयर को बोली रुखो भयो "
"मेयरको प्रस्तुतिकरण ठीक भएन "
" मेयर उग्र भए "
       भ्रस्ट कर्मचारी र चाप्लुसिवाज पत्रकारहरु प्रती नरम ब्यवहार गर्नु पर्छ भन्ने लठुवाहरुको जवाफमा मेयर चौधरि भन्छन
"म ठकुरी होईन, आइस्यो र खाइस्यो जान्दिन , थारुको सन्तान हुँ , श्रीमतिले 'भात घिच्न आइज' भनेको पनि राम्रो लाग्छ ।"
भ्रस्टहरुलाई सिध्याएरै छोड्ने प्रण बोकेका मेयर चैधरीको कदमलाई सामाजिक संजालामा सकारात्मक कदमको रुपमा संज्ञा दिने अधिकाँस प्रतिकृयाहरु प्राप्त हुनुले पनि आम जनताहरु पनि भ्रस्टहरु प्रती कुनै साहनुभुती राख्न नहुने लाईनमा खडा भएको दर्शाउँछ । लोकप्रिय पत्रकार रबी लामिछानेको फेसबुकमा पोस्ट गरिएको मेयर चौधरि संगको प्रत्यक्ष्य कुराकानी को भिडियोमा यतीखेरसम्म ९६० जनाले प्रतिकृया प्रेशित गरेका छन जस्मा ९० प्रतिशत प्रतिकृयाहरु मेयर चौधरीकै पक्षमा देखिन्छन ।
        त्यस्तै इ-कान्तिपुरले चौधरी बिरुद्द प्रकासित गरेको 'मेयरको मनोमानी' शिर्सकको समाचारको पुछरमा कान्तिपुर बिरुद्दनै खनिएका पाठकहरुको प्रतिकृया हेर्ने हो भने पनि मेयरको कदम गलत हो कि सही भन्ने पुस्टी हुन्छ ।
       जनता भन्दा ठुलो अरु निकाय कोही छैन भन्ने मेरो धारणा हो जनताको चाहना बमोजिम जनप्रती निधिले काम गर्ने हो । अहिले मेयर चौधरीको पक्षमा उभिएको जनलहर ले भन्दैछ " यस्तै सन्काहा" मेयर चाहियो ।
      काठमाडौका हाम्रा मेयर कुन दुलामा हुनुहुन्छ कुन्नी ! आफ्नै दल भित्र रहेका यि 'सन्काहा' मेयरबाट यिनले पनि पाठ सिक्न सके काठमाडौ भित्रका भ्रस्टहरुले पनि आफ्नो नाक जोगाउने मेसोमा लाग्ने थिए होलान ।
अत: घुसखोरी , भ्रस्टाचार , ढिलासुस्ती जस्ता ब्यथितिले अक्रान्त बनेको सरकारी निकायहरुमा सुशासन को आशा गर्ने हामी जस्ता आम जनताले मेयर चौधरी जस्ता अन्य १ दर्जन जती "पागल" र "सन्काहा"हरुलाई जनप्रतीनिधिको रुपमा विजयी गराउन नसक्नु हाम्रै गल्ती हो ! खैर केहि छैन , अबको ३ बर्ष पछी यस्ता पागल र सन्कीहरुको संख्या बढाउने अर्को सु-अवसरको पर्खाइमा छु । मेरो एक भोट मेयर चौधरी जस्ताको लागी संरक्षित छ , तपाईहरुको नि !

यज्ञराज कार्की 
नयाबानेश्वर ,काठ्माडौ 
संपर्क : ९८४३६८८६४०