Friday, June 1, 2018

मेरी अर्धाङ्गिनीलाई- प्रेम पत्र

प्रिय अर्धाङ्गिनी ,
आज प्रणय दिवस ।  अन्तर्मनमा लुकेका प्रेमको भावहरुलाई शब्दमा उतारेर प्रणय दिवसको कोसेली स्वरुप तिमिमा समर्पण गर्ने कोसिस गरेको छु । स्विकार गर है !   

हामी, आजभन्दा २३ बर्ष अगाडि एसभी एकेडेमीको आगनमा भेट्टिएका सहपाठी । त्यो बेलामा हामीहरु मिल्ने साथी । कलेजको क्यान्टिनमा गफ्फिदै  एउटै प्लेटमा पकौडा र समोसा आधा आधा बाडेर खान्थ्यौ। कहिलेकाही कलेज बङ्क गरेर यसो यताउती घुम्न जान्थ्यौ । साथिकै रुपमा एकअर्काको दुख साट्थ्यौ र सुख बाढ्थ्यौ । तर खै हामी कतिखेर साथीभन्द माथी हुनपुग्यौ थाहै भएन । हामीमा अझै पनि बिवाद छ , पहिले प्रपोज कस्ले गर्‍यो भन्नेमा । म तिमितिर औला तेर्स्याउछु अनि तिमी भने म तिर । मलाई थाहाछ, हाम्रो यी  बिवाद  जीवनभर नटुङ्गने बिषय बनेरै रहनेछ । तर, प्रपोज जस्ले गरेको भए पनि हामीले एक अर्काको मायालाई स्विकारेका छौ र एकले अर्कालाई आफ्नो जीवन सुम्पिएका छौ- यस्मा हाम्रो कुनै बिवाद छैन । 

मलाई याद छ त्यो दिन , जुन दिन हामिले ३ बर्शिय प्रेमको सम्बन्धलाई जीवनसाथीको रुपमा परिणत गर्ने निर्णय गरेको दिन । 
 

आजभन्दा २० बर्ष अगाडि त्यो दिन, अहिले पनि मेरो आँखा अगाडि झलझली नाची रहन्छन ।   म तिम्रो आगमनको पर्खाइमा निक्कै ब्यग्र भएर सिमरा बिमानस्थलमा बसिरहेको थिएँ । तिमी केही जोर लुगाफाटो सहितको सानो झोला बोकेर बुद्ध एअरको बिमानबाट  सिमरा बिमानस्थल ओर्लदै गर्दा, म मनमनै निक्कै हर्षित भएको थिएँ । म मा खुशीको कुनै सिमा थिएन । सायद प्रेम गर्नु र प्रेम साकार हुनु फरक पाटो रहेछन् । तिम्रो र मेरो प्रेम साकार हुँदै गरेको त्यो दिनलाई म जीवनकै अविस्मरणीय दिनको रुपमा लिने गर्छु । 

तिमी आफ्नो बाबा आमा दाजु भाई अनी दिदिबहिनीको न्यानो माया, ममता अनी साथलाई मुटुको एउटा कुनामा थाती राखेर मसंग जीवनको यात्रा गर्नका लागि तम्तयार भएर आएकी थियौ । तिम्रो साथमा केवल लुगाफाटोको सानो झोला थियो तर मेरा लागी  बिशाल हृदयभरी अनगिन्ती माया बोकेर आएकी थियौ । साँच्चै भन्छु, तिमीले र मैले रिक्तताबाटै जिन्दगीको सुरुवात गर्ने निर्णय लियौं र जीवनलाई भरिपूर्ण बनाउने साझा बाचा गर्‍यौं । हामीले सुन्यबाट आफ्नो जीवनको यात्रा सुरु गर्‍यौं ।

त्यही पहिलो दिन, तिमी र म सिमराबाट बिरगन्ज हान्नियौं । तिमीलाई गृह प्रवेश गराउनको लागि मसंग आफ्नो घर थिएन ।  जागिरको शिलशिलामा बिरगन्ज छिरेको म बबुरोसंग एउटा सानो कोठा थियो । नाङ्गो भित्ता, रित्तो कोठा । त्यो कोठाको संघारमा उभिएर तिमीलाई स्वागत गर्न मेरा परिवारका कुनै सदस्यहरु त्यहाँ  थिएनन्  तर एक हुल आत्मिय मित्रहरुको त्यो मुहार- न तिमीले बिर्सन सक्छौ न मैले । हो, हामीलाई हाम्रो जीवनको सुरुवाती क्षणमा साथ दिन आएका ति कलीला अनुहारहरुलाई हामी दुबैले बिर्सन सक्दैनौं। लक्ष्मी खरेल, बिन्दुली ठोकर,  मुकुन्द खरेल अनि उर्मिला तामाङ्ग । यिनै सहकर्मीहरुको  त्यो सालीन र आत्मिय स्वागतका साथ तिमी मेरो उराठ कोठामा प्रवेश गरेकी थियौ । त्यो बेला मैले तिमीलाई नत मंगलसुत्र किनेर पहिर्‍याइदिन सकें न त तिम्रो औंलामा औंठीनै लगााईदिन सकें।

जसै तिमी आयौ, मेरो जीवनमा बहार आयो । मेरो अँधेरो कोठामा तिमीले आफ्नो मुस्कानको ज्योति छर्‍यौ  । तिम्रो प्रवेशले मेरो रित्तो कोठा भरिन थाल्यो, कसिंगर र धुलोहरु पन्छिन थाले । मेरो रित्तो मन पनि मेरो कोठा झैं भरिन र सजिनँ थाल्यो ।  मैले आफुलाई सम्पन्न र सुखी महसुस गर्न थालें ।

मेरो कदममा तिमीले आफ्नो कदम मिलायौ । मेरो खुशीमा हाँसिदियौ । मेरो रोदनमा आँशु पुछिदियौ । यो क्रम अहिलेसम्म टुटेको छैन र टुट्ने पनि छैन । मलाई थाहा छ, तिमीले मेरो खुशीको लागि धेरैपटक आफ्नो चाहनाहरुलाई बन्दकी राखेकी छौ । तिमीलाई मैले धेरै पटक चोट पुर्‍याएको छु , तिम्रो मनमा ठेस पुर्‍याएको छु ।  तर तिमीले कहिल्यै पनि आफ्नो पिंडा, चोट र दु:खलाई आफ्नो मुहारमा देखिन दिएनौ । म घमण्डी, सन्काहा र रिसाहा । मेरो हरेक ब्यवहारलाई तिमीले हाँसीहाँसी सह्यौ ।


यो  २० बर्षको सहयात्रामा  हामीले एकअर्काको हात र साथ कहिल्यै छोडेको छैनौ । बिरगन्ज देखि सुरु भएको हाम्रो सहयात्रा कलैया, पोखरा, दोलखा सिन्धुपाल्चोक हुँदै  बेलायतसम्म आईपुगेको छ ।  नेपाल छँदा जागिरको शिलशिलामा जहाँँजहाँ पुगे त्यहाँसम्मै तिम्रो पाइला पनि साथसाथै पुगेको छ । हामी कहिल्यै अलग भएनौं । एक अर्काबाट कहिल्यै टाढा रहेनौं । मैले मेरा हरेक सामाजिक अभियानहरुमा पनि  मेरो छेउमा  तिमीलाई  उभिरहेको पाएँ । मलाई हिम्मत दिनेहरुको अग्रपंक्तिमा तिमिनै देखियौ अनि मेरो सघर्षहरुमा सहयोद्दा बनेर तिमिलेनै लडिरह्यौ । तिमी मेरी अर्धाङ्गिनी, साथी, सहयात्री, सहयोद्दा अनी सहकर्मी । साँच्चै, म तिमी प्रती धेरै आभारी छु ।

मलाई तिम्रै प्रोत्साहन र उत्प्रेरणाले निरन्तर अगाडि बढ्न सहयोग गरिरह्यो ।  मेरो गलत सङ्गतलाई पन्छाउन तिमिलेनै सहयोग गर्‍यौ । मेरा कुलतहरुलाई हटाउन तिमिलेनै साथ दियौ । म मानिस भएर पनि मानिस जस्तो थिईन-तिमिलेनै मलाई जनावर हुनबाट बचायौ ।म आज जे छु- तिम्रै कारणले छु । तिमिले मलाई मानवताको मार्गमा निरन्तर डोहर्‍याईरह्यौ । 

हो - हामी अरुसंग 'लिन' मा भन्दा 'दिन' मै खुशी मान्छौ । दिएर नै यहाँसम्म आयौ । हामीले हाम्रो लागि भन्दा पनि अरुको लागि बढी सोच्यौ । हामीले हाम्रो इमान्दारितालाई कहिल्यै छोडेनौ । मेरो इमान्दारिता नडगमगाउनुमा तिम्रो ठुलो हात छ । किनकी तिमीले मसंग सुनका गहना कहिल्यै मागिनौ राम्रो साडी अनी सुन्दर बंगलाको माग कहिल्यै गरिनौ । काँचको चुरालाई सुन सम्झिएर पहिरियौ, सस्तोमस्तो कपडालाई अनमोल बस्त्रको रुपमा धारण गरिदियौ अनी झुपडीलाईनै सिगारेर महलको झल्को दीइदियौ । साँच्चै, म कृतज्ञ छु, तिमी प्रती ।

हामीले बिताएका यी स्वर्णिम २३ बर्षहरु, थाहै नपाई बिते । आगामी दिन पनि यसरीनै बिताऔ । सामाजिक काममै
रमाएर जीवन कटाउने  तिम्रो र हामी दुईको साझा सोच त बनीनै सकेको छ । यसै सोचलाई साकार बनाउला । हाम्रो खुशीको बिचमा फुल्दै र फक्रदै गरेकी छोरीलाई सम्पत्ती दिन नसके पनि शिक्षा र  संस्कार दिने हाम्रो साझा प्रयास जारिनै छ । हामीलाई अथाह सम्पत्ती किन चाहियो र ! तिमीले र मैले जसरी रिक्तता र सुन्यबाट जीवनको सुरुवात गरेका थियौ त्यसरिनै छोरीले पनि आफ्नो जीवनको सुरुवात गर्न सक्छे र आफ्नो जीवनलाई संजाउन सक्छे । छोरीले आफ्नो बाटो आँफैले पक्रद८ गर्दा हामीले पनि हाम्रो यात्रालाई अर्कै दिशामा मोड्नु पर्छ । यस्को लागि हामी मानसिक रुपमा तयारनै छौ नि होइन र ?? हाम्रो साझा सोच, संगसंगै गाउँ छिर्ने अनी दीनदुखिको सेवा गर्ने । अरुको मुहारमा खुशी भर्ने अनी त्यही खुशीमा  आफ्नो खुशी खोज्ने । कसो ???

 तिमी र मसंग हाम्रा कलेजका मिठा यादहरु छन । हामीले संगसंगै सहकर्मीको रुपमा काम गर्दाका अबिस्मरणिय सिकाइ र अनुभवहरु छन । हामीसंग सुख र दु:खका साझा अनुभुतीहरु छन अनी मिठा यादहरु । बाँकी  जीवन जिउनको लागि यिनै चिजहरु काफीछन हाम्रा लागि ।  हामीसंग तिक्तता छैन, रिक्तता छैन । हामी भरिपूर्ण छौ र खुशी । मेरो अन्तिम चाह , तिम्रै काखमा जिन्दगीको अन्तिम श्वास फेर्ने ।






   **************


उही तिम्रो सन्काहा ।  रिसाहा र घमण्डी मान्छे ।

       

No comments:

Post a Comment