अन्तत: हजुरआमा विलिन हुनुभयो ,कहिल्यै नदेखिने गरी, नभेटिनेगरी । हजुरआमा भौतिक रुपमा हामी सामु हुनुहुन्न । अबउपरान्त उहाँ सम्झनामा मात्र सिमित रहनेहुनुभयो ।
मेरो कुरो, कि बुढाबुढीसंग मिल्छ कि त भुराभुरी । आफ्नै उमेरका ठेट्नाहरुसंग उत्तिसार्हो 'ताल' मिल्दैन । बुढापाकाहरुको कुराकानी र भुराभुरीको चुरीफुरीमा जस्तो रस मेरा उमेरका भुसतिघ्रेहरुमा भेट्दिन । केश पाकेकाहरुको मुखबाट उहिलेका कुरा सुन्नुमा जुन मजा छ, अहिलेका कुरामा छैन । तोतेबोलिका स्वार्थविहिन निस्कपट कुरा सुन्नुमा जुन मिठास छ, छलकपटको बुट्टा भरिएको बनावटी 'युवा'वाक्यहरुमा त्यो मिठास पाउँदिन । त्यसैले बाजेबज्यै र भुराभुरीहरुको जमातमा घेरिएर भलाकुसारी गर्न सार्है आनन्द लाग्छ ।
हजुरबुवा जिउँदो छँदा उहाँकै वरीपरी घुमिन्थ्यो, पुराना कुरा सुनिन्थ्यो र नदेखेको र नभोगेको युगको कल्पनामा रमाइन्थ्यो । हजुरबुवाको देहान्त पछी एउटा अध्यायको अन्त भयो । हजुरमुमा रहुन्जेलसम्म पनि त्यो अध्यायको अर्को पाना पल्टिरह्ह्यो । तर यस्पालीदेखुन्,एउटा कथाको अन्त्य भयो । सदासदाको लागि ।
हजुरआमाको सामिप्यता सार्है न्यानो । हजुरआमाको कोमल हृदयबाट प्रस्फुटनहुने मात्रुवात्स्यल्यताको कायल म , म मात्रै होइन हामी सबै नातिनातिना अनी पनातिपनातिनाहरु ।
हजुरआमा ब्लड क्यान्सरले थलिएर बिछ्यौनामा ढलेदेखुन "बिरक्तता"ले गाँजिएको महौलको श्रीजना भयो । उदासिनताको कुहिरो मडारिएर घरलाई घेरेको जस्तो उकुसमुकुसको "मौसम" ।
असोजदेखी बिस्तरामा पल्टनु भएकी मेरी हजुरआमा गत मंशिर २२ गतेका दिन संधैकालागी चिता माथि सुत्नु भयो । सानोतिनो घाऊमा पनि ठुलो पिँडाको महसुस गर्ने मेरी हजुरआमालाई आगोको लप्काले पोलिरहँदासम्म "आथ्था" समेत भन्नु भएन, निर्जिव बनेर चुपचाप जलिरहनु भयो । हामी पनि मौन हेरिरह्यौ , बगलीमा हात राखेर, बिचरा हामी !
हजुरआमाको अशक्त अवस्था, आँफै खान नसक्ने अनी आँफै चर्पी जान नसक्ने । नाकको टुप्पोमा झिँगा बस्दा समेत आफ्नै हातले धपाउन नसक्ने ।
त्यो अशक्तताको अवस्थामा हजुरआमाको स्याहार गर्ने स्याहारेहरुको मेहनत ल लगावको प्रशंशामा म यि शब्दहरु मार्फत ब्यक्त गर्न असमर्थ छु । तै पनि गर्नेहरुको कदर गर्नै पर्छ म यि शब्दहरु हजुरआमाका स्याहारे र सुसारेहरु प्रती समर्पित गर्न चाहन्छु ।
मरेपछीको श्राद्द भन्दा जिउदो छँदाको 'सेवा'नै महान हुन्छ । त्यो महानकार्यमा सरीक हुने मेरा कान्छा काका र कान्छी काकी जस्ले दाजुभाइ बिचको अंशबण्डा पस्चात पनि "हजुरआमा"लाई प्रमुख अंशको रुपमा ग्रहण गर्दै स्याहार सुसार गर्नुभयो, उहाँहरुलाई हार्दिक नमन गर्न चाहन्छु । काकाकाकी ले हजुरआमा र हजुरबुवालाई बांचुन्जेल कुनै कुराको कमी हुन दिनुभएन, उहांहरुको आवश्यकताको परिपुर्तीका लागी सक्दो मेहनत गरिनै रहनुभयो ।
तत्पस्चात, हजुरआमाको अस्वस्थताका कारण काठमाडौ बसाइका क्रममा उहाँको हेरबिचारका लागि खटिने भाईबुहारी (जानुका)ले गरेको अथक मेहनतको बखान गरेर साध्य छैन । ओखती खुवाउने 'नर्स', खाना पकाएर खुवाउने 'भान्से' र लुगा धुइदिने 'धोबिनी'को भूमिका निर्वाह गरेकी बुहारी जानुकाप्रती हार्दिक आभार ।
सकुन्तला भाउजु, जस्ले हजुरआमाको अश्वस्थतामा "सुसारे"को भूमिका निर्वाह गर्नु भयो, उहाँको त्यो भूमिकाको मुक्तकण्ठले प्रशंशा गर्न चाहन्छु । मैले देखेको छु, हजुरआमा प्रती उहाँले पोखेको "माया " । शब्दमा सिमित रहने माया भन्दा सकुन्तला भाउजुले दिशा,पिसाव सोरेर ब्यक्त गरेको ब्यवहारिक "माया" पो असली माया । हार्दिक नमन भाउजु तपाईंलाई ।
खाना खानेक्रममा कहिलेकाही जिस्किएर 'खकार" र 'सिँगान'को सन्दर्भ निकालीदिंदा रिसाएर खाइरहेको खाना छोडेर हिंड्ने मेरी अर्धाङ्गिनीले हजुरआमाको मुखबाट बगेको र्याल र नाकबाट बगेको सिंगान पुछिदिन्छिन् भन्ने सोचेको थीईँन । तर मैले नसोचेको कुरा उनले गरिन् । छोरीलाई फकाएर जसरी खाना खुवाउथिन, उसरीनै हजुरआमालाई खुवाइन र पिलाइन् । धन्य मेरी अर्धाङ्गिनी ।
आफ्नै रोगलाई ठुलो ठान्ने साइली काकीले समेत यस्पाली हजुरआमाको ब्यथा र पिडालाई आफ्नो भन्दा ठुलो 'पिडा"को रुपमा ग्रहण गरेको देखे । खुब खुशी लाग्यो । मेरी आमाले पनि हजुरआमाको रेखदेखमा कुनै कसर बाँकी राख्नु भएन ।
मलाई हजुरआमाको दिशा धुइदिने आँट आएन, गन्हायो । तर मेरो बुवा र साईँला काकालाई हजुरमुमाको दिशा गन्हाएन । सांच्चै, छोराहरुले गरेको 'स्याहार'लाई मैले नजिकबाट चिहाउने अवसर प्राप्त गरे अनी यो अवसर मेरा काका र बुवाहरुले जुराइदिनु भयो ।
मरनच्यासे मेरो बुवा र क्यान्सरले ग्रसित साइला काकाले हजुरआमाको वरीपरी 'झिगा"भन्किन दिनु भएन अनी पानीको प्यासमा घाँटी सुक्खा रहन दिनु भएन । धेरैभन्दा धेरै समय हजुरआमाकै नजिक रहनु भयो, हेरबिचार र स्याहार सुसार गरिरहनु भयो । धन्य, हजुरआमाका असल सपुतहरु ।
जागिरको शिलशिलामा उपत्यका बाहिर रहेका हामी जागिरे "नातीहरु"को उपस्थिती भने पातलो रह्ह्यो । जती गरे नातिनीहरु र नातिनी बुहारीहरुले गरे ।
हाम्री हजुरआमा निक्कै भाग्यमानी । आफन्तहरुले घेरिएकै अवस्थामा बिदा हुनुभयो । सबैको सम्मान र माया पाउन सफल हुनु भयो । हजुरआमा आफ्नै ब्यवहारले सुद्द,सफा र कन्चन । उहाँकै ब्यहारले सबैलाई तान्यो र सबै सन्तानबाट माया पाउन सफल हुनु भयो । सासु हुन त मेरी हजुरआमा जस्तो - आमा हुन त ,मेरीहजुर आमा जस्तो- हजुरआमा हुन त ,मेरी हजुरआमा जस्तो ।
आमाबाउले आफ्नो सन्तानबाट कत्तिको 'स्याहार' र सुसार पाउने भन्ने कुराको निर्क्योल आमा बाउले आफ्ना सन्तानप्रती दर्शाएको ब्यवहार र प्रबित्तीले पनि भूमिका खेल्दो रहेछ भन्ने पाठ सिकियो ।
अन्तमा: हजुरआमाको रेखदेखमा ध्यानदिने सम्पूर्ण मेरा दिदीबहिनी,दाजुभाइ र आफन्तजन प्रती हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । साथै मेरीहजुरआमै प्रती "सम्मान" को भाव पोखिदिनुहुने "मलामी"का ति लस्करहरुलाई समेत कोटी कोटी नमन ।
१३ दिने "कोर्रा"को बेला मेरा काका बुवाहरुको साथ दिने काकाहरु - शिव, हरी, नारायण, मधुराम र गोपी लगाएत अहोरात्र खटिने भाईहरु- निर्मल,राजकुमार,राजेन्द्र, इश्वर, रबी र दाईहरु- बिनोद, रामचन्द्र, रामशरण र श्रवणकुमारमा हार्दिक नमन ।
यहाँ नाम लिन भुलेकाहरुको अनुहार कालो नहोस्, मनमा हिनता र आक्रोशको फुल नफुलोस् । सबैजनाले हजुरआमाको निमित्त सके जती गरेका छौ । अत: सबैजना धन्यवादको भन्दापनि "स्यावासी"का हकदर छौ । जो जस्ले चाहना हुँदाहुँदै पनि दिलखोलेर हजुर आमा र हजुरबुवाको सुसार गर्ने अवसर प्राप्त गरेनौँ, ति सबैले आफ्नो नजिक रहेका जेष्ठ नागरिकहरुको अनुहारमा आफ्नै हजुरआमा-बुवाको प्रतिबिम्बको कल्पना गर्दै उनिहरुको सेवामा तन,मन र धन लगाऔं । यसो गरे हाम्रा स्वर्गियहजुरआमा र हजुरबुवाले स्वर्गबाट "आशिर्वाद" बर्षाइ रहनुहुनेछ ।