Monday, November 11, 2013

कलैया तथा बिरगन्ज भ्रमण




भर्खरै बिरगन्ज र कलैया अवलोकन भ्रमण गरियो । पोखराबाट १९ सदस्सिय टोली सहित त्यो  २ दिने कलैया बिरगन्ज भ्रमणको यात्राकालागी म निक्कै उत्साहित भएको थिए । मनभित्र अनौठो खुशीको रक्त संचार भईरहेको थियो । पोखरा प्रवेस गर्नु पुर्व कारीव ९ बर्षसम्म आफुले मेहनतको पसिना पोखेको त्यो कर्मथलोलाई पुन  एकपल्ट अवलोकन गर्न पाउँदाको त्यो अवसरले बेग्लै आनन्दको अनुभुती भईरहेको थियो ।   बिहान ८ बजे पोखराबाट बिरगन्जको लागि यात्राको थालनी भयो ।  उसैउसै खुशीले गद्गदीएको मेरो मन जती सक्दो छिटो बिरगन्ज पुग्नको लागि लालायित भैरहेको थियो । मलाई मेरा सहकर्मी मित्रहरुसंग सुखदुख साटासाट गर्नु थियो, मप्रती  अपार माया र विश्वाश पोख्ने मेरा समुदायवासीहरुसंग प्रगती र उन्नतीका साथै उनिहरुले झेलिरहेका समस्याहरुको बारेमा  भलाकुसारी गर्नु थियो । तिब्र गतिमा  गुडिरहेको त्यो गाडीको रफ्तार अझै कम भएझै लागि रहेको थियो । यदी चरीको झै पखेटा हुँदो हो त  उडेर पुग्थेँ हुँला  तर चार पाङ्ग्रे गाडीमा सवार म बिचरो यात्री चुपचाप गुडीरहेको थिएँ गाडीको रफ्तारसंगै ।
बिरगन्जेली मित्रहरुको पनि उस्तै  ब्यग्रता , बारम्बार फोन मार्फत उही प्रश्न "कहाँ आईपुग्नु भयो, कतिखेर आईपुग्नु हुन्छ ?" । मभित्र त्यस्तै छटपटी ।अन्तत: करीव ५ बजे पुगियो परवाणीपुर । परवाणीपुर कटे पछीका हरेक हरेक द्रुश्यहरुसंग आफ्नो बेग्लै आत्मियताको अनुभुती भईरहेको थियो । यो कालो पत्रे रोड अनी रोडवरीपरिका घर र टहराहरु , धुलाम्य कच्ची बाटो र बोट बिरुवाहरु, तालु पोल्ने घाममा  रिक्सा चलाईएर पसिना पोखिरहेका चालकहरु अनी बाटोमा हिंडिरहेका कालो बर्णका महिलापुरुष बटुवाहरु- यि सबैसंग मेरो आत्मिय  सम्बन्ध भएझै लाग्यो । एउटा अटुट नाता रहेझै लाग्यो ।बिरगन्जको क्लासिक होटल पुग्दा, मेरा हितैसीहरु अनुहारभरी खुशीको रङग पोतेर मेरो सामुन्ने उभीरहेका थिए । मलाई जन्मदिने आमाको  अभाव महसुस हुन  नदिनेगरी मेरो कार्य अवधीभर अथाह माया र ममता दिने मेरा मधेशी आमाहरु हातमा पुष्प गुच्छा र रातो अबिरको थाली बोकेर यो  पहाडीया छोरोलाई गृह प्रवेस गराउनको निमित्त तम्तयार भएर बसेको त्यो द्रुश्यले मेरो आँखाका नानीहरु रसाउन थालेका थिए । मलाई आफ्नै आमाको कोखबाट जन्मेको दाजुभाइ भन्दा पनि बढी "आड र भरोसा" दिने मेरा मधेसीभाइ बहिनीहरुसंग केही बर्ष पस्चात  हात मिलाएर अंकमाल गर्न पाउंदाको त्यो पलमा  अचम्मको आनन्द महसुस गरिरहेको थिएँ । म बिरगन्ज को सांढे सात बर्शिय र कलैयाको डेढ बर्सिय कार्यकाललाई बिट मारेर यहाँबाट बिदाइ हुँदा बिछोडको आँशु चुहाउंदै फुलको माला र अबिरको टिका लगाएर दुखेको मनले बिदाइ गर्ने ति आमाहरु अनी ति दिदीभाइ दाजुबहिनीहरुसंगको यो मिलनले मलाई कतीधेरै खुशी तुल्याएको छ , बर्णन गर्न सक्दिन ।परदेश गएर दसैंमा घर फर्किएको छोरोलाई गृह प्रवेश गराएझै  आमाहरुले अबिर लगाइदिनु भयो र दाजुभाईहरुले हात मुसार्दै मेरो यो  कर्मथलोमा म लगाएत मेरो टोलीलाइ  आत्मिय स्वागत ब्यक्त गर्नु भयो ।

हामीले केहीबेर भलाकुसारी गर्यौ । १८ वटा समुदायका करिव २ हजार महिलाहरु सम्मिलित एकता महिला बचत तथा रिण सहकारीको प्रगती चित्त बुझ्दो रहेछ । मैले बिरगन्जबाट बिदाइलिंदा ७० लाखको पुँजी रहेको सो सहकारीको हालको  पुँजी सवा करोड भईसकेछ ।२०६२ सालबाट बिरगन्जका गरिव समुदायका घरहरु चाहर्दै बचतको महत्व र आवस्यकता बारे चेतना छर्दै ९ जना महिला सदस्यहरुको बचत समुह गठन गरी प्रतो ब्यक्ती मासिक रु ३० रुपैयाँको दरले सुरुवात गरिएको सो बचत कार्यक्रमले सफलताको राम्रो फड्को मारीरहेको सुन्दा खुशीको कुनै सिमा रहेन । पैसाको होइन मान्छेको बचत भन्ने संस्थागत मान्यता बमोजिम हामिले बचत समुहको गठनगरी छरिएर रहेका महिलाहरुलाई एकिक्रित गर्ने कार्य गरेका थियौ । टोलटोलमा बचत समुहहरु गठन गरी सोही समुह मार्फत सामाजिक सचेतना र बिकासका गतिबिधीहरु संचालन गरेका थियौ ।    
भोलिपल्ट, भ्रमणको पहिलो दिन कलैयाका समुदायहरु घुम्ने योजना बमोजिम  लुमन्ती संस्थाले स्थानिय सामुदायिक संस्थाहरुमार्फत संचालन गरेका सामुदायिक गतिबिधिहरु अवलोकन गर्नको लागि कलैया पुगियो । लुमन्ती कार्यालयमा कलैया नगरपालिका,सहरी गरिवी निवारण मन्च, दिपशिखा महिला बचत तथा रिण सहकारी र भ्रमणटोली बिच केही बेर अन्तर्कृया पस्चात हामी कलैयाको पर्सा समुदायमा पुग्यौ । पुष्प गुच्छा र रातो अबिर सहितको नानो स्वागत पस्चात   स्थानियवासीहरुको आफ्नो टोलमा भईरहेका सामुदायिक गतिबिधीहरु बारे जानकारी दिए । पहिले फोहोरको डङ्गुर् भित्र गन्हाउने त्यो टोलमा स्थानियवासीहरुकै अग्रसरता मा सरसफाइका बिभिन्न कृयाकालापहरु संचालन गरे पस्चात अहिले त्यो टोल निक्कै सफा र सुन्दर देखिएको रहेछ । नगरपालिकाको सहयोगमा फोहोर उठाउने रिक्सा  प्राप्त गरी प्रत्येक घरबाट मासिक २० रुपैयाँ उठाएर फोहर संकलकर्ताको ब्यवस्था गरेका रहेछन । बिहान र बेलुका २/२ घण्टाका दरले रिक्सा शाहीत फोहरसंकलनकर्ता प्रत्येक घरमा पुग्दा रहेछन । घरघरमा  फुलका बिरुवाहरु रोप्न अनिवार्य नियम बसालेर भाँडा माझ्ने जुठ्यान र भाँडा राख्ने मचान समेत  बनाईेएका रहेछन् । स्थानिय  महिला समुहहरुको अगुवाईमा सार्वजनिक जग्गाहरु अतिक्रमण गरी बनाईेएका  समुदाय भित्रका घर,गोठ तथा करेसाबारिहरु हटाएर खुल्ला बाटो बनाईेएको रहेछ । १०० घरधुरी रहेको सो टोलमा ४ वटा महिला बचत समुह गठन हुनुका साथै प्रत्एक घरबाट एकजना महिलाहरु सो समुहरुमा आवद भएका रहेछन । स्थानियवासीले आफ्नो टोललाई नमुना टोलको रुपमा बिकास गर्न लागिपरेको बताई रहंदा पोखराका भ्रमण टोली निक्कै उत्प्रेरित भएका थिए । पर्साटोलवासीले हाम्रो टोलीलाइ आआफ्नो घरभित्र छिराएर आफुले सरसफाइका लागि गरेको ब्यक्तिगत प्रयासहरु देखाउने कार्य गरे । त्यत्ती मात्र कहाँ हो र , स्थानियवासिले भ्रमणटोलिको लागि पुरी तरकारीको ब्ववस्था गरेका रहेछन ।  हामी सबैले उनिहरुसंगै एकाकार भएर मायालु हातले सम्मानपुर्वक बनाईेको त्यो मिस्ठान्न भोजन ग्रहण गर्यौ । भ्रमणटोलीको सहभागी आदरणिय भिम्सेन थापालाई महिलाहरुले प्रकट गरेको  न्यानो आतिथ्यता र उनिहरुले सामुदायिक रुपमा गरेको योगदानले प्रभावित बनाएछ त्यसैले सम्मान स्वरुप रु १००० हजार प्रदान गर्नु  भयो ।  त्यसैगरी  अन्य सहभागी प्रदिप श्रेष्ठ,मनोज थापा र पोखरामा नव गठित सुन्दर समावेसी महिला सहकारीले पनि आर्थिक सहयोग प्रदान गरेका थिए । परिचयको क्रममा पर्साटोलका महिलाहरुले   आफुहरु  चुलो र चौकटमा ब्यस्त रहने ल्याप्चे (अनपढ) महिला भएकोले राम्ररी  बोल्न सक्ने क्षमतामा कमी रहेको वताउने ति महिलाहरुले प्रस्तुतीकरण र उनिहरुले देखाएको जोस,जांगर र सकृयताले आफुलाई लज्जित बनाएको बताउदै भ्रमणटोलीका सहभागी सरु खतिवडाले भनिन " यहाँका महिलाहरुले आफुलाई असिक्षित र केही नजानेको भनेर चिनाउंदा चिनाउँदै पनि हामीहरु भन्दा निक्कै सक्षम रुपमा काम गरेको देख्दा हामी पढेगुनेका र बढी  जान्नेसुन्ने भनौदाहरुलाई एउटा नयाँ पाठ सिक्ने मौका मिलेको छ । " पहिले घुम्टो भित्र अनुहार लुकाएर सिमित घेराभन्दा बहिर ननिस्कने यि  महिलाहरुमा यो परिवर्तन कसरी सम्भव भयो त ? भ्रमणका सहभागी गोमा दहालले प्रश्न गरिन । उत्तरमा स्थानिय घरभरणी देवीले भनिन " यो बुद्धी,शिप र कला लुमन्तीबाट पायौ । नयाँ मान्छेसंग कुर गर्न र भेट्न लजाउने हामी महिलाहरुलाई लुमन्तिले बचत समुह मार्फत बिभिन्न तालिम,भ्रमण तथा छलफल कार्यक्रमहरुमा समावेस गराउदै गयो । समाजको बिकास गर्ने कार्यक्रमहरुमा पनि हामीलाईनै संलग्न गरायो । बिस्तारै बिस्तारै थाहै नपाई हामी त ठाउँ ठाउँमा पुग्न र तपाईंहरु जस्ता नयाँ मान्छेहरुसंग भेट्न अनी कुरा गर्न थाली सकेछौ । यो सब लुमन्ती को देन हो । हामी अझै सिक्दै छौ । "
 पर्साटोलका महिलाहरुको जागरुकताको प्रत्यक्ष अवलोकनबाट उत्प्रेरित हुँदै हाम्रो टोली लुमन्तिकै आर्को कार्य क्षेत्र अवधापुरमा पुग्यौ । त्यहा महिलाहरुले बचत तथा रिण कार्यक्रम मार्फत सस्तो ब्याजदरमा सुलभ तरिकाले रिण लिई तरकारी खेती गरेका रहेछन् । श्रीमानको कमाइको मात्र भरमा नपरी आँफैले कमाईको बाटो रोजेका अवधापुरका महिलाहरुको हिम्मतले पनि हाम्रो टोलीलाइ आत्मनिर्भरताको मार्गमा लाग्न प्रेरित गरिरहेको थियो । तत्पस्चात हामी कलैयाको  देवीगन्ज समुदायमा पुग्यौ । लुमन्तीले अन्यटोलमा गरेको कार्यक्रम र ति टोलहरुले प्राप्त गरेका उपलब्धीहरु देखेको र सुनेको भरमा देवीगन्जवासीहरु स्वयंले आफ्नो टोललाई पनि अन्य टोल जस्तै  परिवर्तन गरेर देखाउने  जमर्को गरेको बताई रहँदा बिभिन्न संघसंस्थाको मुख ताक्ने हाम्रो प्रब्रित्तीलाई गिज्याई रहेको भान हुन्थ्यो ।"लुमन्तीले हाम्रोटोल नजिकैको खपरतत्ता भन्नेटोलमा बचत कार्यक्रम लगाएत अन्य बिकासका कार्यक्रमहरु संचालन गरिरहेको खबर हाम्रै छिमेकी साथीहरुबाट थाहा पायौ । त्यसैले लुमन्तिकी दिपा भन्ने एक्जना कार्यकर्तालाई हामीले सो को बारेमा सोध्यौ । उनले हाम्रो  टोलको लागि बिशेष कार्य योजना नरहेको बताइन । हामीले उहालाई 'तपाइकोसंस्थाले आर्थिक सहयोग गर्न नसके पनि केही आइडिया त दिन सक्छ कि भनेर सोध्यौ । उनले हुन्छ भनिन । त्यस पछी बिस्तारै हामी लुमन्तीसंग जोडीएर सामाजिक परिवर्तनका सोच र सिपहरु सिक्न थाल्यौ । बिकासको लागि पैसा भन्दा पनि बिचार  चाहिदो रहेछ भन्ने ज्ञान लुमन्तीबाट पायौ । त्यस पछी हामी महिलाहरु आँफैले बचत समुह गठन गरेर पैसा बचत गर्नुका साथसाथै सामाजिक कार्यमा सामुहिक रुपमा लाग्न थाल्यौ । हिजो बत्ती बिनाको अधेरो रातमा हराईरहेका हामी महिलाहरुले नगरपालिका र बिजुली  अफिसमा बारम्बार धाएर बिजुली ल्याउन सकेका छौ । शिक्षा अफिससंग समन्वय गरी  प्रौढ शिक्षा कार्यक्रम चलाएर पढ्दै छौ । बचत समुह मार्फत रिण लिएर आयआम्दानीको सानोतिनो काम पनि गर्दै छौ । धेरै गर्न बाँकी छ । हामीसंग महिला एकता र पुरुषको साथ छ त्यसैले धेरै गर्न सक्छौ ।" स्थानिय मैरुन खातुनले जोशिलो हाउभाउकासाथ एकै श्वासमा आफ्नो भनाइ राख्दा तालिको गड्गडाहटले उनको हिम्मतको कदर गरिरहेको  थियो ।    त्यत्तीनै बेला २५-३० जना महिलाहरुको एउटा समुह आइपुग्यो । ति मेरा परिचित अनुहारहरु थिए । चर्को घाममा तातेर आएका  आक्रोस मिश्रित ति अनुहारहरु एकै पटक म माथि  गर्जिय "हामी तपाईंलाई  अगिनै देखी पर्खिरहेका थियौ, तर हाम्रो आउने कार्य क्रम क्यान्सिल भएको खबर  पाएर यहाँ आएका हौ, किन प्रोग्राम क्यान्सिल गरेको ?' त्यत्ती बेला मध्यान्हको ३ बज्न लागि सकेको थियो । ३ बजेको समयमा कलैया नगरपालिकासंग अन्तर्कृया गर्ने योजना बमोजिम हामी ढिला हुन लागिसकेका थियौ । त्यसैले खपरतत्ता नजाने भनिएको थियो । तर यो खबरले उहाहरुलाई ठुलो चोट पुगेछ । "हामी भने सर आउनु हुन्छ भनेर पर्खदै बसेका थियौ तर तपाईंले हामीलाई महत्व दिनु भएन " इन्दु देवीले आक्रोस पोखिन । चर्को घाम र कार्यक्रमको  टाइट तालिकाबाट थकित भएका भ्रमणटोलीहरु समक्ष मैले  आफु त्यो टोलमा जानै पर्ने भएको हुँदा अन्यलाई नगरपालिकाको कार्यक्रममा सहभागु हुंदैगर्नका लागि अनुरोध गरे । म खपरतत्तावासिको चित्त दु:खाउने पक्षमा थिईंन । कलैयाका यि वस्तिहरुमा अहिले जे जस्ता गतिबिधीहरु संचालन भईरहेका छन ति गतिबिधीको बिजारोपण मेरै कार्यकालमा भएको थियो । म करिव डेढ बर्ष अगाडि लुमन्तीसंस्थाको फिल्ड संयोजकको रुपमा कार्य डेढ बर्ष सम्मै त्यहाका समुदायहरुमा  काम गरेको थिए । त्यही कार्यकालमा त्यहाको समुदायवासिहरुसंग मेरो आत्मिय सम्बन्ध गांसिएको थियो । हामीले कार्य गरेको १० वता समुदाय मध्यको  खपरतत्ता टोलमा सुरुमा कार्यक्रम गर्न केही कठिनाई परेको थियो । दलित तथा पिछदडिएको समुदाएको  रुपमा चिनिने सो टोलमा हाम्रो लुमन्ती टोलीलाइ धेरै मेहनत गर्नु परेको थियो । बचत समुह गठन, सामुदायिक स्वास्थ्य तथा सरसफाइ कार्यक्रम, बल शिक्षा लगाएत सामुदायिक भवन निर्माण गर्न तथा गराउनका लागि हामीले अहोरात्र खटेका थियौ । त्यही मेहनतको कदर स्वरुप त्यहाका दिदीबहिनिहरु हामीलाई लिन आज यो ठाउँमा आँफै आएका थिए । उहाहरुको आक्रोसमा स्नेह मिसिएको थियो । म त्यो स्नेहलाई लत्याउन चाहन्नथें । त्यसैले म उहाहरुसंग खपरतत्ता हिंडे । तातो घाममा भलाकुसारी गर्दै हिंड्ने क्रममा खपरतत्तावासिले "हामीलाई बिर्सनु  भएछ तर हामीले कहिल्यै बिर्सन सक्दैनौ "भन्दै गुनासाहरु ब्यक्त गरे । मैले आफ्नो मनभित्र लुकेको उहाहरुप्रतिको आत्मियतालाई पोख्न खोजे "मैले पनि तपाईंहरुलाई कहिल्यै बिर्सेंको छैन र बिर्सन सक्दिन "
थाकेका मेरा भ्रमणटोलिका सबै सदस्यहरुको पनि सहभागीता रह्यो । खपरतत्तावासिको मन नदुखोस् भनेर हाम्रा टोलिहरुपनी देवीगन्जदेखी खपरतत्तासम्मको १ किमी  पैदल यात्रामा सहभागी भए ।   डेढ बर्ष अघी निर्माण प्रकृयाको क्रममा रहेको खपरतत्ताको  सामुदायिक भवन निर्माणकार्यको अन्तिम चरणमा पुगिसकेको देख्दा खुशी ले गद्गद भएँ म । बचत समुहले गरिरहेका सामुदायिक गतिबिधी र बालबालिकाको शिक्षामा आएको परिवर्तन सुन्दा  म लगाएत मेरो टोली निक्कै हर्सित भएको थियो ।
अन्तमा हामी नगरपालिकाको सभा कक्षमा अन्तर्कृया र भ्रमणको समिक्षा कार्यक्रममा सहभागेए भयौ । कलैयाका गरिव समुदायमा लुमन्तिले संचालन गरेको बचत कार्यक्रमले ठुलो उपलब्धी हांसिल गरिसकेको जानकारी दिदै दिपशिखा महिला बचत तथा रिण सहकारी संस्थाकी ब्यवस्थापकले हाल सम्म ४५० जना महिलाहरु सो सहकारीमा आवद भएको बताईन । पैसाको भन्दा पनी महिला एकताको पाटोलाई प्रमुखताको रुपमा लिदै लुमन्तिले बचत समुह मार्फत त्यत्रो महिलाहरुको एकता बनाएर सामुदायिक कार्यमा संलग्न गराउन सकेकोमा आफुहरु निक्कै उत्साहित भएको बताउदै कलैया नगरपालिकाका लेखापाल मुस्ताक अन्सारिले लुमन्तिसंगको सहकार्यमा तिनै गरिव समुदायहरुलाई लक्षित गरी भिन्नै कोश (सहरी सामुदायिक सहयोग कोश) खडा गरेर सो कोश मार्फत २ देखी ३ प्रतिसत ब्याजदरमा दिपसिखा सहकारी मार्फत रिण प्रदान गर्दै अैइरहेको बताउनु भयो । लुमन्ती र नगरपालिकाको बराबर आर्थिक साझेदारीबाट स्थापित सो कोश मार्फत रिक्सा चालक हरुलाई रिक्सा मालिक बनाउने कार्यक्रम गर्नुका साथै अन्य आयआम्दानीको कार्यमा रिण परिचालित हुनुले राम्रो प्रतिफल प्राप्त भएको देखियो । दिनभरिको भ्रमण समिक्षाका क्रममा पोखराबाट सहभागी हुनु भएका निवर्तमान मेयर भिमसेन थापा ले आफु लुमन्तिको संस्थागत निमन्त्रणा बिना स्वइक्ष्याले यो भ्रमणमा सहभागी हुन आएको बताउदै यो भ्रमण आफ्नो लागि अविस्मरणिय रहेको  बताउनु भयो । " म राजनैतीक कामले एक दुई पटक बिरगन्ज र कलैया आएको थिए तर त्यो बेलाका महिला र अहिलेका महिलाहरुमा धेरै ठुलो अन्तर भेटे " थापाले भन्नु भयो " पहिला घुम्टो भित्र लुक्ने मधेसी मुलका  महिलाहरुले अहिले पोखरावासिहरुलाई सिकाउन सक्ने भएका रहेछन,मैले पनि धेरै कुरा सिके "
टोलबिकास नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्री, समाबेसीटोल बिकास संस्थाका अध्यक्ष माधव बराल , सुन्दरटोल आवास ब्यवस्थापन समितिका अध्यक्ष मनोज थापा लगायत  नव गठित सुन्दर समावेसी महिला सहकारीकी अध्यक्ष सरस्वती पोख्रेलले पनि यो भ्रमणबाट धेरै भन्दा धेरै कुरा सिक्न पाएको बताउँदै आफुहरुले पोखरामा गएर यहाँको महिला तथा युवाहरुले गरेको सामाजिक बिकासका कामहरु जस्तै त्यहा पनि  नयाँ काम थाल्ने प्रतिवदता जनाउदा लुमन्तिले आयोजना गरेको यो भ्रमण सार्थक भएको महसुस गरे । मलाई यो महसुस गराउन सहयोग गर्ने कलैया तथा बिरगन्जका सम्पूर्णटोली  लगाएत भ्रमणमा सहभागी  हुने सम्पूर्ण महानुभावहरु प्रती हार्दिक धन्यवाद ज्ञापन  गर्दै सम्पूर्णलाई सफलताको शुभकामना ।


No comments:

Post a Comment