'साथी बन्न नसकेका हामी'
आज एकाबिहानै, सेतोपाटी मा लेखिएको भानुभक्त जि को लेख " बा प्रदीप ज्ञवाली' पढियो । यो लेखले मेरो 'बा' र म बिचको सम्बन्धको पाटो केलाउन मजबुर गरायो । मेरा 'बा' जो संग म अहिले भौतिक रुपमासंगै छु, हामी एउटै टेवलमा खाना खान्छौ र एउटै छत मुनी जिउ लुकाउछौ , अति आवश्यक कुरामा भलाकुसारी गर्छौ र सहकार्य पनि / यत्ती हुंदाहुंदै पनि मेरो उहांसंगको आत्मिय सम्बन्ध कस्तो छ ?? घोत्लिन मन लाग्यो अनी घोत्लिदा,घोत्लिदै मेरा मनमा उब्जिएका भावहरुलाई शब्दमा उतार्न मन लाग्यो । यि मनका भावहरुलाई 'बा'का अगाडि पोख्ने साहस छैन त्यसैले फेसबुकको भित्तोमा सम्प्रेसित गरिदन मनलाग्यो र गरें पनि । अब मेरा 'बा' र 'म' बिचको सम्बन्ध कस्तो ?? केलाउने जिम्मा तपाईंहरुको ।
****************************************************************************
'बा' भन्ने शब्द सुन्नासाथ बुद्धिसागर लिखित 'कर्णाली ब्लुज ' याद आउँछ । केही बर्ष अगाडि त्यो उपन्यास पढे पस्चात् म घोरुण्डो मनुवाको मनसपटलभित्र 'बा' प्रतीको सम्मानलाई बढाउन मद्दत गरेको थियो । म - पहिले 'बा' का अधिकांश लजिकहरुलाई 'डेट स्पाएर' औषधीको रुपमा लिन्थें - आजकाल ' 'प्रक्टिकल अनुभव'को रुपमा बुज्ने गर्छु । पहिले 'बा'ले गरेका चित्त नबुझ्ने कुराहरु प्रती 'बिद्रोही' शैलीमा सिधै प्रतिपाद गर्थें आजकाल एउटा असल स्रोता जसरी सुन्छु, ठीक लागेका कुरा लिन्छु र अन्य कुरा छोडिदिन्छु ।
***************************************
करिव १४ बर्षसम्म ३ पाङ्ग्रे ठेलामा गधाले झै सामानको भारी लादेर , असिनपसिन हुँदै मेहनतको पसिना पोखेका मेरा 'बा' को त्यो बेलाको टिठलाग्दो अनुहार सम्झँदा अहिले पनि छात्तिमा चसक्क काँडा बिझे झै हुन्छ । तिनपाङ्ग्रे ठेलामा फलामको भारी लादेर रिक्सा तान्ने एउटा गरिव मजदुर, जस्ले लगाएको सेतो गन्जीमा फलामको कालोमैलो टाँस्सिएको हुन्थ्यो अनी त्यो मैलो गन्जीलाई च्यात्तिएको हाफपाईटले साथदिईरहेको हुन्थ्यो । 'बा' पहिले देखिनै दुब्ला र पातला- कुपोशणको शिकार भएका जस्ता । हाम्रा 'बा'मजदुरीका क्रममा निक्कै फोहोरी र घिनलाग्दा दिखिनु हुन्थ्यो । तर सत्य ! हाम्रा 'बा'लाई हामी चारैजना सन्तानले कहिल्यै घ्रिणा गरेनौ , कहिल्यै 'छि छि' र 'दुर्दुर' गरेनौ । सांच्चै भन्नु पर्दा, 'बा'ले आमाको ममतालाई पनि जितिदिनु भएको छ - अहिलेसम्म । अनी हाम्रो मनपनी जितिदिनुभएको छ- अहिलेसम्म ।
***************************************
करिव १४ बर्षसम्म ३ पाङ्ग्रे ठेलामा गधाले झै सामानको भारी लादेर , असिनपसिन हुँदै मेहनतको पसिना पोखेका मेरा 'बा' को त्यो बेलाको टिठलाग्दो अनुहार सम्झँदा अहिले पनि छात्तिमा चसक्क काँडा बिझे झै हुन्छ । तिनपाङ्ग्रे ठेलामा फलामको भारी लादेर रिक्सा तान्ने एउटा गरिव मजदुर, जस्ले लगाएको सेतो गन्जीमा फलामको कालोमैलो टाँस्सिएको हुन्थ्यो अनी त्यो मैलो गन्जीलाई च्यात्तिएको हाफपाईटले साथदिईरहेको हुन्थ्यो । 'बा' पहिले देखिनै दुब्ला र पातला- कुपोशणको शिकार भएका जस्ता । हाम्रा 'बा'मजदुरीका क्रममा निक्कै फोहोरी र घिनलाग्दा दिखिनु हुन्थ्यो । तर सत्य ! हाम्रा 'बा'लाई हामी चारैजना सन्तानले कहिल्यै घ्रिणा गरेनौ , कहिल्यै 'छि छि' र 'दुर्दुर' गरेनौ । सांच्चै भन्नु पर्दा, 'बा'ले आमाको ममतालाई पनि जितिदिनु भएको छ - अहिलेसम्म । अनी हाम्रो मनपनी जितिदिनुभएको छ- अहिलेसम्म ।
'बा' ले हामीलाई सम्पत्ती दिनु भएन तर शिक्षा दिन खोज्नु भयो - जे दिन खोज्नु भयो त्यो हामीले राम्ररी लिन सकेनौ अनी जे दिनु भएन त्यस्को खोजी पनि गरेनौ , गरेर पनि के फाईदा ! 'बा' आँफै 'सुकुम्बासी' । तर सुकुम्बासी 'बा'ले हामीलाई सम्पत्ती दिन नसके पनि 'संस्कार' दिनुभयो ।
म 'बा' को इमान्दारिताबाट प्रभावित । सानै छँदा, ब्रतबन्धमा 'जनै' संगै पंडित'बाले कानमा फुकिदिएको धर्ममन्त्र भुलेको २ दशक बित्यो तर 'मनी (पैसा) होइन, मान्छे कमाउ' भन्ने मेरा 'बा'को जीवन उपयोगी मन्त्रलाई कहिल्यै भुलेको छैन र भुल्ने पनि छैन । 'बा' ले दिएको मन्त्र अनुरुपनै बिगत डेढ दशक देखी सामाजिक पाटोमा आफ्नो कदम बढाएर 'पैसा' होइन 'मान्छे' कमाउने अभियानलाई सार्थक बनाउँदै छु । तर 'बा' ले भनेको मान्छेहरुको जमात भित्र ' रिश इर्श्या,लोभ,लालच र स्वार्थ बोकेका केही आफन्तहरु भने पर्छन् कि पर्दैन् त्यो मलाई थाहा छैन- किनकी यस्ता २-४ जना आफन्तहरु मैले कमाएका मान्छेहरुको लिस्टमा छैनन र म तिनलाई कमाउनु भन्दा पनि गुमाउनमै उत्तम ठान्छु ।
'बा'लाई मैले जहिलेदेखी राम्ररी चिनें, त्यो बेलादेखी नै एउटा 'मेहनती मजदुर'का साथै 'एउटा सामाजिक कार्यकर्ता'को रुपमा पाएँ । 'बा' दिनभरी पापीपेटको लागि कमाई गर्नमा ब्यस्त र सांझ बिहान समाजको समस्या समाधान गर्नमा तल्लिन । मनमा स्वार्थ नराख्ने निस्वार्थी मेरा 'बा' । सबैको भलो चाहने, सफा मनका निस्कपट मेरा 'बा' । आफ्नै कमाईमा रमाउने स्वाबलम्बी मेरा 'बा' ।
'बा' मैले अहिले चिनेको ब्यक्तित्वभन्दा उहिले निक्कै फरक ब्यक्तित्व रे । हजुरआमा भन्नु हुन्थ्यो- ७ जना सन्तान मध्ये सबै भन्दा झगडीया र बदमाश रे । उबेलाका गुण्डा रे - खुकुरी हान्न पनि पछी नपर्ने । 'पढ्न' नमानेर सानै उमेरमा भारतमा गोठालो बस्न गएका रे मेरा 'बा' । 'बा' को नदेखेका तर सुनेका ति पाटाहरुबाट म कहिल्यै प्रभावित भईनँ ।
**********************************************************************
६७ बर्सिय मेरा 'बा' ले कहिल्यै आफ्नो 'ईक्ष्या-चाहना र कल्पना' बताउनु हुन्न । मनका पिंडा ओकल्नु हुन्न । म 'बा'संग कम संवाद गर्छु र कम 'संगत' गर्छु। तर 'बा' मेरै मनमा हुनुहुन्छ, मनभित्रै । मलाई थाहा छ, 'बा' का आँखाँले हेर्न चाहेका केही द्रुश्यहरु । 'बा' को आँखाले आफ्ना सन्तानलाई एकै ठाउँमा रमाएको , जुटेको, हाँसेको र खेलेको' हेर्न खोजेको म प्रस्टै देख्छु । तर बिडम्बना, 'बा'को त्यो सानो इक्ष्या हामी बिचको रिस, राग, लोभ, लालच र स्वार्थले पूर्ण हुन दिएको छैन । 'बा' का सन्तानहरुको मनै- मैलो, आँखा- धमिलो अनी मस्तिस्क- फोहोरी ।
म अलिक लिंडे श्वभावको मान्छे, म चाहेको कुरा गर्न चाहन्छु । मलाई कुनै पनि काम कुरा आँट्नमा डर लाग्दैन किनकी असफल भईन्छ कि भन्ने डर म भित्र रत्ती छैन, 'असफलतालेनै ब्यवहारिक पाठ सिकाउँछ' भन्ने कुरा मैले बुझेको छु । म, मैले गरेको उचित कार्यको मुल्याङ्कन होस् भन्ने चाहन्छु । यदी गरेको कामको जस पाईन भने मलाई त्यो काम गर्नमा फिटिक्कै जाँगर चल्दैन । घरमा पनि मेरो श्वभाव त्यस्तै हो । यदी मैले कसैलाई केही गर्छु भने 'यस्ले यत्ती गर्यो है ' भनीदिए पुग्छ, यस्ले मलाई झन हौसयाउँछ । यदी यस्तो भएन भने ,म मुन्टो बटार्छु, त्यो काममा वास्तै गर्दिन । यो मेरो स्वभाव हो- नराम्रो स्वभाव । किनकी, मैले आजको दिनसम्म मसंग कामगर्ने मेरा मित्रहरुलाई हौसला,जोश र जाँगर नभरिदिएको र उनिहरुले गरेको कामको 'जस' नदिएको भए शायद म धेरै ठाउँमा फेल हुने थिएँ, तर म, मेरो काममा फेल भएको शायद कम होला ।
म 'इगो' लिने मान्छे । मलाई सानो छलकपट को ब्यवहारले पनि चित्त दुख्ने गर्छ । त्यसैले मलाई मित्र बनाउन कुनै समय लाग्दैन र त्यही ब्यक्तिलाई शत्रु बनाउन पनि । म 'पैसा'को धाक लगाउनेहरुसंग फिटिक्कै संगत गर्न रुचाउन्न । 'पैसा मान्छेले कमाउने हो- पैसाले मान्छे कमाउने होइन' भन्ने कुरा नबुझेका मुद्रा राक्षसहरुसंग नजिकिंनु भन्दा टाढीनुनै बेश । आफुसंग हुँदा र आफुले दिँदा मात्र खुशी हुने आफन्तहरुलाई त म बोल्न र देख्न पनि रुचाउन्न । म आँफैमा गर्व गर्छु , किनकी म स्वाबलम्बी छु । म कसैको आशिर्वाद लिएर प्रगती गर्न चाहन्न । यस्लाई घमण्डको संज्ञा दिनेहरुले दिंदैजाउन् । म अहिले जहाँ र जे छु मेरै 'बा' र म आफ्नै कारण ले छु । अन्य कसैको आशिर्वाद, दया र कृपाले होइन ।
***************************
खैर, म आफ्नो तर्फबाट 'बा' लाई कुनै किसिमको ब्यक्तिगत बोझ थुपार्न नचाहने कुरामा भने चनाखो छु । मैले मेरो ब्यक्तिगत समस्यामा 'बा'लाई घिसार्न चाहन्न । मेरो पारिवारिक जिम्मेवारी 'बा' को थाप्लोमा थुपार्न चाहन्न अनी मेरो पिर,चिन्ता र दु:खलाई 'बा' को खल्तीमा घुसार्न चाहन्न । किनकी मैले 'बा'लाई सुख दिन सक्दिन भने दु:ख दिने अधिकार पनि छैन ।
*******************************************
साँच्चै भनु भने, म मेरो 'बा'लाई सन्तानप्रती आश्रित नभएकै हेर्न चाहन्छु -जो पहिल्यै देखिनै हुनुहुन्न । उस्तै जागरुक, मेहनतिलो र फुर्तिलो भएको हेर्न चाहन्छु । बा थाकेर सुस्ताएको मलाई रत्ती मन पर्दैन । बा बुढो भएको कुरा सम्झदा मात्रै पनि दिक्क लाग्छ । 'बा'को चाउरिएको छाला अनी सेताम्मे फुलेको कपाल देख्दा बिरक्त लागेर आउँछ । 'बा' दिन प्रतिदिन बुढा हुँदै गएको देख्दा मन कुँडिएर आउँछ । म नियाल्छु, सोच्छु र मनन गर्छु मेरो 'बा'लाई तर म खुलेर भन्नै सक्दिन कि 'बुवा ! म तपाईंलाई धेरै माया र सम्मान गर्छु' भनेर ।
****************************
****************************
'बा' र 'म' बिच एथेस्ट संवाद हुंदैन तर हामी बिचको मौन आत्मिय सम्बन्धमा कुनै कमी छैन । किनकी 'बा' को मनमा म प्रतिको 'ममता' छ अनी मेरो मनमा उहाँ प्रतिको 'सम्मान' । हामी बिचमा तिक्तता छैन, रिक्तता छैन र कटुता छैन । हामी बिचको सम्बन्धमा कमी छ त एउटै कुराको त्यो हो 'मित्रता' । उहाँ केवल 'बा' बन्नु भयो र म केवल 'छोरा' । हामी कहिल्यै 'मित्र' भएनौ र मित्रताको ब्यवहार गरेनौ । मेरो 'बा' र म 'बिच' को मौन भावनात्मक सम्बन्ध शब्दमा पनि खुल्नु पर्ने हो , त्यो खुल्न सकेन । हामीहरुबिच खुल्ला र पारदर्शी संवाद हुनै सकेन । यस्ले हाम्रो रगतको नातालाई खल्लो बनाएको महसुस हुन्छ । मलाई अर्को जन्ममा विश्वाश छैन, एकबारको जुनी अनी एकैबारको नाता । तै पनि किन यो संकोच ? म आँफै बुझ्न सकिरहेको छैन । म सोच्छु, बुवा र म किन साथी हुन सकेनौ ? किन एकार्काको भावना खुलेर पोख्न सकेनौ ? किन हातमा हात र काँधमा काँध जोडेर हाँसी मजाक गर्न सकेनौ ? किन, किन, किन ????
**********************************
अब, म पनि कसैको 'बा' हुँ । मेरो 'बा' संग मैले 'खुल्ला संवाद' गर्न नसक्नुमा मेरो कम्जोरी हो या 'बा' को त्यो मलाई थाहा छैन तर म कसैको 'बा'को हैसियतले त्यो कमी महसुस हुन दिन्न । म मेरो छोरीसंग पानीमा चिनी घुले जस्तो घुल्न चाहन्छु । म उ संग मित्रवत ब्यवहार गर्न चाहन्छु र उ संगै खेल्न, डुल्न र रमाउन चाहन्छु । म 'बा' होइन उस्को 'बेस्ट फ्रेण्ड' बन्न चाहन्छु ।
र अन्तमा-
तपाईंहरु पनि आफु र आफ्नो सन्तान बिच 'मित्रवत् संवाद'को बातावरण निर्माणमा आजै देखी लाग्नुस् । 'मौनता'को खाडल नखन्नहोस । नत्र, मेरो अहिलेको उमेर र मेरो 'बा'को उमेर सम्म आईपुग्दा 'संकोच' र 'मौनता'को खाडल यत्ती ठुलो र गहिरो बनीदिन्छ कि त्यो खाडल पुर्न र पार गर्न निक्कै कठिन हुनेछ ।