Friday, December 11, 2015
Sunday, November 22, 2015
याद: ११ बर्ष अगाडिको
११ बर्ष अगाडि बाकेको कोहलपुरमा काम गर्दाको त्यो पल : नेपाल बसोबास बस्ती संरक्षण समाजको अगुवाइमा कोहलपुरका सुकुम्बासी बस्तीका बालबालिकाहरुको लागी बिद्यालय निर्माणको जिम्मेवारी वहन गर्न पाउदाको त्यो ८ महिने कार्यकालनै मेरो सामाजिक कार्यको पहिलो खुट्किलो थियो । त्यो अवधीमा थारु समुदायसंग नजिक भएर काम गर्ने अवसर जुर्नुले उनिहरुको मेहनतिलो र मिलनसार प्रब्बित्तीलाई बुझ्न सहयोग पुर्यायो ।
Sunday, March 8, 2015
कथा: पागल आईमाई
- यज्ञराज कार्की
हिजो अस्ती झै,आज पनि त्यो पागल आईमाई हाम्रो घरको गेटमा आएर कराउन थाली । म झ्यालको पर्दा खोलेर उस्ले फतफताई रहेको शब्दलाई कान थापेर बुझ्ने कोशीस गर्दै छु तर अहंँ एउटै शब्द बुझिने होइन । जिङ्ग्रिङ्ग कपाल,ठाउँठाउँमा च्यात्तिएको मैलो चोलो, एकसरो बेरिएको मैलो निलो फरिया अनी हड्डी कड्डीमात्र देखिने दुब्लो पातलो शरीर । त्यो आईमाईको उमेर कती होला ? म अन्दाज लगाउने कोशीस गर्छु, ४५ या ५० ।
=========================================================================
म अस्ट्रेलियाबाट नेपाल फर्किएको आज ५ दिन भयो । ३ बर्षको बसाईँपस्चात् कलेज बिदा मनाउन नेपाल फर्किएकी छु म । एयरपोर्टमा मम्मी लिन पुग्नु भएको थियो- स्कुटर लिएर । घरको गेटमा आइपुग्दा त्यो पागल आईमाईलाई पहिलो पटक देखेकी थिएँ । घरनेरै रहेको किराना पसल अगाडि ठुलो ठुलो स्वरमा कराउँदै, पाउरोटी चपाउदै गरेकी थीई । मम्मी र मलाई देख्नासाथ धारे हात लगाउदै 'मरी जा' भन्ने शब्द ओकलेकी थीई ।
'त्यो को आईमाई हो मम्मी ? ' मैले सोधेकी थिएँ ।
" त्यो बौला आईमाई हो,बाटोमा हिंडने सबैलाई सराप्छे । " मम्मीले भन्नु भएको थियो ।
त्यो पागल हाम्रै छरछिमेकमा बढी देखिन्छे । बाटोमा हिंड्ने मान्छेहरु प्रती बेलाबेलामा आक्रामक देखिन्छे ऊ।अझ केटामान्छेहरु प्रती उस्को आक्रोस बढ्दो छ । बेलाबेलामा केटामान्छेहरु देख्यो कि 'थु थु' गर्दै भुईँतिर थुक्छे,ऊ । म यि द्रुश्य आफ्नो घरको झ्यालबाट नियालीरहेको छु । विगत ५ दिनदेखी ।
म प्रयास:मम्मिलाई सोध्ने गर्छु "त्यो आईमाईलाई के भएको होला कहाँकी होली , यसका सन्तान कहाँ होलान ?"आमा भने मेरो प्रश्न प्रती उती चासो दिनुहुन्न'थ्यो र छोटो उत्तर दिनु हुन्थ्यो " के थाहा, त्यस्लाईनै सोध्"
==================================================================
एकाबिहानै,कोठाभित्रको झ्यालबाट बाहिरी द्रुश्य निल्याली रहेकी थिएँ ,म । मरिच ,अदुवा र नुन हालेर मम्मिले बनाउनु भएको कालो चियाको चुस्कीसंगै घरको करेसाबारीमा फुलेका फुलहरु, बाहिर रोडमा हिडिरहेका मानिसहरु अनी रोडको फुटपाथमा सामान बेचिरहेका ब्यापारीहरु, यि सबैलाई नियालीरहेकी थिएँ म । एक्कासी मेरो आँखा अगाडि त्यही बौलाई देखीई, हाम्रो घरको गेटनेर ।
रिसाउँदै, कराउँदै, हाम्रो घरको गेटमा मुड्की हान्न थाली । वरीपरिका छिमेकीहरु झ्यालबाट चिहाउन थाले । बटुवाहरु रमिते बनेर झुम्मन थाले ।
मैले देखेँ - मम्मी गेटमा पुग्नु भयो, हातमा खानाको थाली बोकेर । गेट खोलेर पागल आईमाईको हातमा थाली थमाइदिनु भयो । रमितेहरु तर्फ हेरेर खै के भन्नु भयो, उनिहरु तितरवितर भए ।
मम्मी फर्कनु भयो खानाको थाली सुम्पेर । उ कपाकप खान थाली । गेट बाहिर, फुट्पाथमै बसेर ।
"मम्मी, त्यो को हो, भन्नुस् न ? "मैले कर गरें । "तपाईंलाई केही त थाहा होला , प्लिज मम्मी भन्नुस् न । " मैले आफ्नो जिद छोडिन । मेरो जिद्दीपनाले मम्मिलाई बोल्न करै लाग्यो । मम्मी बोल्नु भयो ।
========================================================================================
उस्ले आफ्नो धनी परिवारसँग विद्रोह गरेर एउटा गरिव केटासग प्रेम विवाह गरी । धन नभए पनि मनको धनी थियो केटो । उस्लाई असाध्यै माया गर्थ्यो । आफ्नी श्रीमतीलाई सुनचाँदी,महङ्गा लत्ताकपडा दिन सक्दैनथ्यो तर आफ्नो गक्ष र दक्षले भ्याए सम्मका सानातिना आवश्यकताहरु पुर्ती गर्नमा कहिल्यै चुक्दैनथ्यो । श्रीमतीका पिडा,दुख र थकानहरु सुन्ने र बुझ्ने कोशीस गरी रहन्थ्यो । आफुसंग भएका हाँसो , खुशी र सुखहरु साट्थ्यो। यसरीनै खुशीकासाथ उनिहरुको दाम्पत्य जीवन वितिरहेको थियो । उनिहरुको यो सुखी र खुशी परिवारमा विवाहको २ बर्ष पस्चात अर्को खुशी थपियो । त्यो खुशी थियो ,नवआगन्तुक छोरी ।
प्राइवेट कम्पनीमा सानो पदमा काम गर्ने श्रीमानको तलव तेत्ती राम्रो थिएन , अत्ती नराम्रो पनि थिएन । काठ्माडौको महँङ्गाईमा डेरा भाडा तिरेर दुई छाक टार्न र सानातिना अन्य आवश्यकता पुरा गर्नमा ठीक्क हुन्थ्यो ,बचत भने सुन्य । समय बित्त्दै गयो । छोरीको आगमनसंगै आवश्यकता बढ्दै गयो । आम्दामी भने उही ।
एक पटक उनिहरुबिच छलफल भयो- आफु र छोरीको भविस्यको बिषयमा ।
' दिनानुदिन छोरी ठुलि हुँदै छे,आवस्यकता बढ्दै छन्, कमाइ बढेको छैन , के गर्ने ? दुबैले एक आर्कालाई सोधे '
'के गर्ने ? के गर्ने ? के गर्ने ?' कुनै उत्तर आएन- निरुत्तरित दुई प्राणीले एकआर्काको अनुहार हेरे । केहीवेर सम्म कुनै उपाए सुझेन अन्तमा श्रीमान बोल्यो " म बिदेश जान्छु- केही बर्षको लागि । "
श्रीमान् को यो वाक्य सुनेर उ अवाक् भई । "हामीलाई छोडेर ?" उस्ले प्रश्न गरी
''हो, केही बर्षको लागि" झिनो आवाजमा बोल्यो उ ।
"'सक्छौ ?" अचम्मको भावमा सोधी उस्ले
''................!' निरुत्तरित रह्यो उ । ।
उत्तर देओस् पनि कसरी, छोरी भने पछी हुरुक्कै हुन्छ उ । श्रीमतीबाट कुनै दिन टाढा भएको पनि छैन । उ आफ्नो सानो परिवारलाई आफ्नो सम्पूर्ण ठान्छ । उनिहरुको सामिप्यतामा आफ्नो खुशी देख्छ । तर आफ्नो खुशी भित्र परिवारको सुखद भविश्य देखेको छैन उस्ले । त्यसैले उ दर्हो हुँदै बोल्छ
" म मात्र केही बर्षका लागि विदेसिन चाहन्छु, केही पुँजी जम्मा गरेर फर्किन्छु ताकी भोली आफ्नै पुँजिले सानो तिनो ब्यापार ब्यवसाय सुरु गर्न सकिओस्......... ।" सुस्केरा हाल्दै बोल्यो उ "........ हामीले अब छोरीको भविस्य पनि हेर्नु पर्छ, सँधैं साथ रहेर मात्र पनि हुँदैन, केही बर्षको वियोग सहनुनै पर्छ " बोल्दा बोल्दै उस्ले २ बर्सिय छोरीको गालामा च्वाप्प म्वाइ खाएको थियो । श्रीमतीको आँखाबाट आसुका धारा बगिरहेका थिए ।
=========================================================================
उ गर्हौ मन लिएर बिदेशियो, आफ्नी प्राणभन्दा प्यारी छोरी र श्रीमतीसंग बिछोडिंदाका बखत श्रीमानको आँखाबाट बहेका आँशुहरुले जमिनभित्र फेवा ताल बनाए । आफुलाई खुशी राख्नकोलागी सँधै तल्लिन रहने आफ्नो सुखदु:खको साथीलाई विदाइ गर्नु पर्दा उस्को मनमा पनि बन्चरोले हानेको झै ठुलो चोट लागेको थियो । तर वाध्यताको अगाडि कस्को के नै लाग्छ र ! यो बिछोड उनिहरुको वाध्यता र आवश्यकता दुबै थियो -रहर थिएन ।
दिन बित्दै गयो । हप्ता बिते । महिना बिते । समयको वहावसँगै आफ्नो श्रीमानको अभाव झन झन महसुस हुँदै गयो उस्लाई । त्यो अवोध नावालिकासंग उ मनका पिडाहरु साट्न सक्दैनथी न त थकानका सुस्केराहरु सुनाउननै सक्थी । आफ्ना भन्नेहरुसँग नाता तोडेर आएकी उस्लाई यो शहरीया भिडमा साथ दिने कोही थिएन । उ दिन प्रतीदिन आफुलाई एक्लो- बिल्कुल एक्लो महसुस गर्न थाली । बेलाबेलामा हात पर्ने चिट्ठीहरुको उत्तर लेख्दा उ भक्कानिएर रुन्थी । उस्का आँशुले अक्षरहरु भिजेर पानीमा डुबेर ढाडिएको झिङ्गा जस्तै ढाडिन्थ्यो ।उस्ले धेरै पत्रलेखी - उत्तर भने पाईन । बर्ष बित्यो ।अब भने उस्ले एउटा अन्तिम पत्र लेखी श्रीमानको नाममा । त्यो पत्रमा जीवन जिउनका लागी सुख दु:ख अनी हाँसो - खुशी साट्ने अटुटसाथको अभाव खट्किएको अनेकन ब्यहोरा उल्लेख गर्दै पत्रको अन्त्यमा एउटा हरफ लेखेर पत्र टुङ्ग्याएकी थिई " मैले यो एक्लोपनमा एउटा साथ पाएँ, त्यो साथ पाउनको लागि तिम्रो र मेरो सम्बन्धको अन्त्य गर्नु सिवाय मसंग अन्य विकल्प रहेन- मलाई माफ गर,तिम्री छोरी भने तिमीलाई पर्खि रहेको हुने छे,चाँडो घर फर्क ।"
=============================================
बौलाई जीवन कथा भन्दा भन्दै मम्मीको आँखाबाट बलिद्र आँशुका धारा बहेको देखें । उहाँ केहीवेरको लागी स्तब्ध हुनु भयो । मेरो मनको तिर्सना अझै मेटिएको छैन किनकी कथा अझै अँपुरो छ । 'यो आईमाई पागल कसरी भई, यस्को श्रीमान आयो कि आएन ? अनी उस्की छोरीलाई के भयो ? भन्ने ब्यहोरा थाहा भएको छैन ।
"अनी के भयो मम्मी ?" मैले थप जिज्ञासु हुँदै सोधें ।
आँखाका आँशु पुछ्दै आमा बोल्न थाल्नुभयो "' श्रीमान फर्कियो,छोरीलाई अङगाल्यो अनी देखावटी हाँसो छर्दै श्रीमतीको खुशीलाई पनि आत्मसाथ गर्यो ।'' यो वाक्य बोलेपछी भने मेरो मम्मिले मलाई एकपटक मायालु नजरले हेर्नु भयो- केहीबेरसम्म ।
"जस्को सुखको खातिर विदेसिएको थियो -उसैबाट धोका पाए पछी श्रीमानले पनि आर्को बिहे गर्यो , आफ्नी छोरीको रेखदेखको लागि ।" मम्मीले खाली चियाको कप उठाउँदै, जुरुक्क उठ्नु भयो । लाग्यो, मम्मी यो कथालाई अपुरो छोड्दै हुनुहुन्छ । मेरो मन मानेन र थप प्रश्न जोडें "अनी यो आईमाई कसरी यस्ती भई ?"
हातमा खाली कप लिएर उभिएकी मेरी मम्मिले गेट बाहिर भातको गाँस निलिरहेकी बौलाईतर्फ हेर्दै कथालाई अगाडि बढाउनु भयो " केही महिनासम्म यसको शरिरसँग खेलेर, त्यो केटोले यो आईमाईको साथ छोडेछ । " आमाले मतिर हेर्नु भयो र घटनाको सारलाई जोड्दै बोल्नुभयो "यो आइमाई पुर्व पतिसँग माफि माग्न पुगीछ तर श्रीमान पुन: विदेश फर्कीसकेको थियो,जसै उस्ले आफ्नो पुर्वपतिले पनि आर्को बिहे गरिसकेको कुरा थाहा पाई त्यस दिन देखी उ पागल भई । " मम्मीले लामो सुस्केर हाल्नु भयो ।
मैले गेट तिर आँखा दौडाएँ । त्यो पागल महिला कुनै पुरुषलाई लुछ्दै थिई । क्रमस रमितेहरुको भिड बढ्दै थियो । मम्मीले पनि मसगै केहीबेर त्यो द्रुश्य हेर्नु भयो अनी सुस्तरी बोल्नु भयो '..............सोचे जस्तो पुँजी कमाएर श्रीमानचाहीं केही बर्ष पछी पुन:देश फर्कियो र ब्यापार गर्न थाल्यो । धोका र अबिश्वासको चोटले घाइते उस्को मनलाई उसको दोश्रो बिहेले पनि निको गर्न सकेको थिएन । त्यही चोटलाई कम गर्न उस्ले रक्सीलाई अँगालेको थियो । दिनप्रतीदिन रक्सीको मात्रा बढ्दै गयो । १३ बर्ष अगाडि उसले आफ्नो प्राण छोड्यो र जाँदा जाँदै आफ्नो दोश्री श्रीमती र छोरीको लागि एथेस्ट सम्पत्ती छोडेर गयो..................."
बाहिर रमितेहरुको भिडले त्यो पागल महिलालाई छेकेको छ । हामी मम्मी-छोरीको आँखा त्यही भिडतिरै छरिएको छ , मम्मीले कथाको बिट मार्नु भएको छैन ' .............अहिले उस्की छोरी १९ बर्षकी भएकी छे, सौतेनी आमाले सक्दो माया दिएकी छ ताकि उस्को आफ्नी आमाको कमी महसुस नहोस् ..........."
मम्मीले एउटा हातले मेरो कुममा स्पर्श गर्नु भयो । मैले मम्मिको अनुहारमा हेरें । उहाँका आँखाबाट पहिलेको भन्दा अहिले आँशुका वहाव झन बढेको देखें । उहाँले पनि पुलुक्क मेरो अनुहारमा हेर्नु भयो र काँपेको आवाजमा बोल्नु भयो " .............भनत, तिमीलाई कहिल्यै मैले तिम्री आमाको कमी महसुश हुन दिएकी छु ? " मम्मीको मुखबाट अनायस यो प्रश्नात्मक वाक्य सुने । एकाएक मेरो शिरमा पहाड खसेझैं भान भयो । मैले टेकेको जमिन भास्सिएझै भयो । म निशब्द भएँ ।
"हो तिम्री आमा त्यही पागल महिला हो । जो हरेक दिन आफ्नी छोरीको खोजिमा हाम्रो टोल छिमेक चाहर्दै हिँड्दैछे तर आफ्नै अगाडि आफ्नी छोरीलाई देखेर पनि चिन्न सकेकी छैन । त्यो तिम्रै आमा हो , तिम्रै"
म थचक्क भुईमा बसें
-----------------------------Thank you-------------------------------
Subscribe to:
Posts (Atom)